राजनीतिक दलसम्बन्धी अध्यादेशविरूद्ध अन्तरिम आदेश अस्वीकार
सरकारले जारी गरेको राजनीतिक दलसम्बन्धी अध्यादेशविरूद्ध दायर भएका रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको संवैधानिक इजलासले कारण देखाउ आदेश र लिखित जवाफ माग्दै तत्काल अन्तरिम आदेश नहुने भनेको हो। सर्वोच्चले अध्यादेशको औचित्यबारे जवाफ दिन सबै विपक्षीहरुका नाममा आदेश जारी गरेको हो। शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको अध्यादेशको बलमा एमाले र जनता समाजवादी पार्टी विभाजित भएको थियो। अध्यादेशमा केन्द्रीय कमिटिमा २० प्रतिशत वा संसदीय दलमा २० प्रतिशत सांसद् पुर्याएर पार्टी विभाजन गर्न सकिने प्रावधान छ।
उक्त अध्यादेशविरुद्ध अधिवक्ता अर्जुनकुमार अर्याल, सकुन्तला भुसाल, निवेश लम्साल, अनुपा अर्याल, प्रवेश केसी, श्रीकान्त बराललगायतले भदौ ४ गते रिट दायर गरेका थिए। दायर रिट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइ भएको थियो।
प्रधानन्यायाधीशको मुद्दामा एमिकस क्युरी नै अनुपस्थित
एमिकस क्युरीनै उपस्थित नभएपछि संवैधानिक इजलासमा प्रधानन्यायाधीश अनिवार्य हुने कि नहुने विवाद सम्बन्धिको मुद्दा सुनुवाइ प्रभावित भएको छ।
नेपाल बारले बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ र शेरबहादुर केसीलाई एमिकस क्युरीको रुपमा तोकेको थियो। त्यस्तै सर्वोच्च बारले अध्यक्ष पूर्णमान शाक्य र रविनारायण खनाललाई तोकेको थियो। तर उनीहरु नै उपस्थित नभएपछि मुद्दामा संयुक्त इजलासले अन्य आदेश गर्दै अर्को पेसीका लागि सारेको छ। शुक्रबार न्यायाधीश प्रकाशकुमार ढुङ्गाना र मनोज शर्माको इजलासमा पसी तोकिएको थियो।
संवैधानिक परिषद् सम्बन्धी अध्यादेश विवादको मुद्दाको सुनुवाइमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा अलग हुनुपर्ने र नपर्ने विवाद केही समयदेखि चलिरहेको छ। शुक्रबारको सुनुवाइले यो विवादमा निकास दिने आस गरिएपछि ’अन्य आदेश’ भएपछि केही समय लम्बिने देखिएको छ। यो सुनुवाइ सरेपछि मुद्दा केही दिन धकेलिएको छ। यो मुद्दाको किनारा नलाग्दा ५२ संवैधानिक निकायमा नियुक्त भएका पदाधिकारीको मुद्दा सुनुवाइ हुने छैन।
कांग्रेसको दाबी : महाधिवेशन सर्दैन
सत्तारुढ दल नेपाली काँग्रेसले पार्टीको १४ औं महाधिवेशनको मिति नसर्ने स्पष्ट पारेको छ। शुक्रबार सिंहदरवारस्थित पार्टी संसदीय दलको बैठकमा बसेको पार्टी पदाधिकारी बैठकले पार्टीको केन्द्रिय महाधिवेशन मंसीर ९ गते देखि १३ गतेसम्म तोकिएकै मितिमा हुने प्रष्टयाएको हो। बैठकले केन्द्रिय महाधिवेशनको मिति सार्ने प्रस्ताव पार्टीका कुनै पनि पदाधिकारीले नगरेको पनि जानकारी गराएको छ।
बैठकले भोली ९ गते शनिबार निर्धारित समयमै पार्टीको पालिका स्तरीय अधिवेशन हुने र त्यसलाई सफलतापूर्वक सम्पन्न गराउन पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरेको छ। हिमाली जिल्लालगायत कतिपय जिल्लामा पालिका स्तरीय अधिवेशनको मिति सार्नुपर्ने अवस्था आएमा पार्टी जिल्ला कार्य समितिको भावना अनुसार केन्द्रिय निर्वाचन समितिबाट अनूमति लिएर गर्न सक्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता शर्माले जानकारी दिए।
