हिजो (जुलाई २१)बाट एर्लिङ हाल्यान्ड २० वर्षका भए। अब उनी जुनियर खेलाडी रहेनन्। लगातारको ह्याट्रिकले चर्चाको शिखरमा पुगेका युवा स्टार अहिलेको फुटबलको ‘तातो आलु’ भन्दा फरक नपर्ला। गत जनवरीमा बुन्डेसलिगा क्लबमा आएका उनले जर्मन लिगको १५ खेलमा १३ गोल गरे भने च्याम्पियन्स लिगमा १० गोल।
कोरोना महामारीअघि पेरिस सेन्ट जर्मेन (पिएसजी)विरुद्ध गोल गरेर आफ्नो टिमलाई युरोपियन च्याम्पियन्स लिगअन्तर्गत नकआउट चरणमा पहिलो जित दिलाए। खेलको ७७ औं मिनेटमा दोस्रो गोल गर्दा उनले व्यक्तिगततर्फ लिगमा १० गोल पुर्याए। तर, दोस्रो लेगको खेलमा गोल गर्न चुके।
यद्यपि उनको सफलता विश्वमा नयाँ रेकर्ड बन्यो। त्यसबेलासम्म च्याम्पियन्स लिगमा कुनै टिनएज खेलाडीले एकै सिजनमा जोर अंकको गोल स्कोरिङ पुर्याउन सकेका थिएनन्।
१० वर्ष अघिबाट विश्व फुटबलमा लिड गरिरहेका फरवार्ड लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोले पनि बनाउन नसकेको रेकर्ड हाल्यान्डले बनाए। त्यसकारण भन्न सकिन्छ– उनी मेस्सी र रोनाल्डोलाई पछि पार्ने एक्ला टिनएजर हुन्।
हाल्यान्ड फुटबलका आक्रामक सम्पत्ति हुन्। उनको गोल स्कोरिङ क्षमता बुन्डेसलिगामा डेब्युबाटै सबैले थाहा पाए। त्यसअघि नर्वेमा रहँदाको उनको कहानी पनि कम चाखलाग्दो छैन। लगातारको ह्याट्रिकले उनको खेल कौशलबाट नलोभिने सायदै कोही होलान्।
त्यसैले अहिले फुटबलमा उनलाई ‘तातो आलु’ भनिएको हो। स्पेन र इंग्ल्यान्डका राम्रा क्लबहरुको आँखा उनीमाथि छ। विश्वका ठूला फुटबल कम्पनीहरुले उनको खेल नियालिरहेका छन्, विश्लेषण गरिरहेका छन्।
उनको खेलबाट स्पेनिस मिडिया मार्का र एमबीपी स्कुलले संयुक्तरुपमा यस्तो विश्लेषण गरेका छन्-
उनको खेलको महत्त्वपूर्ण पक्ष :
बक्समा क्रस गर्ने
स्ट्राइकर यसरी मुभ गर्छन् कि त्यसले पेनाल्टी क्षेत्रमा खाली ठाउँ बनाउन सकोस्। उनी आफ्नो क्षमताका साथ गतिको दिशा परिवर्तन गर्नुअघि प्रतिस्पर्धी टिमको डिफेन्डरलाई आफ्नो साथमा लिएर जान्छन्। र, अन्तिम समयमा पछाडिको बचेको ठाउँमा फर्कन्छन्।
उनले बनाएको त्यो ठाउँबाट फरवार्डले कि त पास उपलब्ध गराउँछन् कि क्रस गर्छन्। उनको यो विशेष खुबी उनलाई टिममा अुनबन्धन गराइराख्न उपयोगी सावित भएको छ।



आक्रमण चाल (अट्याकिङ मुभमेन्ट)
हाल्यान्ड आफ्नो प्रतिस्पर्धी रक्षक (डिफेन्डर)को पछाडिको खाली ठाउँमा खेल्न रमाउँछन्। र, त्यो ठाउँको फाइदा पनि लिन्छन्।
यो क्रमको चालबाट सफलता पाउन दुई कुरामा ध्यान पुर्याउनुपर्ने हुन्छ। पहिलो, उनले पछाडिको पास दिने ठाउँबाट पास उपलब्ध गराउँदा पाउने साथी पोजिसनमा छ/छैन हेर्नुपर्छ। दोस्रो, गोलकिपर र रक्षकबीच पर्याप्त खाली ठाउँ छ/छैन विचार गर्नुपर्छ। यति राम्रोसँग बुझ्न सकेमा मात्र उनको चालले सफलता पाउने सम्भावना रहन्छ।
उनको यो प्रयास उच्च लाइनबाट खेल्ने टिमविरुद्ध सबैभन्दा फाइदाजनक छ।



अझै बढी आक्रामक चाल
हाल्यान्ड उत्कृष्ट गोलकर्ता मात्र नभएर राम्रा गोल सहयोगी पनि हुन्। उनको चालमा ध्यान पुर्याउनुपर्ने दुई कुराको (माथि उल्लेखित) पहिलो बुँदा पनि यो कुरा बताइएको छ।
उनले डिफेन्डरलाई आफूसँगै लिएर जाँदा उनले आफूभन्दा राम्रो स्थानमा अर्का खेलाडी पाएमा सहजै पास उपलब्ध गराउँछन्। उनको यो शैली आक्रामक खेलाडीको लिंकअप गर्नका लागि सधैं सहयोगी हुन्छ।



दबाब (प्रेसिङ)
हाल्यान्डलाई अगाडि गएर क्लबको डिफेन्स गर्न नसक्ने भन्ने गरिएको छ। तर, बललाई कहिले र कहाँ दबाब दिने उनी चाल पाइहाल्छन्।
उनको यो क्षमताका कारण प्रतिस्पर्धीलाई दबाबमा राखिरहन सहयोग गर्छ।



