काठमाडौं- मन्त्रिपरिषद् विस्तार दुई चरणमा हुने भएको छ। सरकार गठन भएको दुई महिना पुग्नै लाग्दासमेत मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै आलोचना बढ्न थालेपछि सत्तारुढ गठबन्धनले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको हो। बालुवाटारमा बिहीबार बसेको गठबन्धनको बैठकले मन्त्रिपरिषद् विस्तार चाँडोभन्दा चाँडो गर्ने निष्कर्ष निकालेको छ।
‘जतिसक्दो चाँडो क्याबिनेट विस्तार गर्ने भन्ने भएको छ। एकै चरणमा सम्भव नभए दुई चरण गरेर भए पनि क्याबिनेटलाई पूर्णता दिइनेछ,’ छलफलमा सहभागि एक नेताले भने।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार हुन नसक्दा आलोचना बढेको भन्दै चाँडो सूची बुझाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधकुमार नेपालसँग आग्रह गरेका छन्।
‘सरकार गठन भएको दुई महिना पुग्न लाग्यो। क्याबिनेटले पूर्णता पाउन सकेको छैन। अब ढिलो गर्न हुन्न, राम्रो म्यासेज गएको छैन,’ देउवाले भनेका थिए, ‘चाँडो नाम दिनुहोला।’
शुक्रबार बिहान ९ बजे पाँच दलका शीर्ष नेताको बैठक बोलाइएको छ। उक्त बैठकले मन्त्रिपरिषद् विस्तारबारे अन्तिम टुंगो लगाउने र मन्त्रिपरिषद् विस्तार हुने बालुवाटार स्रोतको भनाइ छ।