बैठकले बाँकी रहेका १३ जिल्लाको क्रियाशील सदस्यता सम्बन्धि विवाद तत्काल समाधान गर्ने निर्णय पनि गरेको छ। प्रवक्ता शर्माका अनुसार पार्टीको महाधिवेशनका लागि आवश्यक संगठनात्मक प्रतिवेदन, राजनीतिक प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा महाधिवेशनको प्रचारका लागि आवश्यक निर्णय लिन छिट्टै केन्द्रिय समितिको बैठक बस्ने तयारी भएको छ।
एमाले विधान महाधिवेशनको प्रस्ताव तयार गर्न १० समूहमा छलफल
नेकपा एमालेले पार्टीको विधान महाधिवेशनमा पेस गर्ने प्रतिवेदनको मस्यौदामाथि माथि छलफल गर्न १० वटा समूह निर्माण गरेको छ।
शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको केन्द्रिय कमिटी बैठकले विधान महाधिवेशनमा पेस गरिने तीन प्रतिवेदनमाथि छलफल गर्न १० वटा समूह निर्माण गरेको हो। बैठकपछि पार्टीका प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठकमा प्रस्तुत भएका तीन प्रतिवेदन राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रतिवेदन र विधान संसोधन सम्बन्धी प्रतिवेदन सहित सुझावहरु केन्द्रिय कमिटी बैठकमा प्रस्तुत गरिएको जानकारी दिए। भट्टराईले प्रतिवेदनमाथि विभिन्न समूहहरुले शनिबार १ बजेसम्म अध्ययन गर्ने र १ बजे बस्ने केन्द्रिय कमिटीको बैठकमा आफ्ना सुझाव राख्ने बताए।
विभाग प्रमुख भट्टराईले शनिवार दिउँसो १ बजे बस्ने पार्टीको केन्द्रिय कमिटीको बैठकमा समूहगत नेताहरुले आफ्नो सुझाव दिएपछि प्रतिवेदन दस्तावेजहरुलाई परिमार्जन गरेर असोज १५ गते आयोजना हुने विधान राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने जानकारी दिए। एमालेको विधान महाधिवेशन आगामी असोज १५ गतेदेखि १७ गतेसम्म ललितपुरको गोदावरीस्थित सम्मेलन हलमा हुँदैछ।
प्रचण्डसँग चुनाव लड्न सक्छु : बादल
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता एवम् पूर्व गृहमन्त्री रामबहादुर थापा बादलले आफू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग चुनाव लडन तयार रहेको बताएका छन्।
नेता बादलले आगामी निर्वाचनमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्ने प्रतिक्रिया दिनु भयो। शुक्रबार चितवनको भरतपुरस्थित विमानस्थलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले पार्टीले निर्णय गरे आफू प्रचण्डसँग लड्न तयार रहेको बताए।
नेता बादलले प्रचण्ड पार्टी लाईन छाडेर राष्ट्रियता विरोधी, लोकतन्त्र विरोधी र मुलुकको समृद्धिको विरोधी लाईनमा लागेको आरोप समेत लगाए। उनले सभामुख अग्नीप्रसाद सापकोटा पार्टी कार्यकर्ताको भूमिकामा उभिएकाले आफ्नो पार्टीले विरोध गर्नु परेको पनि स्पष्ट पारे। उनले आफ्नो पार्टी एमसीसीलाई परिमार्जनसहित पारित गर्नुपर्छ भन्ने मान्यतामा अडिग रहेको पनि बताए।
समाज कल्याणका पदाधिकारीको सामूहिक राजीनामा
समाज कल्याण परिषदका उपाध्यक्षसहितका पदाधिकारीहरुले पदबाट सामूहिक राजीनामा दिएका छन्।
