काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिका हेरफेर भएको छ। केन्द्रीय निर्वाचन समितिले शुक्रबार विज्ञप्ति जारी गरेर नयाँ कार्यतालिका सार्वजनिक गरेको हो। नयाँ कार्यतालिकाअनुसार वडा अधिवेशन असोज ५ गते हुनेछ। वडा अधिवेशन हुन नसकेका २० जिल्लामा असोज ५ गते गर्ने गरी नयाँ कार्यतालिका ल्याइएको छ।
यस्तै पालिका अधिवेशन असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १३ गते गर्ने गरी नयाँ कार्यतालिका ल्याइएको छ। प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन भएको जिल्ला अधिवेशन असोज १५ गते हुनेछ। एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ मा हुनेछ। प्रदेश अधिवेशन र केन्द्रीय अधिवेशनको मिति भने हेरफेर भएको छैन। प्रदेश अधिवेशन कात्तिक १० देखि १२ र केन्द्रीय अधिवेशन मंसिर ९ देखि १३ गतेसम्म हुने निर्वाचन समितिले जनाएको छ।