काठमाडौं- नेपाल भ्रमणमा रहेकी अमेरिकी सहयोग नियोग एमसीसीको उपाध्यक्ष फातिमा जेड सुमारले अर्थमन्त्री जनार्दन शर्मासँग भेटवार्ता गरेकी छन्। सिंहदरवारस्थित अर्थमन्त्री कार्यकक्षमा सुमार र शर्माबीच भेटवार्ता भएको हो।
लामो सयमदेखि एमसीसी विवादित भएपछि एमसीसी उपाध्यक्ष सुमार एमसीसी अनुमोदन गराउने वातावरण निर्माणका लागि बिहीबार नेपाल आइपुगेकी हुन्।
उनले प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका नेताहरू डा बाबुराम भट्टराई र उपेन्द्र यादव, प्रधानमन्त्री शेरबहादुर देउवा, ऊर्जामन्त्री पम्फा भुसालसँग पनि भेटवार्ता गरिसकेकी छन्।
भेटमा सत्तारुढ गठबन्धनका नेताहरूले समहतिमा अघि बढ्ने बताएका थिए भने ओलीले आफू सरकारमा भएका बेला प्रक्रिया अघि बढाउन खोजे पनि सफल हुन नसकेको सुमारलाई सुनाएका थिए।