काठमाडौं – पाँच वर्षपछि आज नेपालमा सिनियर टिमको अन्तर्राष्ट्रिय खेल हुँदै छ।
२०७२ सालको भूकम्पले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा क्षति पुर्याएयता नेपालमा अन्तर्राष्ट्रिय खेल हुन पाएको थिएन।
आज युवा तथा खेलकुदमन्त्री दावा लामाले उद्घाटन गरेपछि थ्री नेसन्स कपमा सम्मिलित पाहुना टिम कीर्गिस्तान र बंगलादेशले पहिलो खेल खेल्ने छन्।
दुवै टिम प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्न चाहन्छन्।
धेरै लामो समयको तयारी नभए पनि राम्रो खेल देखाउने कीर्गिस्तानका प्रशिक्षक झोलुसोब नोर्बिक बताउँछन्।
‘कोभिड–१९ को महामारीपछि धेरै टुर्नामेन्ट भएको थिएन। त्यसपछि पनि लिग च्याम्पियनसिप भइरहेको छ। राष्ट्रिय टिमको तयारी पनि धेरै छैन,’ उनले भने, ‘तर पनि हामी हाम्रो बेस्ट दिने कोसिस गर्नेछौं। हामी प्रतिस्पर्धात्मक खेल देखाउने छौं।’
आज अपरान्ह साढे ५ बजेबाट दशरथ रंगशालामा प्रतिस्पर्धा गर्ने कीर्गिस्तानको टिम भने सिनियर टिम होइन। उसको यू–२३ को टिमले बंगलादेशको सिनियर टिमसँगै खेल्छ।
यसकारण कीर्गिस्तानले आफ्ना खेलाडीलाई एक्पोजरका रूपमा पनि यो खेललाई लिएको छ।
प्रशिक्षक नोर्बिक भन्छन्, ‘हामीले यो खेललाई अवसरको रूपमा लिएका छौं। सिनियर टिमका दुई खेलाडीे टिममा छन्। औसतमा २१–२२ वर्ष उमेर समूहका खेलाडी मात्र हामीसँग छन्।’
महामारी पहिले टिमको खेल राम्रो हुने गरे पनि महामारीले गर्दा सबै देशको फर्मेसन बिग्रिएको नर्बेकको भनाइ छ। त्यसैले उनले आजको खेलबाट खेलाडीलाई अन्तर्राष्ट्रिय खेलमा फर्काउन भए पनि उत्कृष्ट दिने कोसिसमा रहने बताएका छन्।
त्यस्तै कीर्गिस्तान टिमका गोलकिपर हुन् टोकोटाइभ एहर्जन। उनी यो प्रतियोगितालाई लिएर निकै खुसी छन्।
भन्छन्, ‘नेपाल र बंगलादेशको राष्ट्रिय टिमको खेलाडीसँग खेल्न पाउँदा धेरै खुसी छु। यसले हाम्रो आत्मविश्वास बढाउन सहयोग गर्ने छ।’
यता बंगलादेश आफू सिनियर टिम भएकाले कीर्गिस्तानलाई हराउँदै फाइनलमा स्थान पक्का गर्न नजिक पुग्ने दाउमा हुने छ। यसका साथै बंगलादेशका प्रशिक्षक जिमी डेले केही नयाँ अभ्यास गर्ने सोचेको बताउँछन्।
उनी भन्छन्, ‘मेरो टिममा ६ जना नयाँ खेलाडी छन्। हामीले केही प्रयोग गर्ने पनि सोचेका छौं। उनीहरूलाई अन्तर्राष्ट्रिय अभ्यास पनि हुनेछ।’
बंगलादेश र कीर्गिस्तानको खेल भने फिफा आधिकारिक खेल भने होइन। यसकारण बंगलादेश आफ्नो टिममा प्रयोग गर्ने बताउँछ।
डेले भने, ‘सीमित कुरा मात्र छ। भोलिको खेल हाम्रो लागि पनि प्रयोग हो।’
बंगलादेशको टिमको अभ्यास पनि धेरै लामो भने होइन। तर पनि अभ्यास सेसनको पछिल्ला ६–७ निकै राम्रो भएको उसको तर्क छ।
बंगलादेशले पनि यो खेललाई विश्वकप छनोटको तयारीका रूपमा लिएको प्रशिक्षक डे बताउँछन्।
यता बंगलादेशका मिडफिल्डर शोहेल राना पनि प्रतियोगिताप्रति ढुक्क देखिन्छन्।
उनी भन्छन्, ‘छोटो भए पनि अभ्यास सेसन निकै राम्रो छ। कीर्गिस्तान निकै बलियो टिम हो। हामी सधँै राम्रो खेल्न चाहन्छौं। कीर्गिस्तानसँग पनि त्यही लय कायम गर्ने छौं।’
फिफा विश्व वरीयतामा बंगलादेश १९२ औं स्थानमा छ भने कीर्गिस्तान ९१ औं स्थानमा छ।