परिषदका उपाध्यक्ष डा. पदमप्रसाद खतिवडा, कोषाध्यक्ष लोकनाथ सुवेदी, सदस्य सचिव पुष्कर खातीलगायतका बोर्ड सदस्यहरुले शुक्रबार पत्रकार सम्मेलन गरी आफूहरुले पदबाट सामूहिक राजीनामा दिएको जानकारी गराएका हुन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समेत नेतृत्व लिनु भएका परिषदका अध्यक्ष प्रधानमन्त्री शेरबहादुर देउवाले परिषदको बजेट पास गर्न नदिएको र केपी ओली नेतृत्वको सरकारको पालामा नियुक्त भएका परिषदमा कार्यरत अस्थायी, ज्यालादारी र करारका कर्मचारीको मात्रै म्याद थप गर्न नदिएपछि आफूहरुले पदबाट दिनु परेको परिषदका सदस्य सचिव खातीले बताए।
शुक्रबार बिहानै प्रधानमन्त्री देउवालाईसामूहिक रुपमा राजीनामा बुझाएका उनीहरुले आफनो १४ महिने कार्यकालमा महत्वपूर्ण काम गरेको दाबी गरे। परिषदका उपाध्यक्ष खतिवडाले सामाजिक उद्यमशीलता कोषको स्थापना गरी त्यसैमार्फत् उद्यमशीलताको विकास गरेर मुलुकलाई समृद्ध बनाउने दिशामा आफूहरुले महत्वपूर्ण काम अघि बढाएको बताए।
खतिवडाले आफूहरुले परिषदलाई विधिसम्मत ढंगले अघि बढाउन खोज्दा पनि सरकारले नदिएको भन्दै आक्रोश समेत व्यक्त गरे। आफूहरुमाथि वर्तमान सरकारले राजनीतिक प्रतिशोध लिएकाले पनि राजीनामा दिनु परेको परिषदका पदाधिकारीहरुको आरोप छ।
टीकाको साइत १० बजेर २ मिनेटमा
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैँमा टीकाको उत्तम साइत २९ गते बिहान १० बजेर २ मिनेटमा हुने सार्वजनिक गरेको छ।
समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले दसैँसम्बन्धी विभिन्न साइत सार्वजनिक गर्दै यस्तो बताएका हुन्। असोज २१ गते बिहीबार घटस्थापना गर्ने ११:४६ मा रहेको उनले बताए। उनका अनुसार घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११:४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ।
यद्यपि दसैँको टीका दिनभर लगाउन सकिने समेत समितिले बताएको छ। टीका लगाउने मानिस पूर्व फर्किएर कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ। आश्विन शुक्ल पूर्णिमाका दिन कात्तिक २ गते कोजाग्रत पूर्णिमा परेको छ।
दसैँमा बढी भाडा लिन पाइन्न : विभाग
यायायात व्यवस्था विभागले दसैँको समयमा थप भाडा लिन नपाइने र लिइएको पाइएमा कारबाही गरिने चेतावनी दिएको छ।
विभागले २०७८ असार २७ गते समायोजन भएको भाडा नै दसैमा पनि कायम हुने जानकारी दिएको हो। असार २७ गते सरकारले साविकको भाडादरमा १० प्रतिशत वृद्धि गरेको थियो। अध्ययन नगरी लामो समय निषेधाज्ञा जारी गरिएको समयमा भाडादर बढाइएको भन्दै त्यसबेला विरोध समेत भएको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तात्याग गर्नुपर्ने अवस्था आएकाले व्यापारीको स्वार्थमा हतारहतार भाडादर वृद्धि गरेको भन्दै सार्वजनिक रूपमा विरोध समेत भएको थियो। असार २९ गते ओली सर्वोच्चको आदेशअनुसार अपदस्थ भएका थिए।
२ महिनाको व्यापार घाटा २ खर्ब ७० अर्ब
चालु आर्थिक वर्षको पहिलो २ महिनामा नेपालको वैदेशिक व्यापार घाटा २ खर्ब ७० रुपैयाँ नाघेको छ। भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार भदौ महिनासम्म २ खर्ब ७० अर्ब ४७ करोड ७५ लाख १८ हजार रुपैयाँ नाघेको छ।
दुई महिना अवधिमा नेपालमा कुल आयात ३ खर्ब १४ अर्ब ५१ करोड ७१ लाख ९ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ। सोही समयमा नेपालको निर्यात भने आयातको तुलनामा न्यून रहेको छ। भदौसम्म ४४ अर्ब ३ करोड ९५ लाख ९१ हजार रुपैयाँको वस्तु विभिन्न मुलुकमा निर्यात भएको विभागको तथ्यांक छ।
