मंगलबार, जेठ ८, २०८१
  • गृहपृष्ठ
  • संवाद
  • 'अगाडि सटर लगाएर पछाडिबाट महँगोमा सामान बेच्नेलाई जेल हालिन्छ'

'अगाडि सटर लगाएर पछाडिबाट महँगोमा सामान बेच्नेलाई जेल हालिन्छ'

सरकारले गरेन भन्ने, परीक्षण दायरा बढाउनुपर्छ भन्ने अनि मानिसहरु सचेत नभइदिने ? यो त कम्मल ओढेर घ्यु खाने जस्तो कुरो भयो।
 |  सोमबार, भदौ ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ८, २०७७

केही दिनयता काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण बढिरहेको छ। समुदायस्तरमा नै संक्रमण फैलिसकेको विज्ञहरुले बताइरहेका छन्। संक्रमणको जोखिम बढ्दै गएपछि उपत्यकाका तीनवटै जिल्लामा ३ भदौ राति १२ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ।

triton college

संक्रमण रोकथाम र नियन्त्रणका लागि भन्दै गरिएको निषेधाज्ञाको आज सोमबार पाँचौ दिन हो। अहिलेसम्म निषेधाज्ञा के कति प्रभावकारी भएको छ, अझै थप हुन्छ वा के हुन्छ ? यिनै विषयमा रहेर सहकर्मी बीपी अनमोलले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालसँग कुराकानी गरेका छन्।

निषेधाज्ञा प्रभावकारी भइरहेको छ ?

निषेधाज्ञाको अवस्थाको निरन्तर अनुगमन गरिरहेका छौं। त्यसको हामीले समीक्षा पनि गरिरहेका छौं। सुधार गर्ने पाटो पनि देखिएको छ। मानिसहरु बिहान र बेलुका बाहिर निस्कने गरेको देखिएको छ। अहिले एक हप्ताका लागि जारी गरेको निषेध आदेशको खास उद्देश्य भनेकै मानिसहरुको चहलपहल रोक्ने हो। अत्यावश्यक बाहेक मानिसहरु ननिस्किउन् भन्ने हो। सुरुका दुई दिन मानिसहरुले त्यसलाई पालना गरेको देखियो।

तर, त्यसपछि अलि भीडभाड हुन थाल्यो भनेर सर्वसाधारणबाट नै गुनासो आएको छ। हामीले प्रहरीलाई त्यस्तो खालको भीडभाड हुन नदिन भनेका छौं। अटेरी गरेमा कानुनको दायरामा ल्याउन पनि भनेका छौं। समग्रमा निमिट्यान्नै पार्न पनि गाह्रो छ। सरकारी कार्यालय बन्द छैनन्, त्यहाँ कर्मचारी जानैपर्यो। बैंक, वित्तीय संस्थाहरुमा कर्मचारी जानैपर्छ। अत्यावश्यक सेवा सञ्चालन गर्नुपर्ने निकायहरु छन्। त्यसकारणले गर्दा अलिकति मानिसहरुको केही भिडभाड हुन्छ नै।

corrent noodles
Metro Mart

तर, त्यो भन्दा बाहेक मानिसहरु मर्निङ वाक गर्न जाने, इभिनिङ वाक गर्न जाने यस्ता खालका गतिविधि नगर्न अनुरोध गरेका पनि छौं। त्यस्तो गर्नेलाई निरुत्साहित गर्न र कानुनी दायरामा ल्याउनुपर्ने विषयमा ध्यान दिनुपर्ने देखिएको छ। हामीले तपाईंहरुकै हितका लागि हो भनेर अनुरोध गरेका छौं। अहिले संक्रमणको चेन ब्रेक गर्नकै लागि निषेधाज्ञा गरिएको हो।

नागरिक तहबाटै अनुरोध भएपछि हामीले अत्यावश्यक बाहेकका सबै बन्द गरेका हौं। यो प्रभावकारी बनाउने कुरा चुनौतीपूर्ण छ नै। यसमा सबैले साथ दिनु जरुरी देखिन्छ। समग्रमा अहिले जारी निषेधाज्ञा प्रभावकारी नै भइरहेको छ।

निषेधाज्ञा जारी गरिसकेपछि पनि संक्रमित थपिने क्रम त घटेको छैन त ?

मानिसहरुलाई हिँडडुल गर्न नदिने भनेको संक्रमणको दर घटाउने उद्देश्य नै हो। म संक्रमित छु र म घरमै बसेँ भने रोगसँग लड्ने क्षमताले गर्दा रोगमुक्त हुन सकिन्छ। तर, म संक्रमितको अवस्थामा नै बाहिर गएँ भने त अरुलाई पनि सर्छ। त्यसले गर्दा मानिसहरुलाई हामीले होल्ड गर्न खोजेको हो।

१२–१३ हजार परीक्षण गर्दा झण्डै एक हजारको हाराहारीमा संक्रमित भेटिइरहेका छन्। अहिले हामीले निषेधाज्ञा गरिसकेपछिको प्रभाव भनेको कम्तिमा एक हप्तापछि देखिन्छ। योबीचमा मानिसहरुको चहलपहल कम भएकाले यसको नतिजा अबको हप्तामा देखिन्छ नै।

मानिसहरुलाई घरभित्र थुनेर मात्रै राख्ने कि परीक्षण पनि बढाउने ?

यसमा स्वास्थ्य मन्त्रालय एकदमै सजग छ। अहिले दैनिक १३ हजारसम्मको नमुना परीक्षण भइरहेको छ। त्यही भएर नै हामीले मानिसहरु कम्तिमा १५ दिन घरभित्र बस्ने हो भने संक्रमणको दर कम हुन्छ भनेर नै निषेधाज्ञा गरेका हौं। मानिसहरुले आफ्नो लागि चाहिने खाद्यवस्तु लगायतका खानेकुरा हप्ता दिनलाई पुग्ने गरी किनेर घरभित्रै बसिदिने हो भने त सहज हुन्छ नि।

सरकारले गरेन भन्ने, परीक्षण दायरा बढाउनुपर्छ भन्ने अनि मानिसहरु सचेत नभइदिने ? यो त कम्मल ओढेर घ्यु खाने जस्तो कुरो भयो। फ्रन्टलाइनमा रहेर स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुले रातदिन नभनेर काम गरिरहेका छन्। यस्तो बेलामा नागरिकले अनावश्यक हिँडडुल गर्ने, लापरवाही गर्ने काम पनि भइरहेको छ।

नागरिक पनि त सचेत भइदिनुपरो नि। मर्निङ वाकका नाममा भीडभाड गरेर हिँड्ने, कुकुर डुलाएर हिँड्ने लगायतका काम मानिसहरुबाट भइरहेको छ। विज्ञहरुले जे भने पनि १५ दिन पूर्ण रुपमा घरभित्रै बसिदिने हो भने संक्रमणको जोखिम आफैँ कम भएर जान्छ।

अहिलेको निषेधाज्ञा बढ्न सक्छ ?

अब हामी अहिलेसम्मको अवस्थाको समीक्षा गर्छौं। विज्ञहरुको परामर्श लिएर त्यसलाई पनि आधार मानेर अघि बढ्ने हो। संक्रमण कम गर्ने हाम्रो जुन प्रयास छ, यसलाई गहन रुपमा समीक्षा गरेर निर्णय लिन्छौं। अहिलेको नतिजा हेरेर नै निर्णय हुन्छ। अहिले यो नै हुन्छ भनेर भन्न सकिने अवस्था रहेन।

फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अन्य पेशा व्यवसायीलाई दुर्व्यवहार गर्ने घटना भइरहेका छन्। यसमा प्रहरी प्रशासन किन संवेदनशील नबनेको ?

मैले यो विषयमा प्रहरीलाई प्रष्ट भनेको छु– जोकोही पनि संक्रमण रोकथाम र नियन्त्रणको काममा अवरोध गर्छ, पहिले ल्याएर थुन्ने अनि त्यसपछि मात्र उसको कुरा सुन्ने। बानेश्वरमा स्वास्थ्यकर्मीहरुमाथि दुर्व्यवहार भएको घटनामा पनि सहमति भइसकेको रहेछ। नत्र मैले थुनेर कारवाही गर्न भनेको थिएँ। सरकारले आइसोलेसन बनाएर संक्रमितहरुलाई राख्ने निर्णय गर्यो भने त्यसमा कसैले विरोध गर्न पाउँदैन।

भोलि सरकारले मेरै घरमा पनि संक्रमित राख्नुपर्छ भन्ने निर्णय गर्यो भने मैले नाइँ भन्न पाउँदिनँ। त्यसैले अब संक्रमण रोकथाम नियन्त्रणका लागि गर्ने काममा सल्लाह गर्ने, सहमति गर्ने भन्ने केही हुँदैन। कहाँ आवश्यक देखिन्छ, त्यहाँ लगेर मानिसहरु राख्ने हो। कसैलाई असर पर्ने भन्ने हुँदैन। बिनाकारण रोकथाम नियन्त्रणको काममा वाधा व्यवधान खडा गर्न जो खोज्छ, पहिले उसलाई थुनामा राखेर कारवाही हुन्छ।

