काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन्। कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा शर्माले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। १०८औँ बीपी स्मृति दिवसका अवसरमा बिहीबार सुन्दरीजलमा आयोजित कार्यक्रममा शर्माले उम्मेदवारी घोषणा गरेका हुन् ।
सम्बोधनका क्रममा शर्माले आफू महामन्त्री बने नेपाली कांग्रेसलाई लगातार तीन आमनिर्वाचन जिताउन भूमिका खेल्ने संकल्प पनि गरे। ‘बीपीले देश समृद्ध बनाउने हो भने तीन पटक लगातार कांग्रेसले जित्नुपर्छ भन्नुभएको थियो। आमनिर्वाचनमा कांग्रेसले एक पटक जित्ने अर्को पटक हार्ने भएको छ,’ शर्माले भने, ‘कांग्रेसभित्र भएका सबै साथीहरूलाई एकजुट बनाएर लगातार तीन वटा आमनिर्वाचन जिताउने संकल्प लिएर मैले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेको छु।’
सम्बोधनपछि सुन्दरीजलमा बिपीले रोपेको कपुरको बोटनजिकै शर्माले रूद्राक्षको बिरुवा रोपेका छन्। बीपीले २०३४ सालतिर सुन्दरीजलमा कपुरको बिरुवा रोपेका थिए। त्यो बिरुवा हुर्केर ठूलो रूख बनिसकेको छ। सुन्दरीजलमा गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाले पनि कपुरका बिरुवा रोपेका थिए।
शर्मा १३ औं महाधिवेशनमा केन्द्रीय सदस्य चुनिएका थिए। शर्मालाई सभापति देउवाले पार्टीको प्रवक्ता बनाएका हुन्। सभापतिमा फेरि यसपटक पनि देउवा उठ्ने तयारीमा छन्। देउवाकै टिमबाट शर्मा महामन्त्रीमा चुनाव लड्न लागेका छन्।
नेविसंघको राजनीतिबाट पार्टी राजनीतिमा आएका शर्मा संघीय संसद् सदस्यको गत निर्वाचनमा झापा १ बाट माओवादीका राम कार्कीसँग पराजित भएका थिए। त्यसबेला प्रतिस्पर्धीलाई मित्रतापूर्ण व्यवहार गरेकोले उनको प्रशंसासमेत भएको थियो।
झापाका शर्मा नेविसंघका पूर्वअध्यक्ष हुन्। समाजशास्त्रमा स्नातकोत्तर शर्मा साहित्य र गीतसंगीतका क्षेत्रमा पनि सक्रिय छन्।
यसअघि कांग्रेस नेता गगन थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका थिए। कांग्रेसको महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ।