बिहीबार, असोज ८, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • बिहीबार पनि मन्त्रिपरिषद् विस्तार, बालुवाटार जग्गा काण्डमा आफूलाई फसाइएको गच्छदारको दाबी [२०७८-६-६]

बिहीबार पनि मन्त्रिपरिषद् विस्तार, बालुवाटार जग्गा काण्डमा आफूलाई फसाइएको गच्छदारको दाबी [२०७८-६-६]

बुधबार पार्टी कार्यालयमा बसेको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले अध्यादेशका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको भन्दै भोलिसम्ममा मन्त्रिपरिषद् विस्तार हुने बताएका हुन्।
 |  बुधबार, असोज ६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज ६, २०७८

बिहीबार पनि मन्त्रिपरिषद् विस्तार

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस र माओवादी केन्द्रको कोटामा परेका मन्त्रीहरु थप गरेर भोलि मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। मन्त्रिपरिषद् विस्तारको तयारी भएको र भोलि नै दुई दलका मन्त्रीहरु समेटेर भएपनि मन्त्रिपरिषद् विस्तार हुने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जानकारी दिएका छन्।

बुधबार पार्टी कार्यालयमा बसेको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले अध्यादेशका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको भन्दै भोलिसम्ममा मन्त्रिपरिषद् विस्तार हुने बताएका हुन्। 

एकीकृत समाजवादी र जनता समाजवादीले केही दिनपछि मात्रै सरकारमा सहभागी हुने बताएसँगै दुई दलको भागमा परेका मन्त्रीहरु थपेर प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। माओवादी केन्द्रले आज बसेको स्थायी समितिको बैठकमार्फत आफ्नो तर्फबाट मन्त्री बन्नेहरुको नाम आज टुंगो लगाएको स्रोतले बताएको छ। यद्यपी नाम भने खुलेको छैन्। नेपाली कांग्रेस पनि मन्त्री छनोटमा जुटेको छ। 

हिजो बसेको सत्तारुढ दलको बैठकबाट सहमति गरेर प्रधानमन्त्री देउवाले परराष्ट्रमन्त्रीमा कांग्रेस नेता डा नारायण खड्कालाई नियुक्त गरेका थिए। असार २९ मा प्रधानमन्त्री बनेका देउवाले त्यसै दिन कांग्रेसबाट २ र माओवादीबाट २ जनालाई मन्त्री बनाएका थिए। त्यसपछि साउन १० गते उमेश श्रेष्ठलाई स्वास्थ्य राज्य मन्त्री बनाएका देउवाले आज मात्रै परराष्ट्र मन्त्रीमा कांग्रेस नेता खड्कालाई नियुक्त गरेका हुन्। अझै १६ मन्त्रालय नेतृत्वबिहिन छन्।

सबैको सहमतिमा परराष्ट्र नीति अघि बढ्छ : परराष्ट्रमन्त्री 

नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले राष्ट्रिय हितलाई केन्द्रमा राख्दै सबैको सहमतिमा मुलुकको परराष्ट्र नीति अघि बढाउने बताएका छन्। 

परराष्ट्र मन्त्रालय सिंहदरबारमा आज मन्त्री पदको कार्यभार सम्हाल्दै खड्काले आफू आजै संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जान लागेको बताए। राष्ट्रसंघीय महासभामा भाग लिन मन्त्री खड्कासहितको नेपाली डेलिगेसन टोली आजै बेलुका साढ ८ मा न्यूयोर्कतर्फ प्रस्थान गर्ने कार्यक्रम छ। राष्ट्रसंघमा नेपालको एजेन्डा प्रस्तुत गर्ने बताउँदै उनले त्यसबाहेक अन्य योजना त्यहाँ नरहेको उनले बताए। 

राष्ट्रसंघीय महासभामा भाग लिएर स्वदेश फर्किएपछि राजदूतहरु सिफारिस गर्ने समेत उनले जानकारी दिए। साझा हित हेरेर राजनुत छानिने उनको भनाइ छ। यस्तै एमसीसी लगायतका विषयमा भएका कुराहरुसहित यसले पार्न सक्ने प्रभावलाई अध्ययन गरेर अघि बढ्ने समेत उनले बताए। राष्ट्रपति विद्यादेवी भण्डारीले आजै खड्कालाई परराष्ट्रमन्त्रीको रुपमा सपथ खुवाएकी थिइन्।

माधव नेपालको प्रस्ताव पारित

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रस्ताव सुझावसहित पारित गरेको छ। मंगलबारबाट सुरु भएको सो पार्टीको केन्द्रीय समिति बैठकले अध्यक्ष नेपालको प्रस्ताव समूहगत छलफलपछि पारित गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। विभिन्न पाँच समूह बनाएर प्रतिवेदनमाथि छलफल भएको थियो।

