काठमाडौ– च्याम्पिन्स लिगको बुधबार राति सम्पन्न खेलमा चेल्सीको सहज जितका लागि जर्मन फरवार्ड टिमो वेर्नरले दुई गोल गरेका छन्।
उनले पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै दुई गोल गरे।
वेर्नको दुई गोलका साथ चेल्सीले घरेलु मैदान स्टाम्फर्ड ब्रिजमा पाहुना टिम रेन्निसविरुद्ध ३–० गोलको सहज जित निकाल्न सफल भयो।
पहिलो हाफमै डिफेन्डर डलबर्ट इस्टेवाओ रातो कार्ड खाँदै बाहिरिएछि कठिन अवस्थामा पुगेको रेन्निसविरुद्ध चेल्सीले सहज जित निकाल्यो।
तर खेल विवादबाट उम्कन सकेन। खेलको १२ औं मिनेटमा वेर्नरको हेन्डबल हुँदा रेन्निसलाई फ्री किक प्रदान गरेका जर्मन रेफ्री फेलिक्स जवयरले रेन्निसका डिफेन्डर डलबर्टको हेन्डबलमा भने सोही निर्णय गरेनन्।
४० औं मिनेटमा अब्राहमको पासलाई डलबर्टले ब्लक गरिदिए। तर बलले दिशा परिवर्तन गर्दै डिफेन्डरको हातसम्म पुग्यो।
त्यसपछि रेफ्रीले पिचसाइडको मनिटरमा अवलोकन गरेर चेल्सीलाई पेनाल्टीको अवसर दिए भने डलबर्टलाई डबल यल्लो कार्ड देखाउँदै मैदान बाहिर पठाए।
यही विषयलाई इंगित गर्दै चेल्सीका प्रशिक्षक फ्रांक लाम्पार्डले ह्यान्डबलको नियम सँग आफूखुसी नभएको बताएका छन्।
‘अवस्थालाई विचार गर्दै प्रिमियर लिगमा केही नियम एडजस्ट गरिएको थियो। सोही कुरा च्याम्पियन्स लिगको खेलमा पनि देखियो,’ प्रशिक्षक लाम्पार्डले भने, ‘म आजको ह्यान्डबल नियमबाट खुसी छैन, यदी म रेन्निसको प्रशिक्षक हुन्थेँ भने पनि खुसी हुन्न थिएँ। तर नियम भनेको निमय नै हो।’
त्यस्तै रेन्निसका प्रशिक्षक जुलियन स्टेफेनले पनि आफूलाई थाहै नभएको नियमबाट खेल खेलाइएको आरोप लगाए।
उनले भने, ‘जबसम्म नियम परिवर्तन हुँदैन र हामीलाई जानकारी भएको छैन, मलाई थाहा भएन नि किन ह्यान्डबलमा यस्तो निर्णय भयो।’
‘यदी ह्यान्डबलमा डबल एल्लो दिइन्छ भने यसले खेल भावनालाई मार्छ। त्यसैले यहाँ सत्यसँग विरोधाभाष भएको छ तर म कन्स्पिरेसी थ्योरीसँग जान चहान्न,’ स्टेफेनले थपे।
उनले ४० औं मिनेटको डबल एल्लो कार्ड नै खेलको टर्निङ पोइन्ट भएको बताएका छन्। जसले चेल्सीजस्तो उत्कृष्ट टिमविरुद्ध खेल्न कठिन बनाएको प्रशिक्षक स्टेफेनको मत छ।