काठमाडौं– काभ्रेकी किशोरी मैना सुनुवारको नेपाली सेनाले अपहरण गरी हत्या गरेको १७ वर्ष बितेको छ। यसबीचमा देशमा थुप्रै राजनीतिक उतारचढाव आए। तत्कालीन विद्रोही माओवादीसँग शान्ति सम्झौता भएको पनि १५ वर्ष भइसक्यो।
राजतन्त्र समाप्त भएर गणतन्त्र आयो। नयाँ संविधान बन्यो। मुलुक संघीयतामा गयो। पटकपटक सरकार परिवर्तन भए। सत्तामा पुग्नेबित्तिकै नेताहरु भन्थे– अब द्वन्द्वपीडितले न्याय पाउँछन्। तर पीडितले अझै न्याय पाउन सकेका छैनन्। सरकारप्रति उनीहरुको आक्रोश छ। मैनाकी आमा देवीका आँखा ओभाएका छैनन्।
०७४ सालमा जिल्ला अदालत काभ्रेले तत्कालीन तीन सैनिक अधिकारीलाई २० वर्ष जन्मकैद सुनाएको थियो। वीरेन्द्र शान्ति तालिम केन्द्रका तत्कालीन शाही नेपाली सेनाका महासेनानी बबी खत्री, सहसेनानीद्वय अमित पुन र सुनिल अधिकारीलाई सजाय सुनाइयो भने तत्कालीन सेनानी निरञ्जन बस्नेतले दियो।
अदालतले २० वर्ष सजाय तोकेका तीनैजना सैनिक अधिकारी अहिले फरार छन्। उनीहरु राज्यकै संरक्षणमा लुकिराखेको मैनाकी आमा देवीको दाबी छ।
उनी भन्छिन्, ‘ती अपराधीलाई समातेर जेल नहालेसम्म मेरा आँखा ओभाउने छैनन्। मैनाको आत्माले शान्ति पाउने छैन।’
उनको प्रश्न छ, ‘यो कस्तो सरकार हो, जहाँ अदालतले सजाय दिन्छ, तर सरकार तिनीहरुलाई समातेर जेल हाल्न सक्दैन ?’
अपराधीले सजाय पाएपछि छोरीको अस्थिरपञ्जर शिक्षण अस्पतालको शव गृहबाट निकालेर म्युजियम बनाएर राख्ने योजना रहेको उनले सुनाइन्।
प्रस्तुत छ– मैनाकी आमा देवीसँग ०६० फागुन ५ गतेको घटना र न्यायका लागि जारी लडाइँका विषयमा गरिएको कुराकानीः