एजेन्सी – च्याम्पियन्स लिग युरोपको शीर्ष फुटबल प्रतियोगिता हो। यसमा इंग्ल्यान्ड, स्पेन, इटाली र जर्मनीको शीर्ष डिभिजन फुटबल लिगका ४–४ टोली सीधै समूह चरणमा सहभागी हुन्छन् भने फ्रेन्च लिग वानको तीन टिम सहभागी बन्छन्।
त्यस्तै लिग वानको चौथो स्थानको टिमले तेस्रो चरणको च्याम्पियन्स लिग क्वालिफिकेसन खेल्न पाउँछ।
आइतबार राति भएका खेलसँगै इंग्लिस प्रिमियर लिग(ईपीएल)को सिजन सकिएसँगै अर्को वर्षको च्याम्पियन्स लिगमा जाने पाँच लिगका क्लबको टुंगो लागेको छ। यसका अलावा पोर्चुगलको दुई टिमको पनि निधो भइसकेको छ।
यसबाहेक अरु देशका क्लबले भने क्वालिफिकेसनको झन्झटिलो प्रकृया पार गरेर आउनु पर्छ।
यी हुन् युरोपियन शीर्ष ५ लिगबाट च्यम्पियन्स लिग खेल्ने टिमः
ईपीएलईपीएलमा च्याम्पियन बनेको लिभरपुलसँगै उपविजेता म्यानचेस्टर सिटी अर्को वर्षको च्याम्पियन्स लिगमा भाग लिन पाउने भएका छन्। त्यस्तै गएरातिको खेलमा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई २–० गोल अन्तरले हराएर च्याम्पियन्स लिगमा स्थान पक्का गर्दा चेल्सीले वुल्भ्सलाई हराएर शीर्ष चारमा पर्यो।
सिरी ए
सिरी ए मा गएरातिको खेलबाट च्याम्पियन हुँदै युभेन्टस अर्को वर्षको च्याम्पियन्स लिगमा परेको छ। त्यस्तै शीर्ष चारमा अँटाएका एटलान्टा, इन्टर मिलान र लाजियोले पनि युरोपका शीर्ष प्रतियोगिता खेल्ने छन्। सिरी एको प्रतियोगिता जारीनै रहेको भए तापनि शीर्ष चारको निक्र्यौल भइसकेको छ।
ला लिगा
२०१९–२० सिजनको च्याम्पियन बन्दै रियल मड्रिडले च्याम्पियन्स लिगमा स्थान बनायो। मड्रिडले सबैभन्दा धेरै(१३ पटक) च्याम्पियन्स लिग जितेको छ। जिनेदिन जिदानेको प्रशिक्षण यसले लगातार तीनपकटक उपाधि उचालिसकेको छ। साथै उपविजेता बनेको बार्सिलोनाका, एट्लेटिको मड्रिड र सेभियाले च्याम्पियन्स लिग खेल्ने छन्।
बुन्डेसलिगा
जमनीमा बायर्न लगातार आठौं पटक च्याम्पियन बन्यो। सबैभन्दा धेरै घरेलु लिग जितेपछि अब उसले अर्को वर्षको युरोपियन शीर्ष लिग खेल्ने छ। यता डर्टमुन्ड, आरबी लाइप्जिक र मोन्चेलग्लाडबाख पनि च्याम्पियन्स लिग खेल्ने टोलीमा छन्।
लिग वान
कोरोनाका कारण रद्द भएको लिगमा विजेता घोषित हुँदै पेरिस सेन्ट जर्मेन(पीएसजी)ले च्याम्पियन्स लिगमा स्थान बनाएको छ। त्यस्तै मासेल्ली र रेन्निस सीधा सहभागी हुँदा चोथो स्थानको लिल्ले तेस्रो क्वालिफाइङ राउन्डमा जानेछ।
च्याम्पियन्स लिगमा ३२ क्लब समावेस हुन्छन्। जसमा पोर्चुगलबाट सहभागी हुनेमा पोर्टो र बेनिफिका पनि छन्। यी क्लब पनि सिधै समूह चरणमा सहभागी हुन पाउने छन्।
रसियाबाट सहभागी तीन टिमले च्याम्पियन्स लिगमा क्वालिफिकेसन खेल खेल्न पाउने छन्। त्यस्तै युक्रेनबाट सहभागी बन्ने टिमले पनि क्वालिफिकेसन खेल्नुपर्ने हुन्छ।
युरोपेली फुटबलको सर्वोच्च निकाय युईएफएले ५५ देशको रेंक कोफिसेन्ट निर्धारण गरेको छ। जसमा स्पेन शीर्ष स्थानमा छ भने सान मरिनो अन्तिम स्थानमा छ।
रेंक कोफिसेन्टमा ७–१५ औं बरियता सम्मका देशका २–२ क्लबले च्याम्पियन्स लिगमा सहभागीता जनाउने प्रावधान रहेको छ। त्यस्तै १६–५५ औं बरियताका देशले १–१ टिम सहभागी गराउन पाउने छन्।