काठमाडौं– नेपाल मजुदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी सम्झौता पारित गर्नु नेपाली जनताको लागि ‘विष सरह’ हुने टिप्पणी गरेका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसद सुवालले विश्वलाई नै दुःख दिने नियतका साथ आएको सो सम्झौताबारे दुविधामा नपर्न प्रतिनिधिसभाका सांसदहरुलाई आग्रह गरे।
नेपाल भ्रमणमा आएकी एमसीसी उपाध्यक्ष फातिमा सुमारप्रति संकेत गर्दै उनले अमेरिकी अधिकारीले सो सम्झौताको सम्बन्धमा सयथरी कुरा गरिरहेको र त्यस्ता कुरामा फस्न नहुने बताए।
सांसद सुवालले भने, ‘अमेरिकी साम्राज्यवादले संसारलाई दुःख दिने कुरा संसारका सबै जनतालाई थाहा भएकै कुरा हो। यो यथार्थ नेपाली जनताले पनि बुझिसकेका छन्। यो संघीय संसद्का सबै माननीयहरु दुविधामा पर्नु आवश्यक छैन। बूढो बाघले शिकार गर्न नसकेपछि चुरा देखाउने र झम्टने कथा हामी सबैलाई थाहा छ। विष भनी थाहा पाइकन खाए के हुन्छ? एमसीसी त्यही हो।’
सांसद सुवालले राष्ट्रघाती एमसीसी सम्झौताको विरोधमा प्रदर्शन गर्दा आफ्ना पार्टीका कार्यकर्तामाथि प्रहरीले दमन गरेको भन्दै सरकारको आलोचना पनि गरे।