अहिलेको महामारीको समयमा हामीलाई कसैसँग छलफल र सम्झौता गर्ने समय पनि हुँदैन। त्यसैले अब हामी यस्ता विरोधका कुराहरु सुन्दैनौं। पहिला थुन्छौं, त्यसपछि बल्ल कुरा सुन्ने हो। स्थानीय प्रशासन ऐन र संक्रामक रोग ऐन अन्तर्गत प्रमुख जिल्ला अधिकारीलाई दिएको अधिकार हो। अब हामी यो अधिकार अनुसार नै अघि बढ्ने हो। त्यसैले यस्ता विरोध गर्ने, अवरोध गर्ने, दुर्व्यवहार गर्ने खालका काम कोही कसैबाट नहोस् भन्ने अनुरोध पनि गर्न चाहन्छु।

निषेधाज्ञाकै बेला बजारमा कालोबजारी हुने गरेको छ। अहिले पनि कालोबजारी भइरहेको गुनासो आइरहेको छ। यसलाई नियन्त्रण गर्नका लागि स्थानीय प्रशासनले कसरी काम गरिरहेको छ ?

हामीले कालोबजारी, कृत्रिम अभाव हुन सक्ने विषयमा पनि अनुगमन गरिरहेका छौं। यस्तो नहोस् भनेर नै हामीले ढुवानीका साधनलाई निर्वाध सञ्चालन गर्न दिने भनेका छौं। खाद्यवस्तु, इन्धन आपूर्ति, औषधी लगायत निर्वाध आपूर्ति भइरहेकै छ। त्यसको लागि निश्चित समय तोकिएको छ।

अगाडि सटर लगाएर पछाडिबाट सामान महँगोमा बिक्री गर्ने मानिसहरु पनि हामीले फेला पारेका छौं। अहिलेको अवस्थामा पनि कालोबजारी गर्ने, कृत्रिम अभाव गर्नेलाई हामी जरिवानामात्र होइन, कालोबजारी ऐन अन्तर्गत कैदतर्फ जान्छौं। निर्मम रुपमा प्रस्तुत हुनुपर्ने देखिएको छ।

जरिवाना गर्छ छोडिहाल्छ नि भनेर मानिसहरुले यस्ता गतिविधि गरेको देखिएको छ। अब यसमा हामी कैद सजाय नै गरेर अघि बढ्छौं। यसमा हामी चनाखो भएरै लागेका छौं। मानिसहरुको प्रवृत्ति नै यस्तो बेलामा कमाउने देखिएको छ। विगतमा पनि यस्ता गतिविधि हुने गरेकै हुन्।

हरेक क्षेत्रमा सिभिल टोली परिचालन गरेका छौं। कसैले पनि कालोबजारी गर्ने, कृत्रिम अभाव गर्ने काम गर्दैछ वा त्यस्तो गर्ने मनसाय बनाएको छ भने सचेत हुनुस्। अब जेलमा हाल्ने बाहेक अर्को कुनै विषयमा हामी सोच्ने छैनौं। यस्तो बेलामा संक्रमणको जोखिमबाट बच्नुपर्ने बेला हो, सबैले सचेत हुनु जरुरी छ।

प्रकाशित: Aug 24, 2020| 10:00 सोमबार, भदौ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

नेपालमा २०३५ सालसम्म मुटु रोगको समस्या थिएन। नेपालीको जीवनशैली निकै राम्रो थियो । तर, अहिले खासगरी खानपिन र व्यायाम गर्ने परिपाटीमा धेरै परिवर्तन भएको छ।
सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

तीन तहका सरकारबीच उचित समन्वय नहुँदा सेवा प्रवाहमा अन्योल देखिएको छ। गाउँगाउँमा सिंहदरबार पुगेको व्याख्या हुँदै आए पनि सिंहदरबारको समस्या प्रदेश र स्थानीय तहमा पनि...
शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

‘समयअनुरुप चुनौती बदलिँदै र जटिल बन्दै गएका छन्। अहिलेको प्रणाली र संविधानमाथि विभिन्न कोणबाट देखिएका चुनौती अनि विचलनको अवस्थाप्रति सजग रही प्रभावकारी ढंगबाट काम गर्न...
राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

नेकपा एमालेका तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन...
राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

सबैको चाहना निर्वाचनमा जाँदाकै गठबन्धन अगाडि बढ्नुपर्छ भन्ने छ। पाँच वर्ष सोही गठबन्धनले काम गर्नुपर्छ भन्ने उहाँहरूको चाहना भएकाले छिटोभन्दा छिटो पुरानै गठबन्धनले निरन्तरता पाउने...