विराटनगर – नेपाल सुपर लिग (एनएसएल) मा सहभागिता जनाएको विराटनगर सिटी फुटबल क्लबको उद्घाटन गरिएको छ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले क्लबको उद्घाटन गरे।
मुख्यमन्त्री राईले राज्यको प्राथमिकतामा खेल क्षेत्र परेको बताएका छन्।
खेलका माध्यमबाट राज्यलाई उत्कृष्ट बनाउन सकिने बताए।
प्रदेश १ खेलको उर्वरभूमि भएकाले सरकारले खेल क्षेत्रलाई प्राथमिकतामा राखेको मुख्यमन्त्री राईको भनाइ छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को प्राविधिक सहयोग तथा नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुन लागेको एनएसएल ११ वैशाखदेखि दशरथ रंगशालामा सुरु हुँदै छ ।
प्रतियोगितामा विराटनगर सिटीसहित विभिन्न सात टोलीले सहभागिता जनाउँदै छन् ।
यी सबै टोलीले प्रतियोगिताका लागि गत शुक्रबार अक्सनमार्फत् १४–१४ खेलाडी अनुबन्ध गरेका छन्।
विराटनगर सिटी फुटबल क्लबले अशोक थापा, किशोर गिरी, विक्रम धिमाल, सरोज दाहाल, सुनिल बल, सुरज जिउ ठकुरी, विजय धिमाल, सूर्य अधिकारी, सन्तोष तामाङ, हेम तामाङ, सुशील लामा, सुनिल खड्का, दीपक राई र नीरकुमार राईलाई अनुबन्ध गरेको छ।
विदेशी खेलाडी र प्रशिक्षक चाँडै अनुबन्ध गरिने क्लब अध्यक्ष अनुप रञ्जन भट्टराईले जानकारी दिए। उनले क्लबको विराटनगरमै कार्यालय स्थापना गरी प्रशिक्षण सुरु गरिने बताए।