काठमाडौं- दशरथ रंगशालामा सम्पन्न बंगलादेशविरुद्धको खेलमा नेपालले पुनः एकपटक गोलरहित बराबरी खेलेको छ।
थ्री नेसन्स कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग लगातार दोस्रोपटक गोलरहित बराबरीमा रोकिएको हो। यसअघि मंसिर २ गते भएको खेलमा पनि नेपाल गोलरहित बराबरीमा रोकिएको थियो।
प्रतिस्पर्धात्मक खेलमा नेपाल र बंगलादेशले केही राम्रा मुभ बनाए पनि गोलले पोस्ट चुम्न नसकेपछि खेल बराबरी भयो।
खेलको २१ औं मिनेटमा त्रिदेव गुरुङले गरेको क्रसलाई अन्जन विष्टले पोस्टबाहिर हेड गरेपपछि घरेलु टिम अग्रता बनाउनबाट चुकेको थियो।
त्यसअघि खेलको दोस्रो मिनेटमै नेपालले पाएको कर्नर पनि सदुपयोग गर्न सकेन। बंगलादेशले पनि यस्तै केही अवसर खेल फाल्यो। ४० औं मिनेटमा कप्तान जमल भुयाले प्रहार गरेको फ्रिकिक पोस्ट नजिकैबाट बाहिरिएको थियो।
त्यसअघि खेलको ३७ औं मिनेटमा कप्तान भुयाले दिएको पासलाई मोहम्मद इमानले पोस्ट बाहिर प्रहार गरेका थिए।
दोस्रो हाफको खेलमा पनि सोही नतिजा दोहोरियो। ५९ औं मिनेटमा अन्जन विष्टको प्रहारलाई बंगलादेशका किपर मोहम्मख शाहिदुल अलामले साहजै रोके।
त्यस्तै, पोस्टको बायाँ साइडबाट रन्जित धिमालको प्रहार पनि अभिषेक रिजालले पोष्टभित्र छिराउन नसेपछि नेपालका तर्फबाट गोल सम्भव भए।
खेलको ५७ औं मिनेटमा सन्जोक राई र रवी शंकर पासवानको ठाउँमा विशाल राई र सुनिल बलले अवसर पाएपछि नेपालले बंगलादेशमाथि दबाब बनाएको थियो। तर त्यो दबाबलाई नेपालले गोलमा बदल्न सकेन।
त्यस्तै, प्रशिक्षक बालगोपाल महर्जनले ८० औं मिनेटमा रन्जित धिमालको ठाउँमा निशान खड्का र अभिषेक रिजालको ठाउँमा दर्शन गुरुङलाई मैदान छिराए पनि नेपालले गोल नगर्ने श्रृंखला कायम राख्यो।
खेलमा राेहित चन्द म्यान अफ दि म्याच बने।
नेपालले पछिल्लो अन्तर्राष्ट्रिय खेलमा गोल गर्न सकेको छैन। यो बराबरीसँगै पाहुना टिमसँग समान १–१ अंक बाँडेको नेपालले आगामी सोमबार हुने फाइनलमा बंगलादेशसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ।
समूह चरणका तीन खेलमध्ये पहिलो खेलमा किर्गीस्तानले आत्मघाती गोल बेहोरको थियो भने पछिल्ला दुई खेलमा गोल भएनन्।
पहिलो खेलमा बंगलादेशले १–० गोलको जित निकालेको थियो। दोस्रो र तेस्रो खेल गोलरहित बराबरीमा रोकिएको थियो।
बंगलादेशले दुई खेलबाट चार अंक बनाएको छ भने नेपालको दुई अंक छ। तेस्रो स्थानमा रहेको किर्गीस्तानको एक अंक छ।
आजको खेलमा सन्जोक राई, त्रिदेव गुरुङ र निशान खड्काले डेब्यू गरेका थिए।
नेपालले पछिल्ला ६ अन्तर्राष्ट्रिय खेलमा गोल गर्न सकेको छैन।