दुई महिना अवधिमा कुल वैदेशिक व्यापार ३ खर्ब ५८ अर्ब ५५ करोड ६७ लाख रुपैयाँ बराबरको भएको छ। चालु आर्थिक वर्षको पहिलो दुई महिनामा भएको वैदेशिक व्यापार पोहोर साल सोही अवधिको तुलनामा ७९.९२ प्रतिशतले बढी हो। चालु आर्थिक वर्षको पहिलो २ महिनामा आयात ७५.८६ प्रतिशतले बढेको र निर्यात ११५.४३ प्रतिशतले बढेको भन्सार विभागले जानकारी दिएको छ।
१४७६ संक्रमित थपिए
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४७६ जनामा कोरोना भाइरस संक्रमण भएको छ। यस्तै ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै पछिल्लो २४ घण्टामा थप १५५० जना कोरोना संक्रमण मुक्त भएका छन्। नेपालमा आज २० हजार २८७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको विवरणमा उल्लेख छ। मन्त्रालयका अनुसार कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ८१ पुगेको छ। यस्तै सात लाख ५८ हजार ५०४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।
यस्तै शुक्रबारसम्म ६३ लाख ८० हजार ५८६ जनाले पहिलो मात्रा खोप लगाएका छन् भने पूर्ण मात्रा खोप लगाउनेको संख्या ५९ लाख ४६ हजार २२ छ।
दिल्लीमा गोली चल्दा तीन जनाको मृत्यु
भारतको राजधानी दिल्लीस्थित रोहिणी अदालत गाडि गोली चल्दा तीन जनाको ज्यान गएको छ। हतियारधारीले शुक्रबार चलाएको गोली लागेर ग्याङस्टर जितेन्द्रमान गोगीको मृत्यु भएको हो। यस्तै प्रहरीको जवाफी कारबाहीमा दुई आक्रमणकारी मारिएका छन्। आक्रमणमा एक महिला वकिलसहित तीन जना घाइते भएका छन्। आक्रमणकारीले वकिलको पोसाक लगाएका थिए। आक्रमण किन र कसले गर्यो भन्ने केही खुलेको छैन।
शनिबार सुरु हुँदै ईपीएल
बहुप्रतिक्षित एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चौथो संस्करण भोलि (शनिबार) देखि सुरु हुँदैछ। यसपालीको संस्करणमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त थुप्रै विदेशी क्रिकेटरहरुले भाग लिँदैछन्। कोरोनाभाइरसको महामारीले विश्वव्यापी लकडाउन नभएको भए ईपीएलको चौथो संस्करण झन् ‘धमाकेदार’ रुपमा दुई वर्षअघि नै सकिएको हुन्थ्यो।
तर, महामारीका कारण आयोजनाको अन्तिम घडीमा ईपीएल स्थगित भएको थियो। र्दु वर्ष अघि हुन नसकेको यसप्रतियोगितामा केही चर्चित अन्तर्राष्ट्रिय क्रिकेटरले सहभागिता जनाउँदैछन्। पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी, श्रीलंकाका उपल थरङ्गा, बंगलादेशका तमिम इकबाल लगायतका खेलाडीहरुलाई नेपाली दर्शकहरुले प्रत्यक्ष हेर्न पाउने भएका छन्। खेलका लागि त्रिवि क्रिकेट मैदान सिंगारिएको छ। तयारी पुरा भएको आयोजनकले जनाएको छ।
यसैबीच, किंग्स इलेभेन काठमाडौँले इपिएल खेल्ने टोलि र जर्सी सार्वजनिक गरेको छ। एभरेष्ट प्रिमियर लिग (इएपिएल) को चौथो संस्करणमा पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदीलाई समेटर बनाएको टोलिलाई शुक्रबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो। काठमाडौ आएका अफ्रिदीले शनिवार र सोमबार दुई खेल मात्र खेल्नेछन्।