काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले दिएको राजीनामा अस्वीकार गरेका छन्। बुधवार यादवले दिएको राजीनामा सभापति देउवाले शुक्रबार अस्वीकृत गरेको कांग्रेसले जानकारी दिएको छ।
‘कोभिड-१९ संक्रमणको कठिन परिस्थितिका बीच पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै पार्टीको १४औँ महाधिवेशनका लागि धेरै स्थानको अधिवेशन सम्पन्न गर्न उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएकोमा सह्राना गर्दै अधिवेशनका बाँकी कामहरु सम्पन्न गर्न अनुरोध गर्नु भएको छ,’ कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
कांग्रेसको क्रियाशील विवादले चरम रुप लिएपछि निर्वाचन समिति संयोजक यादवले राजीनामा दिएका थिए। सभापति पक्ष एकतर्फी रुपमा अघि बढ्न खोजेपछि यादवले राजीनामा दिएको बताइएको थियो।