विराटनगर- पहिलो संस्करणको मिल्स गोल्डकपको उपाधि सशस्त्र प्रहरी वल (एपीएफ) पूर्वाञ्चलले जितेको छ।
मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगर – १६ स्थित जुट मिल्सको खेल मैदानमा शनिबार सम्पन्न भएको फाइनलमा साइनो स्पोर्ट्स क्लव रानी मोरङलाई टाईब्रेकरमा ४–३ गोलले हराउँदै एपीएफले उपाधि जितेको हो।
निर्धारित समयसम्म १–१ गोलको बराबरी भएपछि खेल टाईब्रेकरबाट छिनोफानो भएको थियो। टाईब्रेकरमा एपीएफका उज्ज्वल चाम्लिङ्ग राई, राजकुमार कन्दङबा, रोशन कार्की र आशिष चापागाईले गोल गरेका थिए।
जितसँगै एपीएफले १ लाख ५० हजार रुपैयाँ हात पारेको छ। उपबिजेता भएको साइनोले ७५ हजार रुपैयाँमा चित्त बुझायो। एपीएफका आशिष चापागाई म्यान अफ द फाइनल घोषित भए। उनले नगद पाँच हजार प्राप्त गरे। बेष्ट गोलकिपर सशस्त्र प्रहरीका दिलकुमार लिम्बु भए।
बेष्ट डिफेन्डमा सशस्त्रका नवीन चौधरी घोषित भए।
साइनोका कैलाश वस्नेत बेष्ट मिडफिल्डर घोषित भए। बेष्ट कोचमा सशस्त्र प्रहरी बलका सुवास गिरी घोषित भए। हाई स्कोर साइनोका गिलसाङ्ग कन्दङ्वा भए।
विजेता तथा उपविजेता टिमका खेलाडीहरूलाई प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, मिल्स गोल्डकप ट्रष्टका अध्यक्ष किशोर शाही लगायतले पुरस्कार वितरण गरेका थिए।