मंगलबार, जेठ ८, २०८१
  • गृहपृष्ठ
  • संवाद
  • कोरोना नियन्त्रण गर्न संघीय सरकारले निर्देशन दिने र परिपत्र गर्नेबाहेक केही गरेन

कोरोना नियन्त्रण गर्न संघीय सरकारले निर्देशन दिने र परिपत्र गर्नेबाहेक केही गरेन

त्यतिखेर आवश्यक अध्ययन नगरेर हचुवाकै भरमा हामीले लकडाउन खोल्यौं। हामीले त्रुटि गरेकै कारण यो स्थिति आएको हो।
 |  बुधबार, भदौ १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १७, २०७७

काठमाडौं उपत्यका कोरोना संक्रमणको उच्च जोखिममा छ। प्रत्येक दिन नेपालमा पुष्टि हुने संक्रमितमध्ये सबैभन्दा धेरै उपत्यकामा नै छन्। अझ सबैभन्दा बढी काठमाडौंमा संक्रमित छन्।

triton college

उपत्यकामा संक्रमण रोकथाम र नियन्त्रणका लागि निषेध आदेश जारी गरिएको छ। तीनवटै जिल्लाका २ महानगरपालिका र १६ नगरपालिका रहेको उपत्यकाका मेयरहरुले निषेध आदेश थप कडाइ गर्न सुझाव दिएका छन्।

उपत्यकामा कोरोना संक्रमणको अवस्था, रोकथाम र नियन्त्रण कसरी भइरहेको छ भनेर बीपी अनमोलले उपत्यका नगरपालिका फोरमका सचिव एवम् मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठसँग कुराकानी गरेका छन्।

काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा कोरोना संक्रमणको अवस्था कस्तो छ?

उपत्यकामा अहिले संक्रमण तीव्र गतिमा भइरहेको छ। दिनप्रतिदिन रेकर्ड ब्रेक हुँदै गइरहेको छ। हरेक दिन संक्रमणको दर बढिरहेको छ। अहिलेको समग्र अवस्था हेर्ने हो भने उपत्यका क्षेत्रमा संक्रमण भयावह भइरहेको छ। यसलाई हामीले अत्यन्तै गम्भीरतापूर्वक लिएका छौं।

corrent noodles
Metro Mart

उपत्यकामा एकाएक संक्रमण कसरी बढ्यो त ?

साउन ७ मा लकडाउन खुलेपछि नाकाहरुमा कडाइ नगरी सार्वजनिक यातायात र मानिसको आवतजावत सहज बनाइयो। अहिले त्यसकै परिणाम देखिएको हो।

त्यतिखेर आवश्यक अध्ययन नगरेर हचुवाकै भरमा हामीले लकडाउन खोल्यौं। हामीले त्रुटि गरेकै कारण यो स्थिति आएको हो। बाहिरबाट मानिसहरुको प्रवेश उपत्यकामा भएपछि यहाँ अहिले संक्रमण तीव्र हुन पुगेको हाम्रो बुझाइ हो।

अहिले जारी निषेध आदेश अवधिमा पनि झनै संक्रमण बढ्यो नि, तपाईहरुले प्रभावकारी काम गर्न नसकेको हो ?

त्यसो त होइन। हामीले उपत्यकाको नाका सिल गरिसकेपछि जति जहाँ संक्रमित देखिएको छ, यो पीसीआर परीक्षणको दायरा बढाएकै कारणले भएको हो। यो दुई साताको अवधिमा व्यापक कन्ट्याक्ट ट्रेसिङ र टेस्टिङ गरेकै कारण अहिले धेरै संक्रमित भेटिएको अवस्था हो।

परीक्षण भएकै कारणले संक्रमण पुष्टि भएकाहरुलाई आइसोलेसनमा राखिएको हो। अझै ट्रेसिङको दर बढाएर टेस्टिङ गर्ने र उनीहरुलाई आइसोलेट गर्ने नै नीति हो हाम्रो। यो अवधिमा हामीले २८ हजार ५०० पीसीआर परीक्षण गर्ने भनेका थियौं, जसअन्तर्गत २५ हजारभन्दा बढी टे«सिङ भइसकेको छ।

उपत्यकामा संक्रमण रोकथाम र नियन्त्रणमा स्थानीय तह कत्तिको सक्रिय छन् ? संघ र प्रदेश सरकारको भूमिका कस्तो छ ?

अहिले संक्रमण रोकथाम र नियन्त्रणका लागि उपत्यकाभित्र जति पनि काम भएको छ, त्यो सबै स्थानीय तहले मात्रै गरिरहेको अवस्था छ। संघीय सरकारबाट निर्देशन दिने, परिपत्र पठाउने काममात्रै भइरहेको छ। फिल्डमा गएर गर्ने काम सबै स्थानीय तहले आफैं गरिरहेका छन्।

मेयर फोरमको बैठकले २८ हजार ५ सयको ट्रेसिङ गर्ने भनेको थियो। त्यसका लागि संघीय सरकारले केस अध्ययन र कन्ट्याक्ट ट्रेसिङका लागि २१ जना विज्ञहरुलाई १८ वटा नगरपालिकामा पठाएको छ। उहाँहरु आएर यसो गर्नुस् उसो गर्नुस् भनेर सुझाव दिनेबाहेक अन्य केही काम भएको छैन।

टेकुमा परीक्षण गरिदिने काम भएको छ। त्यसभन्दा मुनि कन्ट्याक्ट ट्रेसिङ गर्नेदेखि लिएर फिल्डमा खटिने काममा स्थानीय तहका स्वास्थ्यकर्मी र जनप्रतिनिधि नै खटिएका छन्। उपत्यकाका तीनवटा जिल्लामा त प्रदेश सरकारको उपस्थिति नै छैन भन्दा हुन्छ। टेलिभिजनमा देखिने र भाषणमा बाहेक कुनै भूमिका हामीले अहिलेसम्म देखेका छैनौं।

लामो समय लकडाउन भयो, अहिले फेरि निषेध आदेश लम्ब्याउँदै जाने हो भने दैनिक मजदुरी गरेर खाने वर्ग त ठूलो समस्यामा पर्छ नि होइन र ?

