काठमाडौं– इन्डियन प्रिमियर लिग(आईपीएल)मा लिग चरणका दुई खेल बाँकी छन्। बाँकी दुईमध्ये एक खेल आज राति पौने ८ बजे अबुधाबीको शेख जायद रंगशालामा हुँदैछ।
आजको खेलमा दिल्ली क्यापिटलले रोयल च्यालेन्जर्स बैंगलोरको सामना गर्नेछ। आजको खेल जुन टिमले जित्नेछ, त्यो टिमले पहिलो क्वालिफायर खेलमा मुम्बई इन्डियन्सको सामना गर्नेछ।
यसकारण आजको खेल नकआउट जस्तै हुन सक्नेछ। यता हार्ने टिमको भने १४ अंक मात्र हुनेछ। यदि पराजित टिमको नेट रन रनेट समान १४ अंक बनाउने टिमको भन्दा धेरै भएमा ऊ प्लेअफमा प्रवेश गर्न सक्नेछ। नभए आईपीएलबाट बाहिरिनु पर्नेछ।
अहिले कोलकाता नाइट राइडर्सको १४ अंक छ। भोलिको खेलमा सनराइजर्स हैदराबादले मुम्बईलाई हराएको खण्डमा उसको पनि १४ अंक हुनेछ। यस्तो अवस्थामा तीन टिमको १४ अंक हुनेछ।
त्यसबाट दुईवटा टिम प्लेअफमा जानेछ। यदि भोलिको खेलमा हैदराबाद पराजित भएको खण्डमा आजको खेलमा हार बेहोर्ने टिम पनि सिधै प्लेअफमा पुग्नेछ।
यसकारण आजको खेलबाट एउटा टिम प्लेअफमा पुग्ने टुंगो लाग्नेछ भने बाँकी दुई टिम भोलि हुने अन्तिम खेलबाट मात्र टुंगो लाग्नेछ।
आजको खेलमा प्रतिस्पर्धा गर्ने दिल्ली अंकतालिकाको तेस्रो स्थानमा छ भने बैंगलोर दोस्रो स्थानमा छ। जारी सिजनमा यसअघि यी दुई टिमको भेट हुँदा दिल्लीले बैंगलोरलाई ५९ रनले हराएको थियो। दिल्लीले पहिलो ब्याटिङ गर्दै १९६ रन बनाएको थियो भने जवाफमा बैंगलोरले ९ विकेटको क्षतिमा १३७ रनमात्र बनाएको थियो।
तर दिल्ली र बैंगलोरले पछिल्ला खेलमा क्रमशः चार र तीन खेल हारेका छन्। सानदार प्रदर्शन गरिरहेका दुवै टिमले लगातार हार बेहोरेपछि प्लेअफ खेल्ने टिमको पनि टुंगो लाग्न नसकेको हो।
साथै यी दुवै टिम एकै अवस्थामा भएकाले आजको खेल महत्वपूर्ण छ। आजको खेलमा जित निकाल्ने टिमलाई प्लेअफबाट फाइनलमा पुग्नका लागि दुई अवसर हुनेछ भने पराजित हुने टिमलाई उक्त सुविधा उपलब्ध हुने छैन।
आज जित निकाल्ने टिम अंक तालिकाको दोस्रो स्थानमा रहनेछ। मुम्बई इन्डियन्स शीर्षस्थानमा विराजमान भइसकेको छ।
सम्भावित प्लेइङ सेटः
दिल्लीः शिखर धवन, पृथ्वी श, श्रेयस अयर, ऋषभ पन्त, सिमरन हेट्मयर, मार्कस स्टोइनिस, अक्षर पटेल, आर अश्विन, कागिसो रबडा, एनरिच नोर्तजे, प्रविन दुवे
बैंगलोरः देवदत्त पडिक्कल, जोस फिलिप, विराट कोहली, एबी डिबिलियर्स, शिवम दुवे, क्रिस मोरिस, गुरकिरत सिंह, वासिंटन सुन्दर, नवदिप शैनी, मोहम्मद सिरज, युजवेन्द्र चहल
यस्तो छ आईपीएल प्लेअफ फर्म्याट
आईपीएलमा प्लेअफको फर्म्याट विशेष किसिमको छ। जहाँ, शीर्षस्थानमा दुई टिमले आपसमा प्रतिस्पर्धा गर्नेछन्। यसलाई पहिलो क्वालिफायर भनिन्छ।
त्यस्तै, लिग चरणमा तेस्रो र चौथो स्थानमा भएका टिमले पनि आपसमा प्रतिस्पर्धा गर्नेछन्। यसलाई इलिमिनेटर भनिन्छ।
पहिलो क्वालिफायरमा विजयी हुने टिम सिधै फाइनलमा पुग्नेछ। तर इलिमिनेटरमा जितेको टिमले भने पहिलो क्वालिफायरमा पराजित भएको टिमसँग खेल्नुपर्ने हुन्छ। यसलाई दोस्रो क्वालिफायर भनिन्छ।
दोस्रो क्वालिफयरमा जित निकाल्ने टिम भने फाइनलमा पुग्छ। इलिमिनेटर र दोस्रो क्वालिफायरमा परातिज टिम आईपीएलबाट बाहिरिनेछ।
त्यसैले आज जित निकाल्ने टिमले प्लेअफमा मुम्बईसँग हारे पनि दोस्रो क्वालिफायर खेल्न पाउनेछन्। उसलाई फाइनल पुग्न दुई खेलको विकल्प हुनेछ तर पराजित टिमलाई यो सुविधा उपलब्ध हुने छैन।