काठमाडौं- बलिउड गायक एवम् टेलिभिजन प्रस्तोता आदित्य नायारणले आफू चर्चित गायक उदित नारायणको छोरा नभइदिएको मानिसहरुले आफूलाई गम्भीरतापूर्वक लिन्थे होला भन्ने लागेको बताएका छन्।
एका भारतीय टेलिभिजनमा दिएको अन्तर्वातामा उनले मनोरञ्जन उद्योगमा इनसाइडर्स भर्सेस आउट साइडर्स र आफन्तवादबारे प्रतिक्रिया दिइरहेका थिए।
आदित्यले भने, ‘पहिलो कुरा जसले मलाई विशेषाधिकार प्राप्त देख्छन् र जीवनमा मैले आनन्दै आनन्द गरेको ठान्छन् उनीहरु अर्को जन्ममा कुनै चर्चित व्यक्तिको सन्तान बनुन्। त्यसपछि उनीहरुलाई थाहा हुनेछ, आफ्नो क्षेत्रमा चर्चित व्यक्तिका सन्तानलाई त्यसै क्षेत्रमा काम गर्दा कस्तो असहज अवस्था आउँछ भन्ने।’
आफ्नो संंघर्षलाई स्मरण गर्दैै उनले भने, ‘कुने बेला मलाई लाग्थ्यो म उदित नारायणको छोरा नभएको भए मलाई मानिसहरुले गम्भीरतापूर्वक लिन्थे होल। सबैभन्दा बढी त मैले अपेक्षा र तुलनाको दबाव अनुभव गर्नु पर्दैनथ्यो। तर, मेरा बुवा आमा दुबै चर्चित गायक छन् र सबैले उहाँहरुसँग मेरो तुलना गरिदिन्छन्।’
राम्रो गर्ने सबै बाहिरका
आदित्य नारायणले सफलता दरबारे कुरा गर्दै भने, ‘मनोरञ्जन क्षेत्रमा जसले गज्जब प्रदर्शन गरिरहेका छन् ती सबै बाहिरबाट आएका हुन्।
चर्चित गायक, अभिनेता, लेखक, निर्देशक सबैलाई हेर्नुस त अधिकांश आउटसाइडर्स छन्।’
हामीले मौका सजिलै पाउँछौँ
उनले मनोरञ्जन उद्योगमा पहिलेदेखि स्थापित व्यक्तिका सन्तानले पहिलो अवसर भने सजिलै पाउने बताए।
उनले भने, ‘हामीले सुरुमा सजिलै अवसर पाउँछौं। तर उद्योगले मुनाफा खोज्छ र जसले नाफा दिलाउन सक्छ उसैलाई काम दिन्छ। जब तपाईंको फिल्म, गीत वा नृत्यले मुनाफा दिंदैन भने तपाईंले फेरि फेरि काम पाउनुहुन्न।’
उनले अहिले आफूले होस्ट गरिरहेका टेलिभिजन कार्यक्रमको टीआरपी र प्रायोजन निकै राम्रो भएको सुनाउँदै भने, ‘यसमा तपाईंं आउटसाडर वा इन्साइडर हुनुले केही फरक पर्दैन।’
टाट पल्टेको भनेर चर्चा
आगामी महिना प्रेमिका श्वेता अग्रवालसँग विवाह गर्ने तयारीमा रहेका आदित्यको एउटा अन्तर्वार्ता पछिल्लो महिना भाइरल भएको थियो।
उक्त अन्तर्वार्तामा उनले आफू टाट पल्टेको बताएका थिए। आदित्यले भनेका थिए, ‘लकडाउनमा मेरो सबै बचत सकियो, अब बैंंक खातामा जम्मा १८ हजार छ।’
त्यसपछि भने उनले उक्त अभिव्यक्ति रमाइलोका लागि दिएको र आफूलाई पैसा र कामको कमी नभएको बताएका थिए।