शनिबार, फागुन ३०, २०८२

यस्तो छ नेपाल र बंगलादेशको ‘हेड टु हेड’

आजको खेलले नेपाल र बंगलादेशको फिफा विश्व वरीयतामा पनि असर गर्ने भएकाले यसलाई निकै महत्त्वका साथ लिइएको छ।
 |  शनिबार, चैत १४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत १४, २०७७

काठमाडौं - थ्री नेसन्स कपअन्तर्गत फिफाको स्वीकृति प्राप्त नेपाल-बंगलादेशको खेल आज हुँदै छ। 

National life

प्रतियोगितामा सम्मिलित कीर्गिस्तानको ओलम्पिक टिम भएकाले यसअघिका दुई खेललाई फिफाले मान्यता दिएको थिएन।

तर, आजको खेलले नेपाल र बंगलादेशको फिफा विश्व वरीयतामा पनि असर गर्ने भएकाले यसलाई निकै महत्त्वका साथ लिइएको छ।

शनिबार साँझ साढे ५ बजेबाट दशरथ रंगशालामा सुरु हुने खेल रोचक बन्ने अनुमान लगाउन सकिन्छ। कारण– नेपाल–बंगलादेशका पछिल्ला खेल निकै प्रतिस्पर्धात्मक देखिँदै आएका छन्।

नेपालले बंगलादेशविरुद्ध खेलेको पछिल्ला पाँच खेलमा एकमात्र जित निकालेको छ। बंगलादेशले पनि दुईभन्दा धेरै जित भने निकाल्न सकेको छैन। दुई खेल बराबरी भए। 

Laxmi sunrise bank
kumari

नेपालले बंगलादेशसँग सन् २०१६ जनवरी १६ र २०२० नोभेम्बर १७ मा गोलरहित बराबरी खेलेको थियो।

२०१८ अगस्ट ८ मा भने नेपालले बंगलादेशलाई २–० गोलको साथ पटक हरायो। 

यो नेपालको पछिल्लो जित पनि हो। 

त्यसबाहेक २०१५ डिसेम्बर १६ र २०२० नोभेम्बर १३ मा भएका दुई खेलमा नेपालले झिनो गोलअन्तरको हार बेहोरेको थियो।

अहिले नेपाली टोलीलाई एउटा अवसर प्राप्त भएको छ। त्यो हो– नेपालमा धुमधामका साथ मनाइने चाड तिहारको समयमा बंगलादेशमा बेहोरेको हारलाई जितमा बदल्ने। 

घरेलु मैदानमा घरेलु समर्थकबीच नेपालले आफ्नो सामथ्र्य देखाउनुपर्ने छ। तर, कीर्गिस्तानसँगको पछिल्लो खेलमा नेपालको फिनिसिङ राम्रो नबनेपछि त्यसको टाउको दुखाई समर्थकदेखि प्रशिक्षकसम्म छ।

गत बिहीबार सम्पन्न खेलमा नेपालले गोलरहित बराबरी खेलेपछि प्रशिक्षक बालगोपाल महर्जनले भनेका थिए, ‘बल पोसेसन राम्रो भए पनि हाम्रो फरवार्ड गोल गर्न चुकेका छन्। फरवार्ड लाइनमा समस्या देखिएको छ, त्यसलाई सुधार गरेर अघि बढ्ने छु।’

कीर्गिस्तानसँगको खेल नेपालका लागि धेरै महत्त्वको नभए पनि बंगलादेशसँगको खेलले भने निकै महत्त्व राख्ने छ। 

यो महत्त्व बुझेका प्रशिक्षक महर्जनले आफ्नो फरवार्ड लाइन कसरी मिलाउने छन् त्यो भने हेर्न बाँकी नै छ।

इतिहासलाई फर्केर हेर्ने हो भने नेपालले बंगलादेशविरुद्ध कुल २१ खेल खेलेका छन्, जसमा नेपालले ६ खेल जितेको छ भने बंगलादेशको जित ठ्याक्कै दोब्बर छ।

