इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा यसपटक प्रवेश गरेका ‘फ्रेसर खेलाडी’ मध्ये कसैले अब्बल प्रदर्शन गरेका छन् भने अत्यधिक अपेक्षा गरेका केही खेलाडीको प्रदर्शन निराशाजनक बन्न पुगेको छ।
१८ वर्षीय किशोर यशस्वी जैसवालको डेब्यूलाई पनि यसपटकको आईपीएलमा निकै चासोका साथ हेरिएको थियो।
उत्तर प्रदेशको सानो सहरबाट क्रिकेटकै रहरले मुम्बई पुग्दा यशस्वीलाई वासकै समस्या चर्को थियो। तर, अहिले उनले विदेशी भूमि यूएईमा आईपीएल मात्र खेलिरहेका छैनन्।
सानदार होटेलमा लक्जरी समय पनि बिताइरहेका छन्। जोस बट्लर, जोफ्रा आर्चर र स्टिभ स्मिथ जस्ता खेलाडीसँग ड्रेसिङ रुम सेयर गरिरहेका छन्।
आईपीएलमा राजस्थान रोयल्सले उनलाई आधार मूल्य (बेस प्राइस) भन्दा १२ गुणा धेरै रकम दिएर टिममा सामेल गराएको छ।
खेलका दौरान भारतीय पूर्वकप्तान महेन्द्रसिंह धोनीलाई ‘नमस्ते’ गरेको भिडियो सेयर भएपछि उनी विश्वभर चर्चित नै भए।
भारतीय पूर्वकप्तान धोनीविरुद्ध किशोरावस्थामै खेल्न पाउनु चानचुने कुरा होइन। त्यसमाथि विश्वकै महंगो क्रिकेट फ्रेन्चाइज लिग आईपीएलमा।
आईपीएलमा डेब्यूसम्म पुग्नु पनि उनलाई एउटा विश्वयात्रा पूरा गर्नु जस्तै थियो।
........
जब उत्तर प्रदेशको घर छोडेर क्रिकेटको सपना साकार पार्न उनी निस्किए त्यसबेला उनको उमेर १० वर्षमात्र थियो।
‘क्रिकेटबाहेक मेरो अर्को चाहना थिएन। त्यो चाहना गाउँमै रहेर पूरा हुन्थेन,’ उनले आईपीएल पडकास्टमा भनेका छन्।
उनलाई सिनियरहरुले ‘मुम्बई गएर खेले राम्रो हुनसक्छ’ भन्ने सल्लाह दिन्थे। त्यही सपनाको मुम्बईलाई पछ्याउँदै उनले १० वर्षमै घर छोडेका थिए।
मुम्बईमा बस्ने ठाउँ पाउनै उनलाई मुस्किल भयो। पहिले एउटा डेरी पसलमा काम गरे र त्यही पसलमै रात बिताउँथेँ।
तर क्रिकेट अभ्यासको थकान, अनिद्राका बीच उनले पसलमा साहुले भने अनुसारको काम गर्न नसकेपछि निकालिए। ‘मैले एक रात मात्रै भए पनि बस्न देऊ भनेर धेरै बिन्ती गरेँ, तर साहुले मानेनन्,’ उनी भन्छन्, ‘म त्यो समयमा एक्लो थिएँ, मेरो लागि धेरै अप्ठ्यारो समय थियो।’
त्यसपछि उनी काकाको साँघुरो कोठामा घुस्रिए।
काकाको कोठामा पनि नअटाएपछि उनी आजाद मैदान नजिक एउटा पालमुनि सुत्न थाले। दिनभर त्यहीँ क्रिकेट खेल्थे।
आजाद मैदान सयौं क्रिकेटप्रेमीका लागि सिक्ने ठाउँ हो, जहाँ पूर्व ब्याट्स्म्यान सचिन तेन्दुलकर र वर्तमान भारतीय ओपनर पृथ्वी शले अभ्यास गर्थे।
आजाद मैदानको टेन्टमा बस्नका लागि उनलाई त्यसबेलाका ग्राउन्डम्यान ज्वाला सिंहले सहयोग गरे। जो उनका कोच पनि थिए।
‘मैले बस्ने ठाउँ खोजिदिन र खेलमा सहयोग गर्न अनुरोध गरेँ। उहाँले निकै सहयोग गर्नुभयो।’
उनका कोच ज्वाला सिंह आफैँ पनि स्टेट लेभलको क्रिकेट खेल्थे तर, पैसा र गाइडेन्सको कमीका कारण उनलाई खेल छोड्नु परेको थियो।
सिंहले उनलाई टेन्टमा बस्ने भए क्रिकेटमा स्कोरिङ गर्नु पर्ने र बल उठाउने काम पनि गर्नु पर्ने नभए बस्न नदिने सर्त राखे।
