काठमाडौं– ११ खेलमा १४ गोल गर्दै नेर्वेजियन स्टार इर्लिङ ब्रुट हाल्यान्डले च्याम्पियन्स लिगका अर्को रेकर्ड बनाएका छन्।
क्लब ब्रुगको मैदानमा बुधबार राति सम्पन्न खेलमा बोरुसिया डर्टमुन्डका तर्फबाट उनले घरेलु टिमविरुद्ध दुई गोल गर्दै रेकर्ड बनाएका हुन्।
तर उनी च्याप्पियन्स लिगमा दोस्रो ह्याट्रिक गर्न चुके। आफ्नै पूर्वक्लब साल्जबर्ग विरुद्ध च्याम्पियन्स लिगका पहिलो ह्याट्रिक गरेका उनले गए रातिको खेलमा दोस्रो ह्याट्रिक बनाउन चुकेका छन्।
गए रातिको खेलमा २० वर्षे हाल्यान्डले दुवै गोल पहिलो हाफमै गरे। टोनी हजार्डले १४ औं मिनेटमै सुरुवाती गोल गरेपछि हाल्यान्डले दुई गोल थप्दै डर्टमुन्डलाई जितको सहज अवस्थामा पुर्याएका थिए।
उनको दुई गोलसँगै डर्टमुन्डले ३–० गोलअन्तको जित निकाल्यो। जितसहित ६ अंक बनाएको डर्टमुन्ड समूह जीको शीर्ष स्थानमा छ।
गत जनवरीमा मात्र डर्टमुन्डमा अनुबन्ध भएका हाल्यान्डले सबै प्रतियोगिताका २८ खेलमा २६ गोल गरिसकेका छन्।
यसअघि च्याम्पियन्स लिगका १४ गोल गर्नेमा ह्यारि केन छन्। तर उनले हाल्यान्डको भन्दा ६ खेल धेरै खेलेर सो गोल गरेका हुन्।
त्यस्तै, हाल्यान्डले आफूले फेस गरेका सातै टिमविरुद्ध गोल गरिसकेका छन्।
समूह जी अन्तर्गत नै सम्पन्न अर्को खेलमा लाजियो र जेन्टले १–१ गोलको बराबरी खेलेका छन्। बराबरीसँगै पाँच अंक जोडेको लाजियो समूहको दोस्रो स्थानमा छ भने जेन्ट पुछारमा छ।