काठमाडौं- सत्तारुढ गठबन्धनका चार दलबीच छलफल भएको छ। सरकारका कामकारबाही, मन्त्रिपरिषद् विस्तार र एमसीसीका विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटरमा सत्तारुढ दलका नेताहरूको बैठक बसेको हो।
छलफलमा सहभागी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संसद् निरन्तर चलाउने विषयमा छलफल भएको बताइन्। बिहीबारको छलफलमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव भने सहभागी नभएको पौडेलले बताइन्।
'आज उपेन्द्रजी आउन भ्याउनुभएन। अलिअलि छलफल भयो। विस्तृत रूपमा हुन पाएन। संसद निरन्तर चलाउनेलगायतका विषयमा कुराकानी भए। छलफल विस्तृत नभएकाले शुक्रबार पनि नि छलफल गर्ने सहमति गरी आजका लागि बैठक सकिएको छ,' उपाध्यक्ष पौडेलले भनिन्।
एमसीसी उपाध्यक्ष फातिमा सुमारको टोली नेपाल भ्रमणमा रहेका बेला एमसीसीबारे साझा धारणा बनाउन सत्तारुढ गठबन्धनको बैठक बसेको थियो।
यसअघि सत्तारुढ तीन दलका शीर्ष नेताहरु प्रचण्ड, माधवकुमार नेपाल र उपेन्द्र यादवबीच एमसीसीका विषयमा हात्तीवनस्थित यादवको छलफल भएको थियो।
प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्नुपर्ने भन्दै सत्तारुढ दल र सत्ताबाहिर रहेका दलका शीर्ष नेताहरुलाई सहयोग गर्न आग्रह गर्दै आएका छन्। प्रचण्डले यथास्थितिमा एमसीसी पास गर्न नहुने बताउँदै आएका छन्। एमसीसी केन्द्रीय कार्यालयले बुधबार नेपाल सरकारलाई पत्र पठाउँदै एमसीसीका प्रावधानहरु संशोधन गर्न नसकिने र यो कुनै पनि सैन्य रणनीतिसँग सम्बन्धित नरहेको स्पष्ट पारेको छ।
बिहीबार काठमाडौं आइपुगेकी एमसीसी उपाध्यक्ष सुमारले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकी छन्। उपाध्यक्ष सुमारसँगको भेटका क्रममा प्रधानमन्त्री ओलीले सत्तापक्षको धारणा आएपछि मात्रै आफूले धारणा बनाउने बताएको एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिएका छन्।
यसअघि सत्तामा रहँदा प्रधानमन्त्री ओलीले एमसीसी देशको हितमा भएकोले यसलाई संसद्बाट अनुमोदन गरेर पारित गर्नुपर्ने बताएका थिए।