काठमाडौं– नेपाली कांग्रेसको पालिका तहको अधिवेशन सर्ने भएको छ। क्रियाशील विवाद नसुल्झिँदा २१ जिल्लामा वडा अधिवेशन हुन सकेको छैन।
सोही कारण भदौ २७ गते हुने भनिएको पालिका तहको अधिवेशन पर सार्ने तयारी कांग्रेसले गरेको छ। वरिष्ठ नेता रामचन्द्र पौडेलले सबै जिल्लामा वडा अधिवेशन सकिएपछि देशभर एकै मितिमा पालिका तहको अधिवेशन गर्ने प्रस्ताव राखेको थियो।
सोही प्रस्ताव अनुसार अधिवेशन सार्ने तयारी भएको एक नेताले जानकारी दिए। उनका अनुसार असाेज ५ गतेसम्म सबै जिल्लामा वडा अधिवेशन सक्ने र ९ गते पालिका अधिवेशन गर्ने गरी नयाँ कार्यतालिका ल्याउने तयारी भइरहेको छ।
विवादका कारण कार्यतालिका प्रभावित भएपछि जिल्ला अधिवेशन पनि सार्ने तयारी कांग्रेसले गरेको छ। कांग्रेसले मसिर ९ देखि १३ गतेसम्म गर्नेगरी १४ औं महाधिवेशनको कार्यतालिका ल्याएको छ।