धनगढी- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका ४८ वडाहरुमा शुक्रबार प्रहरी घेराभित्र रहेर अधिवेशन सम्पन्न गराइएको छ। क्रियाशील सदस्यता विवादका कारण नेपाली कांग्रेस डडेल्धुरा जिल्ला कार्यसमितिको बैठकले तत्कालका लागि अधिवेशन नगर्ने निर्णय गरेको भए पनि केन्द्रीय सभापति शेरबहादुर देउवा निकट जिल्ला सभापतिका उम्मेद्वार भीम साउँदको समूहले पेलेरै वडाधिवेशन गराएको छ। साउँद विभिन्न ठेक्का लिएर काम अलपत्र पार्ने ठेकेदारसमेत हुन्।
पर्शुराम नगरपालिकाका मेयरसमेत रहेका साउँदकै अगुवाइमा निर्वाचन अधिकृत लोकेन्द्रबबहादुर बमले जिल्लामा वडाधिवेशन गराएको लागेको जिल्ला सभापति कर्ण मल्ल समूहको आरोप छ। निर्वाचन अधिकृत बमका अनुसार डडेल्धुराका पाँच वडामध्ये सबैमा अधिवेशन सम्पन्न भएको छ। ५२ वडा रहेको जिल्लामा नवदुर्गा गाउँपालिकाको वडा नम्बर ५, गन्यापधुराको वडा नम्बर २, अजयमेरुको वडा नम्बर ३ र अमरगढीको वडा नम्बर ८ मध्ये सबै वडामा अधिवेशन सम्पन्न भएको बमले जानकारी दिएका छन्।
वडाधिवेशनका लागि व्यापकरुपमा प्रहरी परीचालन गरिएको थियो।
निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमका अनुसार जिल्लामा भएको अधिवेशनमा ३८ वडामा सर्वसम्मत भएको र १० वडामा निर्वाचन भएको छ। १० वटा वडामा साउँद समूहकै उम्मेदवारबीच प्रतिस्पर्धा भएको मल्ल समूहले जनाएको छ। उनले बाँकी रहेका वडामा शनिबार अधिवेशन हुनेसमेत जानकारी दिएका छन्।
जिल्लामा दुई नगरपालिका र ५ गाउँपालिका रहेका छन्। जिल्लाको अमरगढी नगरपालिकाको वडा नम्बर १ देखि ७ तथा वडा नम्बर १० र ११ मा सर्वसम्मत भएको छ भने वडा नम्बर ९ मा निर्वाचन र वडा नम्बर ८ मा शनिबारसम्म सर्वसहमतिमा टुंग्याउने निर्वाचन अधिकृत बमले बताए।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गन्यापधुरा गाउँपालिकाको वडा नम्बर १, ३, ४ र ५ मा सर्वसहमतिमा तथा वडा नम्बर २ मा शनिबार सम्पन्न हुने निर्वाचन अधिकृत बमले बताए।
निर्वाचन अधिकृत बमका अनुसार नवदुर्गा गाउँपालिकाको २, ३, ४ मा निर्वाचन भएको छ भने वडा नम्बर १ र ५ मा शनिबार हुनेछ । अजयमेरु गाउँपालिकाको वडा नम्बर १, २, ४ र ५ मा सर्वसहमति, वडा नम्बर ६ मा निर्वाचन भएको छ भने वडा नम्बर ३ मा शनिबार हुने निर्वाचन अधिकृत बमले बताए ।
निर्वाचन अधिकृत बमका अनुसार आलीताल गाउँपालिकामा रहेको ८ वटै वडामा सर्वसहमतिमै अधिवेशन सम्पन्न भएको छ । परशुराम नगरपालिकामा रहेका १२ वडामध्ये १, ४, ७, १०, १२ मा निर्वाचनपछि मतगणना भइरहेको छ भने २, ३, ५, ६, ८, ९ र ११ मा सर्वसहमति भएको छ । भागेश्वरमा रहेका ५ वटै वडामा सर्वसहमतिमा भएको छ ।
यता, नेपाली काँग्रेसका जिल्ला सभापति कर्ण मल्लले क्रियाशील सदस्यतामा भएको अवस्थामा सुरक्षाकर्मी परिचालन गरेर निर्वाचन सम्पन्न गराएको आरोप लगाएका छन्। मल्ल समूहले जिल्लाभरका वडामा भएको अधिवेशनका कार्यक्रमहरु बहिष्कार गर्दै मल्ल समूहका वडासभापति रहेको वडाहरुमा निर्वाचन स्थगित भएको विज्ञप्ति जारी गरेका छन्।
उनले नेपाली कांग्रेसजस्तो लाकतान्त्रिक पार्टीमा प्रहरी परीचालन गरेर आफ्नो जित सुनिश्चितता गर्नु लज्जास्पद रहेको बताए। उनले जिल्ला कार्य समितिले क्रियाशील सदस्यताका लागि पाँच हजार ८०४ जनाको नामावली पठाएकोमा छानबिन समितिले ४६० जनाको नाम हटाएर आफू अनुकूलका ३१२ जना थपिएको प्रति दु:ख व्यक्त गरेका छन्।