शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • अधिवेशन कार्यतालिका हेरफेरप्रति कांग्रेसका १२ नेताको आपत्ति, धर्नाप्रति ऐक्यबद्धता

अधिवेशन कार्यतालिका हेरफेरप्रति कांग्रेसका १२ नेताको आपत्ति, धर्नाप्रति ऐक्यबद्धता

मुस्लिम संघलगायतका भातृसंघ/संस्थाले केन्द्रीय कार्यालयमा जारी राखेको धर्नामा शुक्रबार विज्ञप्ति जारी गर्दै उनीहरूले ऐक्यबद्धता प्रकट गरेका हुन्।
 |  शुक्रबार, भदौ २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २५, २०७८

काठमाडौं- नेपाली कांग्रेसका १२ जना नेताहरूले अधिवेशन कार्यातलिका हेरफेर गरिएको प्रति आपत्ति जनाएका छन्। महाधिवेशनका कार्यतालिका प्रभावित गर्ने काम गरिएको भन्दै उनीहरू धर्नारत संघसंस्थाको मागप्रति पनि ऐक्यबद्धता जनाएका छन्। मुस्लिम संघलगायतका भातृसंघ/संस्थाले केन्द्रीय कार्यालयमा जारी राखेको धर्नामा शुक्रबार विज्ञप्ति जारी गर्दै उनीहरूले ऐक्यबद्धता प्रकट गरेका हुन्। 

५८ जिल्लामा अधिवेशन जारी भएपनि १९ जिल्लाको क्रियाशील सदस्यको सूची सार्वजनिक नगरिएको भन्दै तत्काल प्रकाशन गरी अधिवेशनका काम अघि बढाउन समेत उनीहरूले माग गरेका छन्। 

'देशभर एकैपटक शुरु हुने अधिवेशनको परम्परालाई खण्डित तुल्याइएको छ। अधिवेशनको आयोजनामा समेत विभेद भएको छ। पार्टी विधान र देशको संविधानमा उपलब्ध समयसीमा नाघ्दासमेत कतिपय जिल्लामा अधिवेशन शुरु हुन नसक्नु साच्चै दुखद् पक्ष हो,' विज्ञप्तिमा भनिएको छ। 

अधिवेशन तालिका संशोधनप्रति पनि उनीहरूको गम्भीर आपत्ति छ। विज्ञप्तिमा डा.चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गुरुराज घिमिरे, गगन थापा, बद्री पाण्डे, सरिता प्रसाईं, जीवन परियार, प्रदिप पौडेल, रामकृष्ण यादव र किरण यादवले हस्ताक्ष गरेका छन्। 

यस्तो छ विज्ञप्ति 

यतिबेला नेपाली कांग्रेस आफ्नो चोधौं महाधिवेशनको प्रक्रियामा सामेल छ।देशभरका ५८ जिल्लामाअधिवेशनका प्रक्रियाहरु जारी छन् तथापि  काठमाण्डौ,मोरंग लगायतका १९ जिल्लाको आजसम्म पनि कृयाशिल सदस्यको सुची सार्वजनिक गरिएको छैन र अधिवेशनको प्रक्रिया प्रारम्भ हुन सकेको छैन।यसले देशभर एकैपटक शुरुहुने अधिवेशनको परम्परालाई खण्डित तुल्याएको छ र अधिवेशनको आयोजनामा समेत बिभेद भएको  छ।पार्टी बिधान र देशको संविधानमा उपलब्ध समयसिमा नाघ्दा समेत कतिपय जिल्लामा अधिवेशन शुरु हुन नसक्नु साच्चै  दुखद पक्ष हो। 

यस्तै अधिवेशनका क्रममा अरु पनि घटनाक्रमहरु बिकसित हुन थालेका  छन् ।आज मात्रै अधिवेशन तालिका संशोधन गरि स्थानीय तहका अधिवेशन हरु पर सारिएको छ। यी सबैे घटनाक्रमप्रति  हाम्रो ध्यान गम्भीर रुपमा आकृष्ट भएको छ।यसै सन्दर्भमा निर्धारित समयमा चौधौं महाधिवेशनको सुनश्चितताकालागि  तपसिलका बिषयमा पार्टी नेतृत्वको ध्यानाकर्षण गराउन चाहान्छौं।

