मंगलबार, जेठ ८, २०८१

पद्धति मिच्ने नेतृत्व धेरै टिक्दैन : भीम रावल

नीति, विधि, प्रणाली म मान्दिनँ भनेर कुनै व्यक्तिले भन्नुभयो भने वा कतैबाट आयो भने त्यो अनन्तकालसम्म यसैगरी चलिरहन्छ भनेर कसैले कल्पना गर्छ भने त्यो क्षणिक मात्र हो।
 |  बुधबार, जेठ २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २१, २०७७

नेकपा स्थायी समिति सदस्य भीम रावल वर्तमान सरकारमा पार्टीभित्रकै प्रतिपक्षीजस्तो भूमिकामा छन्। केही समयअघि सरकारले ल्याएको दुई विवादास्पद अध्यादेशको उनले खुलेरै विरोध गरेका थिए। पार्टीमा छलफल नै नगरी अध्यादेश ल्याएपछि रावलसहितका नेताहरुले स्थायी कमिटी बोलाउन माग गरेपछि वैशाख २५ गतेका लागि डाकिएको नेकपा स्थायी समिति बैठक स्थगित भयो। अब बैठक बस्ने टुंगो छैन। नेपाल सरकार र एमसीसीबीच भएकाे सम्झाैताकाे पनि रावलले तीव्र विराेध गरिरहेका छन्। पार्टी बैठकलगायत समसामयिक राजनीतिक विषयमा नेता रावलसँग नेपाल समयका लागि धिरज बस्नेतले गरेको कुराकानी :

triton college

नेकपाभित्र पार्टी प्रणाली कमजोर हुन थालेको हो?

हाम्रो पार्टी नेकपामा सामूहिक नेतृत्व निर्णय र व्यक्तिगत जिम्मेवारीको प्रणाली छैन। यसको अर्थ के हो भने हामीले बैठकबाट महत्त्वपूर्ण निर्णय गर्छौं र ती निर्णयलाई हामी जजसले जे जे कामको जिम्मेवारी लिएका हुन्छौं, त्यसलाई पूरा गर्छौं। तर केही समयदेखियता हाम्रो पार्टीको त्यो प्रणाली एकदमै कमजोर भएको छ।

विशेषगरी नेपालको संविधानको मर्ममा प्रभाव पार्ने दुई वटा विषयमा अध्यादेश जारी गर्ने कुरा हुँदा पनि पार्टीमा कुनै छलफल भएन। राजनीतिक दललाई विभाजन गर्न सक्ने जस्तो विगतमा हामीले अस्वीकार गरेको र रोक्न खोजेको कुरालाई पुनजीर्वित गर्न खोजिएपछि हामी स्थायी समितिका २० जना सदस्यले पार्टी विधानको धारा ४९ को ४ अनुसार तत्काल बैठक बोलाउन माग गर्यौं।

पार्टीको विधानको त्यो प्रावधानअनुसार पार्टीको बैठक अनिवार्य रुपमा हुनैपर्ने बाध्यात्मक व्यवस्था छ। तर बैठक तत्परताका साथ बोलाइएन। त्यसपछि बोलाइएको बैठक पनि यत्तिकै निहुँ बनाएर स्थगित गरियो। 

corrent noodles
Metro Mart

हाम्रो पार्टीको वैधानिक प्रणाली र संगठनात्मक सिद्धान्तअनुरुप हामीले विगतमा जसरी सशक्त पार्टी बनायौं, बैठक नबोलाउँदा ती सिद्धान्त र प्रणाली कमजोर हुने खतरा उत्पन्न भएको छ।

पार्टीमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली एकलौटी ढाँचामा अघि बढ्न खोज्नुभएको हो?

म यसलाई राजनीतिक रुपमा हेर्न चाहन्छु। कुनै पनि संगठन त्यसका नियम, कानुन र पद्धतिअनुसार सञ्चालन हुन छाड्यो भने अन्त्यमा त्यो संगठन नै विसर्जन हुन्छ। पार्टीको अध्यक्षजस्तो महत्त्वपूर्ण जिम्मेवारीमा बसेको कुनै पनि व्यक्तिले देशलाई एउटा निश्चित गन्तव्यमा पुर्याउन जहिलै संगठनको आधार बलियो बनाउनुपर्छ।

तर यस अवधिमा धेरै राष्ट्रिय महत्त्वका विषयमा छलफल नहुने जुन तरिका हामीले देख्यौं, यो नेकपाको भविष्यका लागि अत्यन्त चिन्ताको विषय हो। त्यस कारण म पुनः दोहोर्याउन चाहन्छु, २० जना स्थायी समितिका सदस्यहरुबाट पार्टीको बैठकको माग भइसकेपछि कुनै पनि जिम्मेवार नेतृत्वले तत्काल बैठक बोलाएर छलफल गर्न उचित हुन्थ्यो। अहिलेसम्म पनि बैठकको कुनै पनि तयारी वा खबर भएको मलाई जानकारी छैन।

अब तपाईंहरु सेलाउनुभएको हो?

