काठमाडौं – किइरन ट्रिपियरको एसिस्टमा गोल गर्दै एथ्लेटिको मड्रिडका फरवार्ड लुइस सुआरेजले आफ्नो करिअरको ५०० गोल पूरा गरेका छन्।
ला लिगा लिडर एथ्लेटिकोलाई शीर्षस्थानमा कायम राख्न महत्त्वपूर्ण र निर्णायक गोल गरेका सुआरेजले खेल जीवनमा ५०० गोलसमेत पूरा गरेका हुन्।
आइतबार राति वान्डा मेट्रोपोलिटानो रंगशालामा भएको खेलमा उनले अलाभेषविरुद्ध ५४ औं मिनेटमा गोल गरेका थिए।
३४ वर्षे उरुग्वेयन फरवार्डको एथ्लेटिकोका लागि यो १९ औं गोलसमेत हो। उनले फुटबल जीवनमा बार्सिलोनाका लागि १९८ गोल गरेका छन् भने लिभरपुलमा ८२ गोल गरेका थिए। त्यस्तै उरुग्वेबाट ६३ गोल गरेका थिए।
उनले निरन्तर उत्कृष्ट प्रदर्शन गरे पनि दोस्रो स्थानको बार्सिलोनाले लगातार १८ खेलमा अपराजित यात्रा कायम गर्दै एथ्लेटिकोमाथि दबाब बढाएको छ।
यस्तो अवस्थामा सुआरेजले ५०० गोलको कोशेढुंगा पूरा गरेका हुन्। उनले उरुग्वेयन क्लब नेसिनलबाट गरेको १२ गोलसँगै अन्तराष्ट्रिय क्लब यात्रा सुरु गरेका हुन्।
त्यसपछि एरिडिभिसीमा बललाई १५ पटक नेट चुमाएका उनले २००७ मा आयक्स जोइन गरेपछि १११ गोल गरेका थिए।
त्यसपछि (सन् २०१४)मात्र उनी प्रिमियर क्लब लिभरपुल पुगेका थिए।
अहिले एथ्लेटिको ६६ अंकका साथ ला लिगाको शीर्षस्थानमा छ।
चार अंकले पछि पर्दै बार्सिलोना दोस्रो स्थानमा छ। ६ अंकले पछि छोडिएको रियल मड्रिड भने तेस्रो स्थानमा छ।
गएराति पराजित अलाभेस चाहिँ रेलिगेशन जोनमा छ।