निश्चित रुपमा हामीले यस विषयमा पनि ध्यान दिएकै छौं। कलकारखाना र उद्योगमा मजदुरलाई काम लगाउने हो भने मालिकहरुले नै यो अवधिमा खाने–बस्ने व्यवस्था गर्नुपर्छ। तर, अन्य मजदुरहरुको हकमा भोकै बस्नुपर्ने अवस्था आउन दिनहुन्न भन्नेमा हामी सबै नगरपालिका सचेत छौं।

यसका लागि वडा तहबाट माग भएपछि राहत वितरण गर्दै आइरहेका छौं। पुनः एक हप्ता निषेध आदेश थपिए पनि भोकै रहने स्थिति आउँदैन। त्यसैले यो बीचमा दैनिक मजदुरी गर्ने वर्गको समस्या स्थानीय तहले हेरेर यो केही दिन कडा लकडाउन गर्नुपर्छ भनेर नै हामीले जिल्ला प्रशासन कार्यालयहरुलाई सुझाव दिएका छौं।

यो बीचमा आइसोलेसन र क्वारेन्टिन थपिने भनिएको थियो, के कति थपिए त ? आइसोलेसन बेडकै अभाव भइरहेको छ भनिन्छ नि ?

आइसोलेसन बेड नपाएको भनेर गुनासो गर्नेहरुले त गर्लान्। तर, मलाई लाग्छ, त्यस्तो छैन। हामीले पहिलो प्राथमिकता त घरमै उपयुक्त मापदण्ड पूरा हुने गरेर बस्न सक्ने भए होम आइसोलेसन बस्न भनेका छौं। तर, नमिल्नेहरुलाई हामीले आइसोलेसनमा लगिरहेका छौं। भक्तपुरकै कुरा गर्ने हो भने एकीकृत क्वारेन्टिन बनाउन लागिरहेका छौं।

खरिपाटीमा २ सय बेड तयार भइसकेको छ। काठमाडौं, ललितपुरमा पनि आइसोलेसन र क्वारेन्टिन वृद्धि भइरहेको छ। निजी अस्पतालहरु पनि सञ्चालनमा आएका छन्। हामीले उपत्यकामा विभिन्न क्षेत्रहरु पहिचान गरेर बढाउँदै लगिरहेका छौं।

निषेध आदेशमा अझै कडाइ गरेर ट्रेसिङ र टेस्टिङ बढाउनुपर्छ भन्न खोज्नुभएको हो ?

हो, हामीले ७ साउनमा लकडाउन समाप्त गर्यौं र अहिले यो परिणाम भोगिरहेका छौं। अहिले पनि हामीले पुनः गल्ती गर्न खोज्यौं भने स्थिति निकै भयावह हुन सक्छ। उपत्यकामा मानिसहरु भित्रिन त दिनु नै भएन।

भित्रिसकेकाहरुलाई पनि ट्रेसिङ र टेस्टिङ गर्न सकियो भने नियन्त्रण गर्न सकिन्छ। उपत्यकालाई जोगाउने हो भने अझै यो अवधिलाई एकदमै कडाइ गरेर जानुपर्छ। हामीले यति गर्न सकेनौं भने उपत्यकामा मृत्यु दर निकै बढ्ने देखिन्छ। र अवस्था नियन्त्रण बाहिर जान सक्छ।

(श्रेष्ठ उपत्यका नगरपालिका फोरमका सचिवसमेत हुन्)

 

प्रकाशित: Sep 02, 2020| 16:11 बुधबार, भदौ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

नेपालमा २०३५ सालसम्म मुटु रोगको समस्या थिएन। नेपालीको जीवनशैली निकै राम्रो थियो । तर, अहिले खासगरी खानपिन र व्यायाम गर्ने परिपाटीमा धेरै परिवर्तन भएको छ।
सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

तीन तहका सरकारबीच उचित समन्वय नहुँदा सेवा प्रवाहमा अन्योल देखिएको छ। गाउँगाउँमा सिंहदरबार पुगेको व्याख्या हुँदै आए पनि सिंहदरबारको समस्या प्रदेश र स्थानीय तहमा पनि...
शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

‘समयअनुरुप चुनौती बदलिँदै र जटिल बन्दै गएका छन्। अहिलेको प्रणाली र संविधानमाथि विभिन्न कोणबाट देखिएका चुनौती अनि विचलनको अवस्थाप्रति सजग रही प्रभावकारी ढंगबाट काम गर्न...
राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

नेकपा एमालेका तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन...
राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

सबैको चाहना निर्वाचनमा जाँदाकै गठबन्धन अगाडि बढ्नुपर्छ भन्ने छ। पाँच वर्ष सोही गठबन्धनले काम गर्नुपर्छ भन्ने उहाँहरूको चाहना भएकाले छिटोभन्दा छिटो पुरानै गठबन्धनले निरन्तरता पाउने...