काठमाडौं– साविक विजेता बायर्न म्युनिखले च्याम्पियन्स लिगमा अष्ट्रियन टिम आरबी साल्ज्बर्ग माथि सानदार जित निकालेको छ।
साल्ज्बर्गका घेरेलु मैदानमा सम्पन्न खेलमा बायर्नले ६–२ गोलको जित निकालेको हो।
जितका लागि रोवर्ट लेवान्डोस्कीले दुई गोल गरे। खेलको २१ औं मिनेटमै पेनाल्टीमा पाएको अवसरलाई सदुपयोग गर्दै गोल गरेका उनले ८८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे।
यससँगै उनले च्याम्पियन्स लिगमा ७० गोल गरेका छन्। च्याम्पियन्स सर्वाधिक गोल गर्ने खेलाडीको लिस्टमा उनी चौथो नम्बरमा छन्।
लेवान्डोस्कीसँगै जेरोमी बोयटिङ, लेरोय साने र लुकास हर्नान्डेजले समान १–१ गोल गरे। त्यस्तै साल्ज्बर्गका रास्मस किस्टिनसेनले आत्मघाती गोल गर्दै बायर्नलाई गोल कोसेली दिए।
जितसहित ३ खेलबाट ९ अंक बनाएको बायर्न समूह ए को शीर्षस्थानमा छ।
पराजित साल्ज्बर्ग भने एक अंकका साथ पुछारमा छ। बायर्नलाई नकआउट चरणमा पुग्नको लागि अब मात्र एक जित आवश्यक छ।
ऊ दोस्रो स्थानको एट्लेटिकोभन्दा पाँच अंकले माथि छ भने तेस्रो स्थानका टिम भन्दा ७ अंक धेरै छ।
सोही समूह अन्तगर्तत नै सम्पन्न अर्को खेलमा एट्लेटिको मड्रिडले लोकोमोटिभ मस्कोसँग १–१ गोलको बराबरी खेलको छ। बराबरीसँगै एट्लेटिकोले ४ अंक बनाएको छ।
यता मस्को भने २ अंकका साथ तेस्रो स्थानमा छ।