शुक्रबार, भदौ ५, २०८३

कांग्रेस प्रजातान्त्रिक आन्दोलनको धरोहर

नेपाली कांग्रेसको स्थापना हुँदासम्म जनतामा राजनीतिक चेतनाको विकास भइसकेको थियो। किनभने त्यसअघि नै मुलुकको पहिलो राजनीतिक दल प्रजापरिषद्ले राणाविरुद्ध आन्दोलन चलाइसकेको थियो।
 |  बिहीबार, भदौ २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २४, २०७८

नेपाली कांग्रेसको स्थापना हुँदासम्म जनतामा राजनीतिक चेतनाको विकास भइसकेको थियो। किनभने त्यसअघि नै मुलुकको पहिलो राजनीतिक दल प्रजापरिषद्ले राणाविरुद्ध आन्दोलन चलाइसकेको थियो।

यस क्रममा प्रजा परिषद्का चार सदस्य दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठ तथा शुक्रराज शास्त्रीलाई राणाहरुले मृत्युदण्ड दिइसकेका थिए। टंकप्रसाद आचार्य र रामहरि शर्मालाई चारपाटे मुडेर सर्वस्वसहित जन्मकैद तोकियो। त्यस काण्डमा संलग्न अरूलाई व्यक्तिपिच्छे कैद र जरिवाना सुनाइयो। ‘१९९७ साल’ नामले चर्चित काण्डपछि प्रजापरिषद्को क्रियाकलाप ठप्प भयो।

प्रजापरिषद् गठन भएको झण्डै एक दशकपछि २००३ सालमा बिपी कोइरालाको अग्रसरतामा भारत प्रवासमा रहेका नेपालीहरुले नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरे। लगत्तै राष्ट्रिय कांग्रेसको नेतृत्वमा सत्याग्रह र मजदूर आन्दोलन भयो। २००३ सालमा विराटनगरका मजदूरहरुले चलाएको हडताल नै नेपालको पहिलो संगठित आन्दोलन थियो।

यसबीच राणा शासनको अन्त्यगर्ने उद्देश्यका साथ २००५ सालमा सुवर्ण समशेर राणाको पहलमा कलकत्तामा नेपाल प्रजातन्त्र कांग्रेस स्थापना भयो। अनी बिपी नेतृत्वको राष्ट्रिय कांग्रेस र प्रजातन्त्र कांग्रेस मिलेर २००६ सालमा नेपाली कांग्रेसको स्थापना भयो।

लगत्तै नेपाली कांग्रेसको नेतृत्वमा भएको सशस्त्र क्रान्तिले १०४ वर्षे राणा शाहीको अन्त्य गरी मुलुकमा प्रजातन्त्र स्थापना गर्‍यो। दिल्लीमा शरण लिन पुगेका राजा त्रिभुवनलाई गद्दि पुनःस्थापित गरी मुलुकमा संवैधानिक राजतन्त्र स्थापना गर्ने काम कांग्रेसकै नेतृत्वमा भयो।

संविधान सभाको चुनाव गराएर राजनीतिक स्थायित्व दिने मार्गचित्र २००७ सालको क्रान्तिपछि बनाइएको थियो। तर दरबारले संविधानसभा चुनाव टार्दै लग्यो।

२००७ देखि २०१५ को बीचमा सरकार बनाउने र गिराउने खेल भइरहे। अन्ततः २०१५ मा संसद्को चुनाव भयो। कांग्रेसले दुई तिहाई बहुमत जितेर सरकार बनाएको १८ महिनामै तत्कालीन राजा महेन्द्रले सैन्य बलमा कू गरे।

त्यसपछि ३० वर्षसम्म निरंकुश पञ्चायती व्यवस्था कायम भयो। २०४६ सालमा फेरि नेपाली कांग्रेसको नेतृत्वमा वामपन्थीसमेत मिलेर भएको जनआन्दोलनबाट प्रजातन्त्र स्थापना भयो। तर पनि देशमा राजनीतिक स्थायित्व कायम हुन सकेन। तत्कालीन राजा ज्ञानेन्द्रबाट निर्वाचित सरकारलाई बर्खास्त गरी २०६१ माघ १९ मा आफ्नै नेतृत्वमा मन्त्रिपरिषद् गठन गर्ने काम भयो।

अनि कांग्रेसकै नेतृत्वमा भएको २०६२–०६३ को जनआन्दोलनले निरंकुश राजतन्त्रको अन्त्य गर्‍यो। संविधानसभा निर्वाचन र गणतन्त्रको घोषणा अनि संविधानसभाबाट संविधान बनाउने कामको नेतृत्व पनि नेपाली कांग्रेसबाटै भयो।  अहिले पनि नेपाली कांग्रेसको मूल्याङ्कन नगरी कुनै प्रकारको आन्दोलनअघि बढाउन सक्ने स्थिति छैन।

(नेपालको प्रजातान्त्रिक आन्दोलनबारे डेढ दर्जन बढी पुस्तक लेखेका प्राध्यापक डा. राजेश गौतमसँगको संवादमा आधारित)

– न्युज एजेन्सी नेपाल

प्रकाशित: Sep 09, 2021| 11:45 बिहीबार, भदौ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...