विश्लेषणको सारांश
– डिफेन्डर्सलाई एकतर्फ डोहोर्याउँदै अन्तिम मिनेटमा दिशा परिवर्तन गर्ने।
– प्रतिस्पर्धी रक्षकको पछाडितिर दौडेर गोलकिपरसँग वान एन्ड वान अवस्था बनाउने।
– आफ्नो टिममेटलाई खाली ठाउँमा पठाउनु अघि त्यहाँबाट डिफेन्डरलाई हटाउने।
– बल गुडाउँदा कहाँ र कहिले दबाब बनाउनु पर्ने हो भन्ने कुराको राम्रो ज्ञान।
फुटबलमा हाल्यान्डको जन्म
१९ वर्षे हाल्यान्ड सन् २०२० को जनवरीमा जर्मन भित्रिए । त्यो समयमा उनलाई सानो उमेरका अन्तर्राष्ट्रिय फुटबलर भन्ने उपमा दिइयो। २०१६ बाट प्रोफेसनल फुटबलमा सुरु गरेका हाल्यान्डले एक वर्ष नर्वेजियन क्लब ब्रिनबाट खेले। १७ वर्षका भएपछि मोल्डे फुटबल क्लबमा आबद्ध भए।
मोल्डेमा ३९ खेलमा १४ गोल गरेर युवा अवस्थामै उत्कृष्ट खेल देखाएका हाल्यान्ड ०१९ मा रेड बुल सल्ज्बर्गमा अनुबन्धन भए।

सल्ज्बर्गमा रहँदा कौशलतामा पट्क्कै कमी आएन। बरु अझै राम्रो स्टेज पाए। र, निरन्तर खेलमा लागिरहे। लगातार गोलको संख्या बढाउँदै गए। १६ खेलमै १७ गोल गरे। पाँच खेलमा त ह्याट्रिक। पार्नडाफ, वुल्भसवर्ग, हर्थवर्ग, जेन्क, वुभ्सवर्ग र अगस्वर्गविरुद्धको खेलमा हाल्यान्डले ह्याट्रिक गरे।
१९ अगस्ट २०१८ मा अष्ट्रियन क्लब सल्ज्बर्गमा अनुबन्धन भएका उनले १ जनवरी २०१९ मा क्लब जोइन गरे, पाँच वर्षका लागि। सल्ज्बर्गबाट १९ जुलाईमा पार्नडोर्फविरुद्ध उनले पहिलो ह्याट्रिक गरेका थिए। सो खेल सल्ज्बर्गले ७–१ को गोल अन्तरले जितेको थियो। त्यसपछिको १० अगस्टमा वुल्भस्वर्गविरुद्धको जितमा पनि ह्याट्रिक गरे।
हाल्यान्डले तेस्रो ह्याट्रिक १४ सेप्टेम्बरमा हर्टवर्गविरुद्ध गरे। त्यो ह्याट्रिपछि ७ खेलमै ११ गोल गर्ने खेलाडीको रेकर्ड बनाए। तीन दिनपछि च्याम्पियन्स लिगको खेलमा जेन्कविरुद्ध ६–२ गोलअन्तरको जित निकाल्न पनि उनले ह्याट्रिक प्रहार गरे। त्यो उनको चौथो ह्याट्रिक थियो।

सल्ज्बर्गमा ५ वर्षको अनुबन्धन तोडेर जर्मन गएका उनले च्याम्पियन्स लिगको डेब्युमा ह्याट्रिकसँगै लिभरपुलविरुद्ध १ र नेपोलीविरुद्ध २ गोल गरे। जसकारण सुरुवाती तीन खेलमा ६ गोल गर्ने डर्टमुन्डका पहिलो खेलाडीसमेत बने।
च्याम्पियन्स लिगको लगातार पाँच खेलमा गोल गरेर ब्राजिलियन फरवार्ड नेयमार र पोर्चुगिज फुटबलर क्रिस्टियानो रोनाल्डोको रेकर्डलाई उनले पहिले नै बराबरी गरिसकेका थिए। त्यसपछि वुभ्सवर्ग र अगस्वर्गको खेलमा पनि ह्याट्रिकको सफलता पाए।
जनवरी विन्डोमा डर्टमुन्डमा भित्रिएका हाल्यान्डले यो वर्षको १८ जनवरीमा अगस्वर्गविरुद्ध ह्याट्रिक गरे। डर्टमुन्डबाट त्यो उनको डेब्यु खेल थियो। बोरुसिया डर्टमुन्डबाट डेब्यु खेलमै गोल गर्ने उनी दोस्रो खेलाडी हुन्। पहिलो पियर–इमिरिक अबुमयाङ हुन्। अबुमयाङ अहिले इंग्लिस क्लब आर्सनलमा छन्।
हाल्यान्डले पनि आफूलाई इंग्लिस फुटबल र लिग मन पर्ने बताउँदै आएका छन्। यता म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गुनार सोल्कजरले पनि उनीमाथि आँखा लगाइरहेका छन्। तर, हाल्यान्डले डर्टमुन्डसँग पाँच वर्षको सम्झौता गरिसकेका छन्। यद्यपि उनी प्रिमियर लिगमा जाने हुन कि भन्ने शंका जिवितै छ।
यता युनाइटेडका प्रशिक्षकले पनि उनलाई तीन वर्ष अघिबाटै नियालिरहेका छन्। सोल्कजरले नै उनलाई नर्वेको शीर्ष डिभिजन इलाइटेसिरियनमा ल्याएका थिए। हाल्यान्डले त्यहाँ सुरुका खेलमा राम्रो गर्न नसकेको भए पनि सोल्कजरले उनमा राम्रो सम्भावना देखेका थिए।