काठमाडौं– च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा रियल मड्रिडले जित निकालेको छ। रियलको मैदान अल्फ्रेदो डि स्टेफानोमा सम्पन्न खेलमा उसले पाहुना टिम इन्टर मिलानलाई ३–२ गोलले हराएको हो।
रियलको जितका लागि करिम बेञ्जेमा, सर्जियो रामोस र रोड्रिगोले गोल गरे। भने पाहुना टिमका लागि लाउतारो मार्टिनेज र इभान पेरिसिचले गोल गरे।
खेलको २५ औं मिनेटमा बेञ्जेमाले गोल गर्दै रियललाई अग्रता दिलाए। त्यस्तै, ३३ औं मिनेटमा टोनी क्रुसको पासमा सर्जियो रामोसले गोल गरे।
रामोसको गोलको ३ मिनेट नवित्दै इन्टरका मार्टिनेजले गोल गर्दै खेलमा फर्कन चाहे। तर पहिलो हाफ सकिँदा इन्टर एक गोलले पछि पर्यो।
दोस्रो हाफको ६८ औं मिनेटमा पेरिसिचले गोल गर्दै खेललाई बराबरीमा ल्याए। तर ८० औं मिनेटमा भिनिसियस जुनियरको पासमा रोड्रिगोले निर्णायक गोल गर्दै रियललाई जिताए।
संघर्षपूर्ण जितसहित रियलले च्याम्पियनस लिगमा पहिलो जित निकालेको छ। जितसहित ४ अंक बनाएको रियल समूह बी को तेस्रो स्थानमा छ भने इन्टर मिलान ४ अंकका साथ पुछारमा छ।
समूह बी अन्तर्गत भएको अर्को खेलमा मोन्छेनग्लाडबाखले शख्तर डोनेस्कविरुद्ध ६–० गोलको सानदार जित निकालेको छ। शख्तरको मैदानमा सम्पन्न खेलमा ग्लाडबाखले सानदार जित निकालेको हो।
ग्लाडबाखका लागि अलासाने प्लियले ह्याट्कि गरे भने सामी बेन्सेबानी र लार्स र्सिन्डीले एक–एक गोल गरे। बाँकी एक गोल भने शख्तरका बोन्डरले आत्मघाती गरेका थिए।
जितसहित ५ अंक बनाएको समूहको शीर्षस्थानमा छ भने शख्तर ४ अंकका साथ दोस्रो स्थानमा छ।