हामी सेलाएका छैनौं। सेलाउने कुरै आउँदैन। तर हामी पार्टीको विधान प्रणाली, नीति, त्यसको मर्यादा, आदर्शबाट सञ्चालित हुने हो। हामीले यसलाई विधिवत् राख्यौं, भन्यौं। अब अहिलेसम्म बैठक बोलाइएको छैन। हामीलाई केही दिनअगाडि के भनियो भने अब सरकारले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बेला छ। बजेट प्रस्तुत गर्नुपर्ने बेला छ। यो संवैधानिक रुपमा नगरिनहुने काम भएकाले राज्य सञ्चालन प्रक्रियामा अप्ठ्यारो नहोस् भनेर मौनता साधेका मात्र हौं।

अब बजेट पनि प्रस्तुत भइसकेको छ। नीति तथा कार्यक्रम आइसकेको छ। नेतृत्वलाई त्यो निहुँ समाप्त भएको छ। हामी अपेक्षा गरिरहेका छौं, बैठक छिटो बोलाइयोस् भनेर। अहिले हाम्रा अगाडि थुप्रै राष्ट्रिय महत्त्वका विषयहरु छन्। अब पनि बैठक बोलाइएन भने हामीले त्यसबारे निःसन्देह गम्भीर रुपमा सोच्नेछौं । हामी यत्तिकै सेलाएर बसेका होइनौं।

स्थायी समितिको बैठक डाकिएन भने तपाईंहरुको कदम के हुनेछ?

म एक्लैले यस्तै कदम भनेर भन्ने कुरा भएन। तर हामी २० जना मात्र होइन, केन्द्रीय समितिका अत्यधिक ठूलो संख्याका सदस्यहरु, स्थायी समितिका सदस्यहरु, सचिवालयका नेताहरुसमेत हाम्रो पार्टीको विधान, पद्धति, प्रणाली, प्रक्रियाबमोजिम नियमित बैठक नहुनु, छलफल नहुनु, राष्ट्रिय महत्त्वका विषयमा पार्टीले निर्णय गरेर जाने अवस्था नहुनु जस्ता कुराबाट धेरै चिन्तित हुनुहुन्छ। 

यही स्थिति तन्किँदै गयो भने र पार्टी विधान, पद्धति, प्रक्रियामा अगाडि बढ्ने स्थिति बनेन भने यस्तै हुन्छ म भनेर म अहिले एक्लै भन्न सक्दिनँ। एउटा कुरा चाहिँ भन्न सक्छु- पार्टीको विधान, पद्धति, प्रक्रिया मिचेर धेरै समय अगाडि जान सकिँदैन।

पार्टी विभाजनसम्म जान सक्छ भन्नुभएको हो?

हैन, पार्टी विभाजन त हामीले रोक्यौं। अध्यादेशबाट पार्टी विभाजन हुने प्रकारका नियम कानुन ल्याउन लागिएको थियो, त्यसलाई रोक्यौं। अब पार्टी विभाजनको कुरा होइन, पार्टीलाई ठिक मार्गमा ल्याउन अवरोध गर्ने गतिविधिलाई रोक्ने हो।

नेतृत्वले नटेरेपछि तपाईंहरु मात्र कहिलेसम्म एकोहोरो बोलिरहने?

तपाईंले राजनीतिमा देख्नुभएकै छ, कति कति शक्तिशाली हुँ भन्ने व्यक्तिले नटेर्दा तिनीहरु टिकेनन्। कम्युनिस्ट पार्टी त नीति, विधि, प्रणाली, जनता र देशका लागि लडेर आएको पार्टी हो। यहाँभित्र नीति, विधि, प्रणाली म मान्दिनँ भनेर कुनै व्यक्तिले भन्नुभयो भने वा कतैबाट आयो भने त्यो अनन्तकालसम्म यसैगरी चलिरहन्छ भनेर कसैले कल्पना गर्छ भने त्यो क्षणिक मात्र हो।

परिस्थिति आयो भने ओलीलाई अध्यक्षबाटै हटाउने तयारीमा लाग्नुभएको हो?

