बुधबार, मंसिर १२, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

नेपथ्यमा 'कुरुप अनुहार'

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

himalayan bank box
Metro Mart
vianet
काठमाडौं । लोक रक ब्याण्ड नेपथ्यले आफ्नो १० औं एल्बममा समावेश छैठौं गीतको म्यूजिक भिडियो सार्वजनिक गरेको छ । पछिल्लोपटक ब्याण्डले 'कुरुप अनुहारहो' को श्रब्य दृश्य तयार पारेको हो ।

यो एल्बमबाट यसअघि 'कोशीको पानी', 'शिरफूल', 'रामारामा', 'हामी नेपाली' र 'सम्झि राख' बोलका गीतहरुको म्यूजिक भिडियो सार्वजनिक भइसकेका छन् ।

पछिल्लो पटक रिलिज भएको 'कुरुप अनुहार हो' सरुभक्तको शब्द र विक्रम गुरुङको संगीतमा तयार भएको गीत हो । यि दुवै परिचित श्रष्टा ८० को दशक प्रारम्भमा पोखराबाट काठमाडौं आइ त्रिभूवन विश्व विद्यालयमा पढ्न थालेका थिए । त्यतिबेलैको सत्संगमा यो गीत तयार भएको थियो । 

यसको शब्दमा एक्लो र परित्यक्त महशुस गर्ने तन्नेरी भाव अटाएको कवि एवं गीतकार सरुभक्त बताउँछन् ।

'यो गीतको पुनर्जागरण गराएकोमा म नेपथ्यलाई धन्यवाद दिन्छु,' एक वर्षअघि यसै गीतको पहिलो प्रस्तुती टुँडिखेलमा भइरहँदा उपस्थिती जनाएका गीतकार एवं हाल नेपाल संगीत नाट्य एकेडेमीका कुलपति सरुभक्तले भनेका थिए, 'यस गीतमा कोरस (सामुहिक स्वर)को जुनप्रकारले प्रयोग गरिएको छ, त्यसले मलाइ सबैभन्दा धेरै छोयो।'

पोहोर साल नै नेपथ्यले हंगकंगमा यो गीत गाउँदा संगीतकार विक्रम गुरुङले पहिलोपटक यस नौलो स्वरुपलाई अनुभूत गरेका थिए । अरुण थापालगायतसँग थुप्रै चर्चित गीत दिएका पुराना संगीतकार गुरुङ लामो समयदेखि हंगकंगको स्थायी वासिन्दाका रुपमा उतै बसोबास गर्छन्।

यस गीतलाई नेपथ्यको प्रस्तुतीमा सुनिरहँदा आफ्नो मन पुराना दिनतिर पुगेको गुरुङले बताएका थिए । 

'कीर्तिपुरमा विश्वविद्यालय पढ्दा सरु र म सँगै बसेर यसलाई तयार पारेका थियौं,' उनले भने, 'नेपथ्यले यसलाई उसकै शैलीमा प्रस्तुत गरे ता पनि म यसमा आफ्नो धडकन महशुस गरिरहेको छु ।'

कुनै समय एक किसिमले तयार पारिएको सिर्जनालाई अर्को कालखण्डमा नयाँ पुस्ताले आफ्नै शैलीमा ढालेर प्रस्तुत गर्नेलगायतका प्रयोगहरु संगीतका क्षेत्रमा चल्दै आएको प्रचलन रहेको गुरुङले बताए ।

कुनै समय नेपाली संगीतलाई अरुण थापाको स्वरमा 'आँखाको निँद चोरी लाने' र 'भुलुँ भुलुँलाग्यो मलाइ सपनीमा' जस्ता गीतहरु दिने गुरुङ पछिल्लो तीन दसकदेखि हंगकंगमा शिक्षण पेशा अपनाउदै आएका छन् ।

नेपथ्यले यो गीततयार पारेयता आफ्नो स्थापनाको रजतजयन्ती मनाउने क्रममा वर्षभरि 'कुरुपअनुहार हो'लाई कन्सर्टकै पहिलो गीतका रुपमा प्रस्तुत गर्दै आएको छ ।

स्टेजमा जसै यसका बेस र लिडका नोटहरु बज्न सुरु हुन्छ त्यतिबेलै घुर्मैलो कृत्रिमा धुवाँमा नृत्य गर्ने बत्ती, दृश्य र आवाजहरुको माहोलमा ब्याण्ड जागिरहेको दृश्य मञ्चमा उपस्थित हुन्छ । गीतले बोकेको एक प्रकारको मानशिक वैराग्य(विक्षिप्तता)लाई अथ्र्याउन मञ्चमा निलो रंगको प्रधानता विस्तार गरिन्छ ।

यस म्यूजिक भिडियोमा प्रयोग गरिएको दृश्यहरु ब्याण्डले गतवर्ष आफ्नो अष्ट्रेलिया र न्यूजिल्याण्ड कन्सर्ट गर्दाका दौरान खिचिएको हो ।

यस भिडियो 'क्लोज अप'दृश्यहरु रहित प्रयोगको रुपमा तयार परिएको छ । 'हामीले यसमा वाइड एंगल दृश्यहरुलाई मात्र प्रयोग गरेका छौं,' यस भिडियोका प्रोड्युसर तथा नेपथ्यलाई प्रवद्र्धन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन् 'म्यूजिक भिडियो हेर्दै गर्दा प्रत्यक्ष कार्यक्रम हेर्दाको अनुभूति मिलोस् भनेर सक्दो प्रयास गरेका छौं ।'

हिजोआज सांगीतिक एल्बमको प्रचलनले अर्थ गुमाउँदै गएको अवस्थामा नेपथ्यले आफ्ना प्रत्येक सिर्जनाहरु आइट्युन, गुगल प्ले र स्पोटिफाइजस्ता 'भर्चुअल स्टोर'हरुका माध्यमबाट सार्वजनिक गर्दै आएको छ । त्यसबाहेक ब्याण्ड र उसका श्रोताहरुलाई नजिक्याउन युट्युबपनि एक प्रभावकारी माध्यमबन्दै गएको छ ।

नेपथ्यले उसका जे जतिगीतहरु आफ्नो आधिकारिक युट्युब च्यानलमा राखेको छ, ती सबैलाई श्रोता-दर्शकहरुले अत्यधिक मन पराएको पाइएको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्