काठमाडौं– नेपाली कांग्रेसको आशन्न १४औँ महाधिवेशन रोक्न माग गर्दै दायर भएको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ। आज बिहीबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा भएको सुनुवाइपछि यस्तो आदेश आएको हो। उक्त रिटको पेशी आज चौथोपटक तोकिएको थियो।
बागमती प्रदेशसभा सदस्य तथा नेपाली कांग्रेसका महासमिति सदस्य नरोत्तम वैद्यले कोरोना महामारी नियन्त्रण नभएसम्म महाधिवेशन रोक्न माग गर्दै भदौ १८ मा सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए।
रिटमा महामारीका समयमा महाधिवेशन गर्दा कोरोना फैलने भएकाले कोरोना नियन्त्रण भएपछि मात्र महाधिवेशन गर्ने गरी आदेश माग गरिएको थियो।
कांग्रेस महाधिवेशन कार्यतालिकाअनुसार भदौ १८ बाट वडा तहको अधिवेशन सुरु भइसकेको छ भने केन्द्रीय महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्मका लागि तोकिएको छ।