काठमाडौं- मुलुकमा अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को चर्को विरोध भइरहेको समयमा बिहीबार एमसीसीका उपाध्यक्ष फातिमा जेड सुमार काठमाडौं ओर्लिएकी हुन्। सहायक उपाध्यक्ष जोनथन ब्रुक्ससहित बिहीबार बिहान सवा ९ बजे कतार एयरलाइन्सको विमानबाट त्रिभुवन अतर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको टोली सिधैं होटल मेरियट पुगेको थियो।
एमसीसी प्रतिनिधिमण्डल आउने भएपछि विमानस्थलको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको थियो। उनले बिहीबार दिउँसो प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेकी हुन्।
एमसीसीकी उपाध्यक्षले एमाले अध्यक्ष ओलीसँग परियोजनाबारेको चासो लिँदै अनुमोदनका लागि सहयोग गर्न आग्रह गरेको भेटमा सहभागी एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिएका छन्। अनुमोदनका लागि सबै पक्षको सहमतिमा हुनुपर्ने उनको आशय रहेको बताइएको छ। जवाफमा ओलीले सत्तापक्षको पोजिसन स्पष्ट भएपछि धारणा दिने बताएको भट्टराईले जानकारी दिए।
बिहीबार बेलुका सुमारको टोलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेकी छन्। नेता नेपालसँगको भेटका क्रममा पनि एमसीसी पास गर्नका लागि सहयोग गर्न आग्रह गरिएको बताएको छ।
नेताको दौडधुप
एमसीसी उपाध्यक्ष काठमाडौं ओर्लिएलगत्तै प्रमुख राजनीतिक दलका नेताहरुको दौडधुप पनि बाक्लिएको छ। बिहीबार दिउँसो सत्ता पक्षीय गठबन्धनका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र उपेन्द्र यादवबीच भेटवार्ता भएको थियो। भेटका क्रममा एमसीसी र मन्त्रिमण्डल विस्तार गर्ने विषयमा छलफल भएको बताइएको छ।
उक्त बैठकलगत्तै बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र दुर्गा पौडेल पुगेका थिए। बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव भने उपस्थित नरहेको जनाइएको छ। बैठकमा यादव उपस्थित नभएपछि सामान्य छलफल भएको र एमसीसीका विषयमा ठोस निष्कर्ष ननिस्किएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठक शुक्रबार बिहान फेरि बस्ने भएको छ।
नेकपा एमाले अध्यक्ष ओली सुमारसँगको भेटमा व्यस्त भएपछि नेकपा एमालेको स्थायी कमिटी बैठक पनि शुक्रबारका लागि सारिएको छ।
५४ जना पक्राउ, चार दिन नछुट्ने
नेपाल भ्रमणमा रहेका एमसीसीका उपाध्यक्ष सुमारको टोलीको सुरक्षा व्यवस्थामा अवरोध गर्ने ५४ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंका विभिन्न क्षेत्रबाट हालसम्म ५४ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ।
उनीहरुलाई फातिमाको कार्यक्रम सकिएपछि छोड्ने एक उच्च प्रहरी अधिकारीले जानकारी दिएका छन्। उनले भने, 'आज नै छोड्ने हो भने फेरि पनि अराजक गतिविधिहरु हुनसक्ने भएकोले कार्यक्रम सकिएपछि छोड्ने तयारी छ। यसका लागि जिल्लाको सुरक्षा समितिको बैठक गरेर अन्तिम टुंगो लगाइने छ।'
भाजपाका नेता पनि काठमाडौंमा
भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय महासचिव राम माधव काठमाडौंमा छन्। अमेरिकी प्रतिनिधिमण्डल काठमाडौं आइपुगेको केही घण्टामा नै राष्ट्रिय स्वयंसेवक संघका राष्ट्रिय कार्यकारी सदस्यसमेत रहेका राम माधव काठमाडौं आइपुगेका हुन्।
उनको भेटघाटको कार्यतालिका भने सार्वजनिक गरिएको छैन। अमेरिकी सहायता संस्था एमसीसीका उपाध्यक्ष फतिमा सुमारको टोली नेपाल भ्रमणमा रहेकै बेला भएको उनको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ।