काठमाडौं – लकडाउन कोभिड– १९ अनलाइन भिडियो पुम्से च्याम्पियनसिपअन्तर्गत ब्ल्याकबेल्टमा नेपालले चार स्वर्ण, तीन रजत र १४ कांस्य पदक जितेको छ।
अन्तर्राष्ट्रिय खुलामैत्री तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) को आयोजनामा भएको खेलमा कमल श्रेष्ठ, पार्वती गुरुङ, निकुन गुरुङ र सरगम थापाले स्वर्ण पदक जितेका हुन्।
कमल र पार्वती १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पनि सहभागी थिए।
३० वर्ष उमेर समूहको विधामा कमल पहिलो बने। हस्तबहादुर तामाङले रजत तथा जितबहादुर बोट र प्रेमबहादुर लिम्बूले कांस्य पदक हात पारे। जित र प्रेम १३ औं सागका कांस्य विजेता हुन्।
महिला ३० वर्ष उमेर समूहको प्रतिस्पर्धामा पार्वती गुरुङ पहिलो भइन्। सञ्जिला तिमल्सिनाले कांस्य पदक जितिन्।
७ वर्षमुनिको इभेन्टमा नेपालका निकुन गुरुङले स्वर्ण जिते भने निकुन प्रतिद्वन्द्वीविहीन थिए। एब्सोलुट तेक्वान्दो डोजाङका निकुनले ४.७ स्कोर गरे।
महिला ९ वर्षमुनि विधामा सरगम थापा च्याम्पियन बनिन्। पुरुष ९ वर्षमुनि प्रज्ञान तामाङले रजत र करुण खाँड तथा आर्यन्सनजंग राणाले कांस्य पदक हात पारे।
एघार वर्षमुनिको इभेन्टअन्तर्गत पुरुषमा नेपालका हर्कबहादुर गुरुङ र महिलामा इसिका रानाले कांस्य पदक जिते।
महिला १४ वर्षमुनिको इभेन्टमा सन्ध्या लामालाई तेस्रो स्थान प्राप्त भयो। १७ वर्षमुनि पुरुषमा दीपेश गुरुङ र महिलामा मोनिका रम्तेलले कांंस्य पदक पाए।
४० वर्षको उमेर समूहमा पुरुषतर्फ सुरज श्रेष्ठ र महिलामा रेशमाया गुरुङले कांस्य पदक हात पारे भने ५० वर्षको इभेन्टमा मधुसूदन सापकोटा र पर्शुनाराण बाहेरा कांस्यमा सीमित भए। ६० वर्ष उमेर समूहमा फणीन्द्र खड्काले रजत हासिल गरे।
डेइडो, यूएसए, एभरेस्ट तेक्वान्दो संघ र युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन (यूयूएनटीएफ) को सहयोगमा भइरहेको प्रतियोगतामा पठाइएको श्रव्यदृश्यलाई विश्व तेक्वान्दो महासंघबाट मान्यता प्राप्त निर्णायक प्यानलले मूल्यांकन गरी नतिजा सार्वजनिक गरिएको हो।
आईओएफटीसीको मुख्य प्रतियोगिता अन्तर्राष्ट्रिय खुलामैत्री तेक्वान्दो च्याम्पियनसिप कोरोनाले स्थगित भएपछि खेलाडीको मनोबल कायम राख्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आइओएफटिसीका संस्थापक एवं प्रतियोगिता निर्देशक दिवाकर महर्जनले जनाएका छन्।
१३ औं संस्करण अमेरिकाको मिचिगनमा यसै वर्षको मे १ र २ तारिखमा हुने तालिका थियो।