कोरोना भाइरस संक्रमणको हटस्पट अहिले काठमाडौं बनेको छ। केही समयअघि पर्सामा यस्तै स्थिति थियो। अहिले त्यहाँ संक्रमण दर निकै घटेको छ। यति हुँदाहुँदै पनि काठमाडौंपछि अहिले सबैभन्दा धेरै सक्रिय संक्रमित पर्सामा नै छन्।
जिल्लामा कोरोना संक्रमणको अवस्था, नियन्त्रणको प्रयास, क्वारेन्टिन तथा आइसोलेसन व्यवस्थापन आदिबारे नेपाल समयका बीपी अनमोलले पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङसँग कुराकानी गरेका छन्।
पर्सामा संक्रमणको अवस्था कस्तो छ अहिले ?
पर्सामा संक्रमितको संख्या २ हजार ४१४ पुगेको छ। मंगलबारमात्रै १३ जना संक्रमित थपिएका छन्। हालसम्म १ हजार ५८८ संक्रमणमुक्त भइसकेका छन्। ६२ जना अस्पताल भर्ना भएका छन्। १६ जना आईसीयूमा छन्। सक्रिय संक्रमितमध्ये गण्डक र वीरगन्ज हेल्थ केयरमा २५४ जना र अन्य सामुदायिक तथा होम आइसोलेसनमा छन्। अहिलेसम्म पर्सामा ४२ जना संक्रमितको मृत्यु भइसकेको छ।
हटस्पट भएको क्षेत्रमा अहिले संक्रमणको दर कम कसरी भयो ?
हामीले तीनवटा विधि अपनाएका छौं– परीक्षण, कन्ट्याक्ट टे«सिङ र उपचार। कोभिडको अवस्था जहाँ जस्तो भए पनि यी तीन विधिलाई रणनीतिक रुपमा हेर्नुपर्छ। यसमा पनि तीनवटा कुरा निषेध आदेश अन्तर्गत मानिसहरुको चहलपहल रोकेका छौं। संक्रमितको नजिकको सम्पर्कमा रहेका मानिसहरुको कन्ट्याक्ट टे«सिङ, केस अनुसन्धान, अस्पतालको क्षमता बढाउने काम गरेका छौं।
गण्डक अस्पताल, बीएससी, नारायणी अस्पताललाई प्रभावकारी बनाएका छौं। त्यति मात्रै होइन, हामीले निजी अस्पतालमा पनि कोभिड र ननकोभिड अस्पताल छुट्याएका छौं। सबै निजी अस्पतालको २० प्रतिशत हुन आउने संक्रमितको अवस्था हेरेर यहाँको आशारामलाई कोभिड अस्पताल बनाएका छौं।
संक्रमित कहाँ कसरी राख्ने गरिएको छ ? पर्याप्त छ व्यवस्था ?
नेशनल मेडिकल कलेजमा १७० बेड तयार अवस्थामा छन्। अन्य अस्पतालहरुमा ४६० बेडको उपचार कक्ष तयारी अवस्थामा राखेका छौं। उपचारकै लागि होम आइसोलेसनको मापदण्ड बनाइएको छ। लक्षण भएका बिरामीहरुलाई राख्नका लागि अस्पताल तयारी अवस्थामा छन्।
सामुदायिक आइसोलेसन तयार गरेका छौं। विद्यालय लगायत सार्वजनिक क्षेत्र हेरेका छौं। होटल पनि छन्। धर्मशाला तयार गरिएको छ। २ वटा विद्यालय, ३ वटा धर्मशाला र ५ वटा होटल छन्, जहाँ आइसोलेसन बनाइएको छ। ६८८ बेडको समुदाय आइसोलेसन बनाइएको छ। कोभिड–१९ मेडिकल टास्कफोर्स बनाइएको छ। त्यहाँ नेपाल प्रहरी र स्वास्थ्यकर्मी सहितको निगरानीको व्यवस्था गरेका छौं।
खुला सीमा कसरी व्यवस्थापन भइरहेको छ ?
पर्सासँग सीमा जोडिएको क्षेत्रमा ५ सयभन्दा कम संख्यामा नेपाल भित्रिने मानिसहरु छन्। १०७ किलोमिटर सीमा रहेको यहाँ अहिले १६ वटा बीओपी खटिएका छन्। नेपाल सरकारको निर्णय अनुसार भदौ मसान्तसम्म सीमा बन्द छ।
त्यसैले सबैलाई आवागमन बन्द गरिएको छ। एउटा मात्रै नाका तोकिएको छ, जहाँबाट नेपालीहरु औषधि उपचारका लागि भारत जान्छन्। नेपाल प्रवेश पूर्ण रुपमा रोकिएको छ। कोही लुकिछिपी आए हामी पक्राउ गरेर कारबाही गर्छौं। अनधिकृत आवागमन रोकेका छौं।
निषेध आदेश पनि जारी छ, यो प्रभावकारी भइरहेको छ?
हामीले निषेध आदेशसँगै यहाँका औद्योगिक क्षेत्रमा काम गर्नेहरुको उचित व्यवस्थापन गरेका छौं। संक्रमितहरुको व्यवस्थापनमा पनि ध्यान केन्द्रित गरेका छौं। नेपाली सेनासहितको कडा निषेध आदेश जारी गरिएको छ। अहिले संक्रमितको संख्या घटेकोे छ। कोभिड नियन्त्रणमा छ। १ साउनमा १ जनामात्रै संक्रमित थिए, त्यसपछि आउटब्रेक भएको थियो। अहिले हामीले चेनब्रेक गरेका छौं।
कसरी सम्भव भयो त चेन ब्रेक ?