हैन, त्यस्तो कुरा मैले भनेको हैन। पार्टीभित्र कसरी जाने के गर्ने भन्ने कुरा त कमिटीले गर्ने हो। मैले गर्ने हो र? तर एउटा निश्चित कुरा के हो भने पार्टीको विधान, पार्टीको राजनीतिक प्रतिवेदनमा स्थापित मान्यताहरु, त्यसको सिद्धान्त, संगठनात्मक प्रणाली मिचेर अनन्तकालसम्म गइन्छ भनेर कसैले सोच्नु हुँदैन।

प्रधानमन्त्री तपाईंहरुलाई पेलेर अगाडि बढ्न खोज्नुभएको हो त?

हामी पेलिएका छैनौं। हामी जिम्मेवार छौं। अहिले देशमा कोरोनाको महामारी चलिरहेका बेला सरकारले प्रभावकारी रुपमा काम गरोस्। विधि, प्रणाली, संविधानका मान्यता, स्वाधीनता, स्वतन्त्रता, अखण्डतालाई जोगाएर अगाडि बढाओस् भन्ने कुरालाई हामीले महत्त्व दिएका हौं।

यति लामो समयसम्म राजनीतिक संघर्ष गरेर आएका हामी विगतमा त पेलिएनौं भने अहिले पेलिने भन्ने औचित्यको कुरै होइन।

तपाईंहरुले विरोध गर्दै आएको एमसीसी त बजेटमै प्रवेश गरिसक्यो?

नेपाल सरकार र एमसीसीबीच भएको सम्झौता कार्यान्वयन गर्दै जाने, यसलाई नीति तथा कार्यक्रममा समेट्ने, बजेट विनियोजन गर्ने सर्वथा गलत हो भन्ने कुरा स्पष्ट भइसकेको छ। अनौपचारिक बैठकमा ती कुरा आइसकेका छन्।

एकातर्फ सरकारले खर्च घटाउने भन्ने अर्कोतर्फ सिंहदरबारमा रहेको एमसीसी नेपाल कार्यालय पाँचतारे होटलमा लगेर राखिएको छ। यस्ता गलत र अनुत्तरदायी क्रियाकलाप नियन्त्रण गर्नुपर्नेछ। बैठकमा यस्ता विषयमा छलफल नभएकै हो।

अहिले महामारीसँग जुध्नुपर्ने अवस्था छ। त्यसैले सरकारका गलत कार्यलाई सहन गरेर अलिकति सुझावमार्फत र सल्लाहमार्फत यसो नगरौं भनेर जानुको अर्थ हामी अनन्त कालसम्म पेलिरहन्छौं भन्ने कुरा साँचो होइन।

प्रकाशित: Jun 03, 2020| 11:05 बुधबार, जेठ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

नेपालमा २०३५ सालसम्म मुटु रोगको समस्या थिएन। नेपालीको जीवनशैली निकै राम्रो थियो । तर, अहिले खासगरी खानपिन र व्यायाम गर्ने परिपाटीमा धेरै परिवर्तन भएको छ।
सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

तीन तहका सरकारबीच उचित समन्वय नहुँदा सेवा प्रवाहमा अन्योल देखिएको छ। गाउँगाउँमा सिंहदरबार पुगेको व्याख्या हुँदै आए पनि सिंहदरबारको समस्या प्रदेश र स्थानीय तहमा पनि...
शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

‘समयअनुरुप चुनौती बदलिँदै र जटिल बन्दै गएका छन्। अहिलेको प्रणाली र संविधानमाथि विभिन्न कोणबाट देखिएका चुनौती अनि विचलनको अवस्थाप्रति सजग रही प्रभावकारी ढंगबाट काम गर्न...
राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

नेकपा एमालेका तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन...
राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

सबैको चाहना निर्वाचनमा जाँदाकै गठबन्धन अगाडि बढ्नुपर्छ भन्ने छ। पाँच वर्ष सोही गठबन्धनले काम गर्नुपर्छ भन्ने उहाँहरूको चाहना भएकाले छिटोभन्दा छिटो पुरानै गठबन्धनले निरन्तरता पाउने...