काठमाडौं- करिब एक वर्षपछि नेपाली फुटबल टोली अन्तर्राष्ट्रिय खेलका लागि आज मैदान प्रवेश गर्दैछ ।
बंगलादेश भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पौने पाँच बजे घरेलु टिमसँग पहिलो मैत्रीपूर्ण फुटबल प्रतियोगिता खेल्न लागेको हो ।
‘मुजिब वर्ष फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज’ नाम दिइएको खेलमा नेपाल र बंगलादेश जितको लक्ष्यसहित मैदानमा उत्रनेछन्।
मैत्रीपूर्ण सिरिजका लागि एक हप्ताको मात्र अभ्यास गरेको नेपालको राष्ट्रिय टिम गत हप्ताको विहीबार ढाका प्रस्थान गरेको थियो। उसले त्यहाँ पनि एक हप्ता अभ्यास गरेको छ।
ढाका प्रस्थान गर्नुपूर्व प्रशिक्षक बालगोपाल महर्जनले टोलीको प्रशिक्षण सुधारोन्मुख हुँदै गएको बताएका थिए।
आजको खेलबाट खेलाडी जित निकाल्ने भन्दा धेरै मैदान फर्कन पाएकोमा खुसी हुनेछन्। किनभने कोरोना महामारीका कारण नेपालमा चैत महिनायता फुटबल सञ्चालन हुन सकेको छैन्।
यस्तै साग कुनै पनि अन्तर्राष्ट्रिय फुटवल प्रतियोगामा भाग लिनसमेत पाएका छैनन् । बंगलादेश पनि यस्तै अवस्थामा छ । त्यहाँ पनि लामो समयदेखि फुटबल हुन सकेको छैन्।
नेपालले पछिल्लो खेलमा बंगलादेशलाई बंगबन्धु गोल्डकपमा २–० गोल अन्तरले हराउँदै उपाधि जितेको थियो। त्यो समयमा राष्ट्रिय टोली सम्हालेका प्रशिक्षक महर्जन अहिले पनि प्रशिक्षकको भूमिकामा छन्।
‘लामो समयपछि मैदान फर्किएको हौसलासँगै खेल जित्नका लागि उत्कृष्ट प्रदर्शन गर्नेछौं,’ उनले खेलअघिको प्रेस मिटमा भने।
बंगलादेशविरुद्ध लगातार जित निकालिरहको नेपाली टिमले जितको शृंखला कायम राख्ने महर्जनले बताएका छन्। नेपालले बंगलादेशविरुद्धको पछिल्ला पाँच खेलमा लगातार जित निकालेको छ।
सन् २०११ पछि नेपालले बंगलादेसँग एकपटक मात्र हार बेहोरेको छ। तर कोरोना महामारी र चोटका कारण राष्ट्रिय टिमका महत्वपूर्ण सदस्य मैदानबाहिर छन्।
उनीहरुको अनुपस्थिति नेपाली टोलीका लागि कष्टकर हुनसक्छ । यता कोरोनाकै कारण केही नयाँ खेलाडीले अवसर पाएका छन्।
‘पोटेन्सियल भएका खेलाडीले अवसर पाएका छन्। उनीहरुले भविष्य निर्माण गर्ने गरिको खेल देखाउने छन्,’ बंगलादेश प्रस्थान गर्नुअघि फरवार्ड भरत खवासले भनेका थिए।
त्यस्तै कप्तान किरण कुमार लिम्बूले खेल आयोजनाका लागि बंगलादेशाई धन्यवाद दिए। उनले दुवै टिम उस्तै रहेकाले खेल प्रतिस्पर्धात्मक हुने बताएका छन्।
बंगबन्धु रंगशालामा हुने खेलको प्रत्यक्ष प्रसारण बंगलादेशको राष्ट्रिय टेलिभिजनबाट हुनेछ। दोस्रो खेल भने मंसिर २ गते हुनेछ।