हेटौंडा – हेटौंडामा आजदेखि राष्ट्रव्यापी अन्तरसहर बुद्धिचाल प्रतियोगिता २०७७ हुँदै छ।
मकवानपुर बुद्धिचाल संघ र हेटौंडा चेस क्लबको संयुक्त आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको हो।
स्विस लिग प्रणालीअनुसार सात चरणसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका विभिन्न क्षेत्रका १८ सहरले सहभागिता जनाएको मकवानपुर बुद्धिचाल संघले जनाएको छ।
प्रत्येक टोलीमा चारजना नियमित खेलाडी तथा एकजना वैकल्पिक खेलाडी र एकजना व्यवस्थापक गरी ६ जनाको सहभागिता रहने जनाइएको छ।
सहभागी टोलीले अनिवार्यरूपमा महिला खेलाडी वा १६ वर्षभन्दा मुनि उमेर समूहको खेलाडी समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ। प्रतियोगितामा महिलालाई समेत सहभागी गराइने तथा १६ वर्ष मुनिका खेलाडीलाई समावेश गराई प्रतियोगितामा फरकपन दिने आयोजकको भनाइ छ।
प्रतियोगिता चैत १४ गते शनिबारसम्म चल्ने आयोजकले जनाएको छ।
प्रतियोगिताका विजेताले दुई लाख ५० हजार, उपविजेताले एक लाख ५० हजार, तेस्रो स्थान हुनेले ५० हजार तथा चौथो र पाँचौं स्थान हासिल गर्नेले क्रमशः ३० हजार र २० हजार रूपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ। रासस