समुह नं. १ बाट रामकुमार झाँक्री, समुह नं. २ बाट रामचन्द्र शाह, ३ बाट रमा आले, ४ बाट श्रीप्रसाद साह र ५ बाट दिनेश राईले राजनीतिक प्रतिवेदनमाथि आफ्नो समुहले गरेको छलफलको निष्कर्ष प्रस्तुत गरेका थिए। बैठकमा जनताको बहुदलीय जनवादको सम्बन्धमा उठेका प्रश्नहरुको जवाफ दिदै अध्यक्ष माधवकुमार नेपालले बैठकमा अध्यक्ष नेपालले एमालेले जबजलाई कुरूप र विकृत बनाएकाले त्यसको सारभूत लक्ष्यलाई पक्रँदै जाने बताएका थिए। 

बैठक भोलि बिहीबार पनि जारी रहनेछ। प्रचार विभाग प्रमुख खतिवडाका अनुसार भोलिको बैठकले तीन महिने कार्ययोजना पास गर्नुका साथै महासचिव समेत चयन गर्नेछ। साथै स्थायी समिति र पोलिटब्यूरो सदस्य समेत भोलिको बैठकले टुङ्गो लगाउने छ।

कांग्रेस अधिवेशन कार्यतालिका प्रभावित 

नेपाली काँग्रेसले विभिन्न तहका अधिवेशन तालिका परिवर्तन गर्ने भएको छ। बुधबार बसेको काँग्रेस पदाधिकारी बैठकमा प्रदेश, जिल्ला र संघीय अधिवेशन सार्न सहमति जुटेको वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए। पौडेलका अनुसार असोज नौ गतेबाट सुरु हुने भनिएको पालिका अधिवेशन दसैँअघि सक्ने र बाँकी अधिवेशन दसैँपछि गर्ने सहमति भएको हो।

यसअघि काँग्रेसले ९ गते पालिका, १२ गते प्रदेश निर्वाचन क्षेत्र, र १५ गते जिल्ला अधिवेशनसहित अन्य अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। योसँगै काँग्रेसको प्रदेश अधिवेशन पनि सर्ने देखिएको छ।  काँग्रेसले आगामी मंसिरमा गर्ने राष्ट्रिय महाधिवेशनअघि वडादेखि प्रदेशसम्मका अधिवेशन सक्नुपर्नेछ।

उता कांग्रेस उपसभापति विजयकुमार गच्छदारले ललिता निवास जग्गा प्रकरणमा आफूलाई प्रतिशोधपूर्ण ढंगले भ्रष्टाचारको आरोप लगाइएको दाबी गरेका छन्। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उपसभापति गच्छदारले आफूमाथि बालुवाटार स्थित ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा लगाउनु असान्दर्भिक रहेको बताएका हुन्। 

प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिहरुको निवास विस्तार गर्ने गुरुयोजना आफू मन्त्री हुनुभन्दा अगाडीदेखि नै प्रारम्भ भएको भन्दै तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशन अनुसार प्रक्रिया अगाडी बढाइ मन्त्रीपरिषद्ले सामुहिक निर्णय गरेको भएपनि आफूलाई पूर्वाग्रही रुपमा भ्रष्टाचारको मुद्धा चलाइएको उनको भनाइ छ। 

उपसभापति गच्छदारले नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार नबन्ने स्पष्ट पारे। उनले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबिच सौहार्दपूर्ण वातावरणमा मिलेर अगाडी बढ्नको निम्ति आफूले भुमिका निर्वाह गरेको बताए। आफूले नेपाली कांग्रेसको संगठनलाई बलियो बनाउनको निम्ति कांग्रेससँग एकिकरण गरेको भन्दै उनले कुनैपनि गुट वा समुहको पक्षमा वकालत नगर्ने बताए। 

उपसभापति गच्छदारले ललिता निवास जग्गा प्रकरणमा निष्पक्ष मुद्दा नचलाइ छानीछानी मुद्दा चलाइएको बताए। अरुलाई दलीय संरक्षण प्रदान गरी आफ्नो राजनीतिक चरित्र हत्या गर्ने षड्यन्त्र भएको उनको भनाइ छ।

सन् २०२२ मा आर्थिक वृद्धिदर ४.१ प्रतिशत : एडीबी

सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ। बैंकले बुधबार सार्वजनिक गरेको एसियाली मुलुकको आर्थिक प्रक्षेपणको अद्यावधिक प्रतिवेदनले सन् २०२२ मा ४.१ प्रतिशत हुने प्रक्षेपण गरेको हो। 

यसअघि सन् २०२१ मा २.३ प्रतिशत आर्थिक वृद्धिदर कामय हुने एडीबीले आकलन गरेको थियो। यता नेपाल सरकारले भने चालु आर्थिक वर्षमा ७ प्रतिशको आर्थिक वृद्धिको लक्ष्य राखेको छ। 

तर एसियाली विकास बैंकले भने कोरोना विरुद्धको खोपका तीव्र रुपमा लगाउन थालेपछि आर्थिक गतिविधि बढ्न थाल्ने तर सरकारको लक्ष्य भेटाउन गाह्रो पर्ने प्रक्षेपण गरको हो। त्यस्तै बैंकले चालु आर्थिक वर्षमा नेपालको मूल्य वृद्धिदर ५.२ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ। विश्वमा नै तेलको मूल्यमा आएको वृद्धिका कारण नेपालमा पनि मूल्यवृद्धि हुने विश्व बैंकले दाबी गरेको छ। 

