बिहीबार, असोज ८, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • नेपाल समय बिहानी समाचार : संसद् अधिवेशन अन्त्य गरेर अध्यादेश खारेज गरिँदै, खुल्यो टिकट बुकिङ

नेपाल समय बिहानी समाचार : संसद् अधिवेशन अन्त्य गरेर अध्यादेश खारेज गरिँदै, खुल्यो टिकट बुकिङ

सत्ता गठबन्धनको सहमति अनुसार सरकारले संसद् अधिवेशन अन्त्य गर्दै राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्ने भएको छ।
 |  सोमबार, असोज ११, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज ११, २०७८

काठमाडौं– सत्ता गठबन्धनको सहमति अनुसार सरकारले संसद् अधिवेशन अन्त्य गर्दै राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्ने भएको छ। 

सरकारले आज (सोमबार) नै संघीय संसद्को दुवै सदन अन्त्यका लागि सिफारिस गर्ने र अध्यादेश निष्कृय बनाउने तयारी गरेको हो। आज नै संसद्बाट बजेटसम्बन्धी अध्यादेशको काम सकेर अधिवेशन टुंग्याउने सहमति भएको सत्तारुढ गठबन्धका एक नेताले जानकारी दिए। हिजो बसेको गठबन्धनको बैठकमा अध्यादेश टुंग्याएर एक दुई दिनमै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको थियो। अध्यादेश खारेज गरेपछि भोलि मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी छ। 

आज नै संघीय संसद्को दुवै सदनको बैठक बस्दैछ। राष्ट्रिय सभाको बैठक बिहान ११ बजे र प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेलाई डाकिएको छ। 

आजको बैठकबाट बजेट सम्बन्धी सबै विधेयक पास गर्ने सरकारको तयारी छ। राष्ट्रिय सभाको आजको बैठकले आर्थिक विधेयक र राष्ट्रिय ऋण उठाउने विधेयक पारित गर्नेछ। प्रतिनिधिसभाको सम्भावित कार्यसूची अनुसार सभामुख अग्निप्रसाद सापकोटाले विनियोजन विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण भएको सूचना सदनलाई सुनाउने छन्। बजेटसँग जोडिएका विधेयकहरु पारित भएसँगै सरकारले संसद् अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ। 

एमालेमा फेरि चर्कियो असन्तुष्टि

पार्टी एकताका लागि गरिएको १० बुँदे सहमति पालना नभएको भन्दै असन्तुष्टि बढेपछि एमालेले स्थायी कमिटी बैठक बोलाएको छ। 

केन्द्रीय कमिटी बैठक स्थगित भएको भोलिपल्टै एमालेले स्थायी कमिटी बैठक बोलाएको हो। बैठक आज बिहान ११ बजे बस्ने एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। हिजो सम्पन्न केन्द्रीय कमिटी बैठकमा भीम रावललगातका नेताहरूले १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि पोखेका थिए। 

राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री 

परराष्ट्रमन्त्री डा. नारायण खड्काले आज संयुक्त राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्ने भएका छन्। 

महासभामा आज सम्बोधन गर्ने कार्यतालिका रहेको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगले जनाएको छ। महासभामा सहभागी हुनकै लागि उनी शपथग्रहण र पदभार ग्रहण गरेकै दिन ६ असोजमा न्य्ुयोर्क प्रस्थान गरेका थिए। महासभामा भाग लिन गएका परराष्ट्रमन्त्री डा खड्काले हिजो भारतीय समकक्षी डा एस जयशंकरसँग साइडलाइन वार्ता गरेका छन्। भेटमा दुई देशबीच विशेष सम्बन्ध अघि बढाउन सहमति गरेको डा जयशंकरले बताए। 

खुल्यो टिकट बुकिङ

सरकारले आजबाट दसैँमा घर जानका लागि लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ खुला गरेको छ। 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले बिहान ७ बजे टिकट बुकिङ सुरु भएको जानकारी दिए। कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, जगाति र लगनखेललगायतका स्थानमा टिकट बुकिङ शुरु भएसँगै दशैमा घर जान चाहने यात्रु टिकट काट्नका लागि बिहानैबाट लाइन लागेका छन्।

पर्यटन दिवस मनाइँदै

आज सेप्टेम्बर २७ अर्थात् ४२ औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। 

कोभिड–१९ महामारीकै बीच स्वास्थ्य मापदण्डको पालना गरी भौतिकरूपमा दिवस मनाउन लागिएको छ। दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहत निकाय तथा सरोकार संस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन्। ‘टुरिज्म फर इन्क्लुसिभ ग्रोथ’ नाराका साथ नेपालमा दिवस मनाउन लागिएको नेपाल पर्यटन बोर्डले जनाएको छ। गत वर्ष भर्चुअलरूपमा पर्यटन मन्त्रालयमा न्यून सङ्ख्यामाझ दिवस मनाइएको थियो। कोरोनाको जोखिम कम हुँदै गएकाले यस वर्ष भौतिकरूपमै कार्यक्रम गर्न लागिएको हो। 

१८ वर्षमाथिका सबैलाई कोभिड खोप

काठमाडौंमा आजबाट १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउन थालिएको छ। 

खोप कार्यक्रमअन्तर्गत १८ वर्षमाथिका सबै नागरिकलाई भेरोसेल खोपको पहिलो डोज दिन थालिएको हो। खोप लगाउनका लागि काठमाडौंका १२ वटै पालिका र सात अस्पतालमा केन्द्र तोकिएको छ। खोप लिनेले अनिवार्य अनलाइन फारम भर्नुपर्ने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ। तीन दिनसम्म खोप दिने तयारी छ।

अफगानी नागरिकलाई दाह्री नकाट्न उर्दी

तालिबानले अफगानी नागरिकलाई दाह्री नकाट्न उर्दी गरेको छ। 

नाऊहरूले दाह्री काट्ने वा मिलाउने कुराले इस्लाम धर्म उल्लङ्घन गरेको बताउँदै अफगानिस्तानको हेलमन्ड प्रान्तमा त्यस्तो गर्न प्रतिबन्ध लगाइएको हो। तालिबानले दाह्री नकाट्न वा नमिलाउन गरिएको उर्दी उल्लंघन भए सजाय दिइने चेतावनी दिएको छ। तालिबानले विस्तारै विभिन्न विषय कडाइ गर्न थालेपछि उनीहरुको विगतकै जस्तो कडा शासन फर्किएको संकेत गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

प्रकाशित: Sep 27, 2021| 11:14 सोमबार, असोज ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।