बाँकी खेल भने बराबरीमा टुंगिएका छन्। 

यस अवधिबीच नेपालले १४ गोल गरेर २६ गोलको सामना गरेको छ। 

आज खेल हुने भनिएको दशरथ रंगशालामा पनि नेपाल र बंगलादेशबीचको नतिजा उस्तै छ।

दशरथ रंगशालामा ६ खेल हुँदा नेपालले दुई जित निकाल्न सकेको छ। 

बंगलादेशले तीन खेल जितेको छ। एक खेल चाहिँ बराबरी। 

त्यस अवधिमा नेपालले ७ गोल गर्दा ११ गोलको सामना गरेको छ।

यही रंगशालामा पछिल्लो साफ च्याम्पियनसिपमा नेपालले २–० गोलको जित निकालेको थियो। 

नेपालको खेल नियालिरहेका बंगलादेशका प्रशिक्षक जेम्स डेले नेपाल राम्रो प्रतिद्वन्दी भएको बताएका छन्।

‘नेपालको टिम प्राविधिकरूपमा राम्रो छ, युवा खेलाडी छन्,’ उनले भने, ‘गएको नोभेम्बरमा हामीले बंगलादेशमै नेपालसँग दुई खेल खेलेका थियौँ। त्यो खेल निकै प्रतिस्पर्धात्मक थियो।’

त्यस्तै कीर्गिस्तानका प्रशिक्षक झोल्डोसोब नोर्बिकले पनि नेपाली टिम बंगलादेशको भन्दा छिटो र प्राविधिकरूपमा बलियो रहेको बताएका थिए।

नेपाल र बंगलादेशको एकै परीक्षण

थ्री नेसन्स कपका पछिल्ला खेलमा नेपाल र बंगलादेशले उस्तै प्रयोग गरेका छन्। 

कीर्गिस्तानविरुद्ध नेपालले तीन खेलाडी राष्ट्रिय सिनियर टिमबाट पहिलोपटक खेलाएको थियो भने बंगलादेशले पनि तीन खेलाडीलाई पहिलोपटक मैदान उतारेको थियो।

नेपालले संजोक राई, त्रिदेव गुरुङ र निशान खड्कालाई मैदान उतार्दा बंगलादेशका मोहम्मद मेहदी हसन, मोहम्मद रिमोन होस्सन र मोहम्मद मतिन मिहले पहिलोपटक सिनियर टिमबाट खेले।

गत नोभेम्बरमा नेपालले बंगलादेशसँग खेल्दा पनि प्रशिक्षक महर्जनले यस्तै प्रयोग गरेका थिए। ती दुई खेलमा नेपालका धेरै खेलाडीले डेब्यू गर्ने अवसर पाएका थिए।

यता थ्री नेसन्स कपमा भने दुवै देशले कीर्गिस्तानको यू–२३ टिमविरुद्ध पेचिलो दबाब बनाउन सकेकाले प्रतियोगितामा सम्मिलित टिममध्ये नेपाल र बंगलादेश तुलनात्मकरूपमा बलियो देखिएका छन्।

अबको समीकरण

दुई खेल सम्पन्न हुँदा पाहुना टिम बंगलादेशले एक जित निकालेर तीन अंक जोडेको छ भने नेपाल र कीर्गिस्तानको समान १–१ अंक छ। 

नेपालले कुनै गोलको सामना नगरेकाले दोस्रो स्थानमा छ भने कीर्गिस्तान पुछारमा छ।

आजको खेलमा बराबरी भएमा वा नेपालले जित निकालेमा बंगलादेशसँग घरेलु टिमले फाइनल खेल्ने अवसर पाउने छ। 

साथै नेपाल १–० ले पराजित भएको खण्डमा नतिजाको निर्णय खेलअवधिका प्रयोग गरिएको कार्डबाट हुनेछ।

तर, नेपाल त्यो भन्दा धेरै गोलअन्तरले पराजित भएमा नेपालको यात्रा सकिने छ। बंगलादेश–कीर्गिस्तान फाइनलमा पुग्ने छन्। 

थ्री नेसन्स कपको उपाधि जित्ने टिमले पाँच हजार डलर पुरस्कार पाउने छ भने दोस्रो हुने टिमले तीन हजार डलर पुरस्कार पाउने छ।

मस्ट भ्यालुएबल खेलाडीले ५०० डलर पुरस्कार पाउने छ।

प्रकाशित: Mar 27, 2021| 02:35 शनिबार, चैत १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।