‘मलाई क्रिकेट खेल्नुबाहेक अरु केही गर्नु नै थिएन, टेन्टमा बसेर बासको समस्या हल हुने भए म जे गर्न पनि तयार थिएँ। त्यसमाथि स्कोरिङ र अम्पायरिङ गर्न सकेँ भने मलाई अतिरिक्त फाइदा हुने थियो,’ उनले पुराना दिन सम्झिए।
उनी आफूलाई सहरमा टिकाउनका लागि पानीपुरी बेचे, फलफूल र मिठाइका ठेला लगाए।
‘म बेलाबेला आमालाई निकै सम्झन्थें र रुन्थें। तर घरमा फोन गर्दा सबै ठिक छ भन्थें। किनभने ठिक छैन भनेको भए उहाँहरुले मलाई जसरी भए पनि बोलाउनु हुन्थ्यो।’
विस्तारै उनको मेहनतले परिणाम दिन थाल्यो, उनले मुम्बईको टिममा ठाउँ पाए र विश्वको सबैभन्दा युवा ब्याट्सम्यान बन्न पुगे।
तर, अहिले उनी धेरै अघि बढिसकेका छन्। १७ वर्ष २९२ दिनको उमेरमा उनले वन डे म्याचमा दोहोरो शतक बनाएर रेकर्ड बनाए।
यसै वर्ष सम्पन्न यू–१९ आईसीसी क्रिकेट विश्वकपका टप स्कोरर रहे। त्यही प्रतियोगिताले उनको करियर ‘बुस्ट’ गरिदियो साथै उनले घरेलु एक दिवसीय प्रतियोगितामा पनि ७१ रनको औषत बनाउन सफल रहे।
जनवरी–फेब्रुअरीमा सम्पन्न आईसीसी विश्वकपमा उनले ८८, १०५, ६२, ५७, २९ र ५७ रन बनाए। अर्थात् चार अर्धशतक र एक शतक। उनी वर्षकै सबैभन्दा धेरै रन बनाउने खेलाडीसमेत बने।
उनको प्रदर्शनको पूर्व भारतीय राष्ट्रिय खेलाडी तेन्दुलकरले तारिफ गरेका थिए। जैसवालको आइडल पनि हुन तेन्दुलकर। उनी दक्षिण अफ्रिकामा सम्पन्न विश्वकपबाट फर्केपछि तेन्दुलकरसँग भेट गरेका थिए।
यही लोभलाग्दो सफलता देखेर जारी सिजनमा राजस्थानले उनीमाथि २।४ करोड भारु लगानी गर्यो।
१७ वर्षमै एक दिवसीय क्रिकेटको १५४ बलमा प्रहार गरेको २०४ रनले उनलाई उज्याले भविष्यतर्फ डोर्यायो। उनी लिस्ट ‘ए’ क्रिकेटमा दोहोरो सतक बनाउने युवा खेलाडीसमेत हुन्। यसैकारण उनले विश्वकै महंगो लिगमा विश्वका नम्बर वान ब्याट्स्म्यान स्मिथसँग ओपनिङ गर्ने मौका पाए।
‘स्मिथले मलाई मैदानमा जाउ र रमाइलो गर भने,’ जैसवाल भन्छन्, ‘स्टिभ स्मिथ निकै सहयोगी छन्। म उनलाई केही पनि सोध्न सक्छु। म उनको अनुभवबाट सिक्ने प्रयास गरिरहेको छु।’
तर उनको आईपीएलको पहिलो यात्रा उत्साहपूर्ण छैन। उनले जम्मा तीन खेलमा मात्र मौका पाए।
पहिलो खेलमा ६ बलमा ६ रन जोडेपछि पेभेलियन फर्किएका उनलाई राजस्थानले एउटा रेस्ट दिएर फेरि खेलायो।
दोस्रो खेलमा केही सुधारात्मक प्रदर्शन गर्न खोजे पनि दिल्लीको बलिङअघि उनको केही लागेन। मार्क्स स्टोइनिसको बलबाट उनी बाहिरिए। उक्त खेलमा पनि उनले ३६ बलमा ३४ रन मात्र जोड्न सके।
अर्को खेलमा मुम्बईविरुद्ध त उनी घुँडा टेक्न विवश भए। ट्रेन्ट बोल्टको बलबाट उनी शून्य रनमै आएट भए।
तीन खेलमा उनले जम्मा ४० रन मात्र बनाउन सके।
ओपनिङ ब्याट्स्म्यानका लागि यो असाध्यै थोरै रन हो। त्यसमाथि उनको स्ट्राइक रेट एक सयको पनि छैन। त्यसपछिका खेलमा उनले अवसर नै पाएनन्।
आईपीएलको कमजोर प्रदर्शनका कारण यशस्वीको यू–१९ विश्वकपपछि सिनियर टोलीमा पर्न सक्ने यात्रामा तगारो थपिएको छ।