बिहीबार, असोज ८, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • १४ सांसदको वैधानिकताबारे सर्वोच्चमा सुनुवाइ हुँदै, सुरु भो सोह्र श्राद्ध

१४ सांसदको वैधानिकताबारे सर्वोच्चमा सुनुवाइ हुँदै, सुरु भो सोह्र श्राद्ध

१४ जना सांसदमाथि कारबाही र माधवकुमार नेपाल नेतृत्वको पार्टी खारेज गर्न माग गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमाथि आज पनि सुनुवाई हुँदैछ।
 |  मंगलबार, असोज ५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ५, २०७८

काठमाडौं– १४ जना सांसदमाथि कारबाही र माधवकुमार नेपाल नेतृत्वको पार्टी खारेज गर्न माग गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमाथि आज पनि सुनुवाई हुँदैछ। 

न्यायाधीशद्वय दीपक कार्की र कुमार चुडालको संयुक्त इजलासमा सोमबार बहस हुँदाहुँदै समय सकिएपछि हेर्दा हेर्दैमा राखिएको थियो । आज उक्त मुद्दामा थप बहस हुने भएको हो। आज माधव नेपाल पक्षका कानुन व्यवसायीको बहस हुनुका साथै ओली पक्षका कानुन व्यवसायीले जवाफी बहस गर्ने छन्। आज हुने बहसपछि सर्वोच्चले आदेश गर्न सक्नेछ। ओलीले रिटमा माधवकुमार नेपालसहित १४ संघीय सांसद, सभामुख, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका २ प्रदेशसभा सदस्यलाई पदमुक्त गर्न माग गरेका छन्। 

नेकपा (एस) को पहिलो केन्द्रीय कमिटी बैठक आज

माधवकुमार नेपालको नेतृत्वमा नव गठित नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज बस्दैछ।

एमालेबाट विभाजति भएर बनेको एकिकृत समाजवादीको केन्द्रीय कमिटी बैठक पहिलो पटक बस्न लागेको हो। बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा दिउँसो २ बजे शुरू हुने बैठकमा देशभर संगठन विस्तारका लागि आवश्यक रणनीति तय गर्ने विषयमा छलफल हुने नेता जगन्नाथ खतिवडाले जानकारी दिए। बैठकमा १ सय १३ केन्द्रीय सदस्यको सहभागिता हुनेछ। नेता खतिवडाका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयसँगै सरकारलाई सफल बनाउन पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, सरकारमा सहभागिताको विषयमा समेत छलफल हुनेछ।

२० जिल्लामा वडा अधिवेशन हुँदै

नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन हुन बाँकी २० जिल्लामध्ये आज सात जिल्लामा अधिवेशन हुँदैछ। 

काठमाडौं, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, बाजुरा, कपिलवस्तु, बर्दिया र मोरङमा वडा अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए। पार्टीले २० जिल्लाको वडा अधिवेशन यही असोज ५ गते एकैदिन हुने गरी कार्यतालिका निर्धारण गरेको थियो। बाँकी १३ जिल्लाको क्रियाशील सदस्यता विवरण समयमै समितिलाई प्राप्त हुन नसकेका कारण ती जिल्लामा भने वडा अधिवेशन निर्धारित समयमा हुन नसकेको हो। कांग्रेसले यसअघि ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ।

सुरु भो सोह्र श्राद्ध

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी सुरु गरिँदैछ। 

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृ पक्ष एवं सोह्रश्राद्ध समेत भन्ने गरिएको हो। चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ।

मनसुन अझै सक्रिय

असोज लागेपनि सक्रिय रहेको मनसुनका कारण आज पनि देशका केही स्थानमा भारी वर्षा हुने भएको छ । 

मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल लुम्बिनी प्रदेशका केही स्थानहरु, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा भइरहेको छ । महाशाखाले आज देशभर सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका केही स्थानहरुमा र अन्य प्रदेशहरूका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । हाल मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा हल्का तल रहेको महाशाखाले जनाएको छ ।

हङकङसँग खेल्दै नेपाल

नेपाली महिला फुटबल टिमले आज एसियन कप महिला छनोटअन्तर्गतको क्वालिफायर राउन्डमा हङकङको सामना गर्ने भएको छ । 

नेपाली समयअनुसार दिउँसो पौने ४ बजे उज्वेकिस्तानमा हुने खेलमा नेपाल हङकङविरुद्ध जितको लक्ष्यका साथ मैदान उत्रने छ। नेपालले हङकङविरुद्ध ३२ वर्षपछि खेल्न लागेको हो। नेपालले यसअघि हङकङविरुद्ध दुई खेल खेलेकोमा दुबैमा हार बेहोरेको थियो। तसर्थ, आज नेपाली टिमलाई ती दुई खेलको बदला लिने अवसर हुनेछ। नेपाल सहित फिलिपिन्स र हङकङ रहेको समूह एफबाट जो विजेता हुन्छ उसैले मात्र एसियन कपमा छनोट खेल्न पाउने छ । 

प्रकाशित: Sep 21, 2021| 11:16 मंगलबार, असोज ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।