क्यान्सर र मिर्गौला उपचारको व्यवस्थापन गर्न नसके ठूलो क्षति व्यहोर्नुपर्छ : राज्यमन्त्री श्रेष्ठ

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले किड्नी र क्यान्सरजस्ता रोगहरुको उपचारका लागि समयमै व्यवस्थापन गर्न नसके ठूलो महामारी व्यहोर्नुपर्ने बताएका छन्। बुधबार सिंहदरवारमा बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा राज्यमन्त्री श्रेष्ठले यस्तो बताएका हुन्। 

उनले नेपालमा प्रत्येक वर्ष ३ हजार मानिसको किड्नी फेल भएको विवरण आइरहेको भन्दै पाँच वटा मात्रै उपचार गर्ने अस्पताल भएकोले किड्नी ट्रान्सप्लान्ट गर्नका लागि पनि २ वर्षसम्म कुर्नुपर्ने बाध्यता रहेको बताए। उनले डाइलाईसिस गर्नका लागि आवश्यक्ता अनुसारको सर्भिस सेन्टर नपुगेको पनि जानकारी दिए। उनले जिल्लादेखि प्रदेशसम्म डाइलाईसिस सेन्टर बनाउनुपर्ने र यसलाई सर्वसुलभ बनाउनु पर्नेमा जोड दिए। ट्रान्सप्लान्ट र डाएलाईसिसमा ६ महिना भित्र ठूलो परिवर्तन हुने उनको दाबी छ। 

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले अहिलेसम्म नेपाललाई १ करोड ७७ लाख कोरोना विरुद्धको खोप प्राप्त भएको बताए। उनले ३ करोड ५९ लाख खोप आउने प्रबन्ध मिलाएको र आउने क्रममा रहेको जानकारी दिए। अहिलेसम्म ५६ लाख मानिसलाई पूर्ण खोप लगाइसकेको र ६२ लाख मानिसलाई पहिलो डोज लगाएको पनि जानकारी दिए। जम्मा जनसंख्याको १८ प्रतिशत भन्दा धेरैले कोरोनाविरुद्धको खोप लगाइसकेको राज्यमन्त्री श्रेष्ठको दाबी छ । 

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले अहिले स्वास्थ्यमा सबैभन्दा ठूलो खतरा बीमाबाट रहेको बताउँदै बीमा व्यवस्थित गर्न जरुरी रहेको बताए। राज्यको पैसाको स्वास्थ्य क्षेत्रमा दुरुपयोग भएको भन्दै त्यसलाई व्यवस्थापन गरेर अघि बढ्न जरुरी रहेको उनको भनाइ छ। 

सार्कका परराष्ट्रमन्त्रीको साइडलाइन वार्ता स्थगित 

संयुक्त राष्ट्रसंघको महासभा बैठकको क्रममा यो वर्ष दक्षिण एसियाली सहयोग संगठन (सार्क) का परराष्ट्रमन्त्रीहरुको साइडलाइन वार्ता नहुने भएको छ। 

वार्तामा अफगानिस्तानको प्रतिनिधित्वको विषयमा सदस्य मुलुकहरुबीच कुरा नमिल्दा बैठक नहुने भएको हो। सेप्टेम्बर २५ मा वार्ताको मिति तय भएपनि अहिलेलाई रद्ध गरिएको आयोजक मुलुक नेपालले अन्य मुलुकलाई जानकारी गराएको छ।

काठमाडौंस्थित सार्क सचिवालयले सबै मुलुकलाई बैठक रद्ध गरिएको जानकारी गराइसकेको स्रोतले बतायो। हरेक वर्ष हुने सो बैठकमा सार्कमा विद्यमान चुनौती र सहकार्यमा केन्द्रित हुने गरेको थियो। यस अगाडि भारत र पाकिस्तानको तनावको कारण कमजोर बनेको सार्कमा अब अफगानिस्तानको समस्या पनि थपिएको छ।

बेलायती प्रधानमन्त्री र अमेरिकी राष्ट्रपतिबीच भेटवार्ता

अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायती प्रधानमन्त्री बोरिस जोन्सनबीच ह्वाइटहाउसमा भेटवार्ता भएको छ। दुई नेताबीच जलवायु परिवर्तन, अस्ट्रेलियासँग भएको सुरक्षासम्बन्धी ओकस सम्झौतासहितका विषयमा कुराकानी भएको बताइएको छ। भेटमा व्यापारका मुद्दामा पनि छलफल भएको ठानिएको छ।

बेलायतले अमेरिकासँग व्यापार सम्झौताको तयारीमा रहेको बुझिएको छ। अमेरिकी राष्ट्रपति बाइडेनले बेलायतसँगको व्यापार सम्झौताबारे छलफल जारी रहेको बताइएको छ। युरोपियन युनियनबाट बाहिरिएको बेलायतले उत्तरी आयरल्याण्डसँगको शान्ति प्रक्रियामा कुनै असर नपार्न पनि बाइडेनले चेतावनी दिए। 

भिडियोमा हेर्नुहोस्

प्रकाशित: Sep 22, 2021| 19:55 बुधबार, असोज ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।