परीक्षण, कन्ट्याक्ट टे«सिङ र उपचार। यी तीन विधि नै महत्वपूर्ण हुन्। हामीले मानिसहरुको चहलपहल रोक्न सफल भयौं। निषेध आदेश उल्लंघन गर्नेलाई कारबाही गरिएको छ। संक्रामक रोग ऐन २०२० दफा ३ को १ अनुसार दैनिक एक सय रुपैयाँ जरिवाना र एक महिना कैद जरिवाना गरेका छौं। दण्डात्मक नीति अबलम्बन गरेका छौं। ट्रेसिङको कामलाई दु्रत गतिमा अघि बढाएका छौं।
स्थानीय सरकार, नेपाल प्रहरी, स्वास्थ्यकर्मीको टोली परिचालन गरेर संक्रमितको व्यवस्थापन, औद्योगिक क्षेत्रको व्यवस्थापनलाई प्रभावकारी रुपमा अघि बढाइएको छ। शुरुवातमा ४९० नमुनामात्रै परीक्षण हुने गरेको थियो। अहिले मेसिन थपेर परीक्षणको दायरा बढाएका छौं। स्वास्थ्यकर्मीहरुको जनशक्ति पनि थपेर काम गरिरहेका छौं।
अस्पतालको काम परीक्षण र चिकित्सकीय सेवा हो। चिकित्सक सेवा अन्तर्गत ८ जना विशेषज्ञ चिकित्सक मन्त्रालयबाट हामीले पाएका छौं। परीक्षणको क्षमता र चिकित्सकीय क्षमता बढेपछि त्यसले पनि हामीलाई राम्रो गरेको छ। सवारी पास कहीँ पनि हामीले दिएनौं।
स्थानीय सरकार, प्रदेश सरकारको भूमिका कस्तो छ ?
प्रदेश सरकार र स्थानीय सरकारको समेत भरपुर सहयोग भएको छ। संघीय सरकारले पनि आवश्यक जनशक्ति पठाएर सहयोग गरेको छ। सबै क्षेत्रको सहयोगकै कारणले पनि हामी सफल भएका हौं। औद्योगिक क्षेत्रका मजदुर जो भारतीय छन्, उनीहरुबाट पनि समुदायमा संक्रमित बढेको हो कि भन्ने बुझेर उद्योगमा निगरानी नियमित गर्यौं। उद्योगलाई पनि जिम्मेवार बनायौं।
अहिले परीक्षणमा कसैले पनि पर्खिनु पर्दैन। हामीले अनलाइन मार्फत् तत्काल रिपोर्ट दिन्छौं। निजी क्षेत्रको पनि टास्कफोर्स गठन गरेका छौं। बिरामीलाई यताउता डुलाउने काम पनि हामीले रोकेका छौं। अहिले देखिएको संक्रमितको संख्या र हाम्रो तयारी हेर्दा हामी आउटब्रेक हुन दिदैनौं। चेनब्रेक भइसकेको छ।
आउटब्रेकको स्थिति आयो भने कसरी सम्हाल्नुहुन्छ ?
अहिले पनि पर्साका १४ वटा स्थानीय तहमध्ये वीरगन्ज महानगरपालिका नै सबैभन्दा धेरै संक्रमित भएको क्षेत्र हो। त्यसमा पनि केही वडाहरु छन्। तर, हामीले महानगरपालिकालाई नै हेर्ने हो भने पछिल्लो समय अरु पालिकालाई छोडेर वीरगन्जलाई नै केन्द्रित गर्यौं। हटस्पट भएको बेला मैले यहाँको सीडीओको जिम्मेवारी बहन गरेको हुँ।
अहिले ६२ जनामात्रै अस्पतालमा छन्। ४६० अस्पतालकै बेड छन्, आईसीयू छ, चिकित्सक छन्। सामुदायिक आइसोलेसन छन्। सबै हेरेर रणनीति लिएर नै ब्रेक गर्न सकिएको छ। सबैले यसरी नै काम गर्न सकियो भने नियन्त्रण गर्न सकिन्छ। कडा निषेध आदेश, स्मार्ट लकडाउन, दण्डनात्मक नीतिले नै रोक्न सकिने हो। लिभिङ विथ कोभिड विधि पनि अपनाउनुपर्छ।
स्थानीयले कतिको सहजीकरण गरिरहेका छन् ?
पर्साका मानिसहरु पनि निकै सहज छन्। निश्चित समय खाद्यवस्तु, तरकारी पसल खुलेका छन्। नागरिक, उद्योग वाणिज्य संघको सहभागितामा हामीले संयन्त्र बनाएर खटाएका छौं। सबैको सचेतनात्मक कार्यक्रमका कारण सफल भएका हौं। समुदाय–प्रहरी साझेदारी कार्यक्रमले अझ बढी सहयोग गरेको छ।
कुनैपनि अस्पताल कोभिड बनाउन सकिने अधिकार प्राप्त गरेका छौं। पीसीआर मेसिन खरिद प्रक्रियामा छौं। तत्काल परीक्षण गर्न सक्ने मेसिन हामी किन्दैछौं। ट्रेसिङ गरेर हामी ठूलो संख्यामा परीक्षण गर्ने तयारी गरिरहेका छौं।