काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको आज शुक्रबारको दोस्रो बैठक १५ मिनेटका लागि स्थगित गरेका छन्।
नेकपा एमालेका सांसदहरुको नाराबाजीबीच बैठक सञ्चालन गरेका सभामुखले नाराबाजी चलिरहेकै बेला बैठक स्थगित गरेका हुन्।
दोस्रो बैठक सुरु भएलगत्तै बेल घेराउ गरेर नाराबाजी सुरु गरेका सांसदहरुले करिब ३३ मिनेट लगातार नाराबाजी गरेका थिए।
एमालेको अवरोधका बीच प्रतिनिधिसभाबाट आर्थिक अध्यादेश २०७८ पास भएको छ। एमाले सांसदहरुले नाराबाजी गरेर बेल घेराउ गरिरहँदा सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई अध्यादेश पेश गर्न अनुमति दिएका थिए।
आफू बसेको स्थानबाट दौडेर रोस्ट्रममा पुगेका शर्माले अध्यादेश प्रस्तुत गरेपछि सभामुखले त्यसलाई होहल्लाका बीच निर्णयार्थ पेश गरे र बहुमतले स्वीकृत भएको घोषणा गरे।
अर्थमन्त्री शर्मा रोस्ट्रममा जाने क्रममा एमालेका सांसदहरु र मर्यादापालकहरुबीच घम्साघम्सी भएको थियो।
आजको पहिलो बैठक पनि एमालेकै अवरोधका कारण चल्न सकेको थिएन। करिब १७ मिनेटको नाराबाजीपछि सभामुखले बैठक स्थगित गरेका थिए।