ललितपुरको बगलामुखी क्षेत्रमा केन्द्रबिन्दु भएर बुधबार अपराह्न ४ः३० मा भूकम्प गयो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.५ म्याग्निच्युटको कम्पन गोरखा भूकम्पकै परकम्प हो। यही विषयमा केन्द्रित भएर केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीसँग नेपाल समयका लागि मस्त केसीले गरेको टेलिफोन संवाद :
आजको भूकम्पलाई पनि राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले गोरखा भूकम्पकै परकम्प भन्यो। खासमा कति वर्षसम्म परकम्प भनिराख्ने हो?
परकम्प यति वर्षसम्म जान्छ भन्न सकिँदैन। ठूलो भूकम्प गएपछि उक्त क्षेत्रभित्र लामो समयसम्म परकम्प गइरहन्छन्। तर परकम्पको संख्या बिस्तारै घट्दै जान्छ। ०७२ मा दिनमै सयौं परकम्प जान्थे। त्यसपछि क्रमशः कम हुँदै गइरहेका छन्। त्यसमा कति हामीले महसुस गर्छौं, कति गर्देनौं। गोरखा भूकम्प लामो समयपछिको ठूलो भएकाले यसको परकम्प पनि केही वर्षसम्म रहन्छ। समयसीमा भन्न सकिँदैन।
आज (बुधबार) गएको परकम्प ३.५ म्याग्निच्युटडको हो। तर यसले ठूलो झड्का दियो नि?
मुख्य कुरा हामी भूकम्पको केन्द्रबिन्दुभन्दा कति नजिक छौं भन्ने हो। काठमाडौं उपत्यकाभर अझ बगलामुखी आसपासका मानिसले झन् बढी हल्लाएको महसुस गरे। तर काभ्रे वा धादिङका मानिसले यसको कम्पन थाहै पाएका छैनन् होला।
अर्को कुरा त्यसको गहिराइ भूसतहबाट कति छ भन्ने पनि हो। त्यस्तै केन्द्रबिन्दु भएको आसपासको भौगोलिक बनावटले पनि कम्पनमा फरक पर्छ। अन्य क्षेत्रमा जाने यत्ति नै म्याग्निच्युडको भूकम्पले यत्तिको धक्का नदिन सक्छ वा योभन्दा बढी हल्लाउन सक्छ।
कति टाढासम्म महसुस हुने धक्कालाई गोरखाको परकम्प भन्ने? अर्थात् यसको निश्चित दूरी कति होला?
२०७२ को गोरखा भूकम्प गएको ‘रप्चर’ भित्र जाने सबै परकम्प हुन्। परकम्प भनेकै उक्त भूकम्पभन्दा कम म्याग्निच्युडको धक्का हो।
३.५ म्याग्निच्युड बराबरको भूकम्प चितवन वा नवलपरासीमा गएको भए नयाँ भूकम्प हुन्थ्यो कि परकम्प?
२०७२ को भूकम्पको रप्चर गोरखा, नुवाकोट, काठमाडौं, सिन्धुपाल्चोक, दोलखा आसपास पर्छ। त्यसैले ०७२ पछि यस क्षेत्रमा भएका सबैखाले धक्कालाई राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले परकम्प भन्ने गरेको छ।
चितवन, नवलपरासी वा भनौं गोरखाभन्दा पश्चिममा गोरखा भूकम्पको रप्चर पर्दैन। अन्य क्षेत्रमा जाने साना–ठूला सबै नयाँ भूकम्प हुन्छन्। पश्चिम नेपालमा पनि ससाना भूकम्प गइरहेका हुन्छन्। तिनलाई केन्द्रले गोरखाको परकम्प मान्दैन।
कस्तो क्षेत्रलाई भूकम्प जोखिम क्षेत्र भन्न सकिन्छ? हाम्रो सन्दर्भमा कुनै त्यस्तो क्षेत्र बढी जोखिमयुक्त छ कि?
यसका लागि ठ्याक्कै यही मापदण्ड हुन् भन्ने आधार त छैन। बसोबासको अवस्था, सहरीकरणको इन्जिनियरिङ, भूबनोट आदिले निर्धारण गर्छ। अव्यवस्थित बसोबास र घना बस्ती भएका ठाउँ स्वतः जोखिम क्षेत्र हुन्।
असाध्यै भिरालो ठाउँ पनि बस्नका लागि उपयुक्त होइन। मुख्य कुरा घर बनाउँदा इन्जिनियरिङको मापदण्ड पूर्ण पालना गर्नुपर्यो। उक्त क्षेत्र बसोबास वा घर बनाउन उपयुक्त छ/छैन ख्याल गर्नुपर्यो। घर बनाउनुअघि अनिवार्य जमिन जाँच गराउनु नै भूकम्पबाट क्षति कम हुने उपाय हो।