१.पार्टीको केन्द्रीय कार्यालय सानेपामा अधिवेशनको प्रकृया शुरु भैसक्दा पनि धर्ना ,अनसन चलिरहने अवस्थालाई सुखद घटनाको रुपमा लिन सकिदैन ।नेपाली कांग्रेस सबै नेपालीको साझा फूलबारी  भएकाले समानुपातिक प्रतिनिधित्वको माग गरिरहनु भएका साथीहरूको मागप्रति हाम्रो ऐक्यबद्धता  छ। यसको अबिलम्ब सम्बोधन होस्। 

२.डडेल्धुरा जिल्लामा विधि र प्रक्रिया बिपरित केन्द्रबाट थोपरिएका कृयाशिल सदस्यहरु खारेज गरि बिधिसम्मत रुपमा जिल्लाबाट पठाईएका कृयाशिल सदस्यहरुको नामावली कायम गरेर मात्र  अधिवेशनको प्रक्रिया सुचारु गरियोस् भन्ने माग गरिरहेको जिल्ला कार्यसमितिको आग्रह बमोज़िम  कार्यसमितिको सम्मतिमा  बिधिसम्मतजिल्ला अधिवेशन गराईनुपर्छ भन्ने हाम्रो आग्रह छ।

३.देशभर अधिवेशनको प्रकृया शुरु भईसक्दा पनि केही  जिल्लाको कृयाशिल सदस्यको सुची  प्रकाशित नभई वडा अधिवेशनको कार्यतालिका नैं प्रभावित हुन पुग्दा सम्बन्धित  जिल्लाका साथीहरूले गम्भीर मानसिक तनाव र पिडा झेल्नुपरिरहेको परिस्थितिलाई तुरुन्तै अन्त्य गरी अधिवेशनको प्रक्रिया सुचारु गर्न  बाँकी रहेका जिल्लाको कृयाशिल सदस्यहरुको नामावली अबिलम्व प्रकाशित गरि वडा अधिवेशन  सम्पन्न  गरियोस् ।

४.यसैबीच पार्टीको केन्द्रीय निर्वाचन समितीका संयोजक श्री महादेव प्रसाद यादवले दिनु भएको राजिनामाले महाधिवेशनको जारी  सम्पूर्ण  प्रकृया नैं अबरुद्द हुने त होइन ? भन्ने संशय बढाएको छ।साथै उहाँले बिभिन्न संचार माध्यममा दिनुभएको अभिव्यक्तिले  व्यक्तिको स्वतन्त्रता र मानव अधिकार माथि किन प्रहार हुदैछ भन्ने गम्भिर प्रश्न उठाएको छ।यसको तुरुन्त अन्त्य गरि महाधिवेशनको सुनिश्चितताको बिश्वसनियता कायम गरियोस् ।

५.उपरोक्त सबै घटनाक्रमहरु पार्टी नेतृत्वका घरेलु मामला होइनन् ,नेपाली कांग्रेसका झण्डै नौलाख सदस्यहरुका साझा मामला,चिन्ता र सरोकार हुन्।यी सबै बिषयहरु निरुपण गरि महाधिवेशन  तर्फ अग्रसर हुन ठोस छलफलको आवश्यकता भएकाले केन्द्रीय समितिको बैठक अबिलम्ब राखियोस्।

जय नेपाल!

१. डा.चन्द्र भण्डारी

२. धनराज गुरुङ 

३. कमला पन्त 

४. रत्ना शेरचन

५. गुरुराज घिमिरे

६. गगन थापा

७. बद्री पाण्डे

८. सरिता प्रसाईं

९. जीवन परियार 

१०. प्रदिप पौडेल

११. रामकृष्ण यादव

१२. किरण यादव

प्रकाशित: Sep 10, 2021| 21:04 शुक्रबार, भदौ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...