काठमाडौं- एमसीसीबारे संयुक्त राज्य अमेरिकाले जवाफी पत्र पठाएपछि एमसीसीको विरोध गर्दै आएका नेकपा एमालेका उपाध्यक्ष भीम रावलले जनतालाई झुक्याएर संसद्बाट अनुमोद गराउने षड्यन्त्रको उपज भएको प्रतिक्रिया दिएका छन्।
उनले एमसीसीले दिएका कुनै पनि जवाफबारे आफ्नो धारणा राखेका छैनन्। यसअघि विभिन्न बुँदा र प्रावधानहरुका विषयमा प्रश्न गर्दै आएका नेता रावलले एमसीसीको जवाफपछि जनतालाई झुक्याएर सम्झौता संसदबाट अनुमोदन गराउने षडयन्त्रकै उपज भएको आरोप लगाएका हुन्।
उनले नेपाल सरकारले र एमसीले पठाएका दुबै पत्रले नेपालको सार्वभौमिकता,स्वाधीनता,सुरक्षा, हित,संविधान र कानून विपरीत सम्झौतामा रहेका प्रावधानलाई संशोधन नगर्ने उल्लेख गरेका छन्।
उनले भनेका छन्, 'नेपाल सरकारले एमसीसीलाई र एमसीसीले अर्थमन्त्रीलाई पठाएका पत्रहरू पढियो। यी दुबै पत्रहरू जनतालाई झुक्याएर सम्झौता संसदबाट अनुमोदन गराउने षडयन्त्रकै उपज हुन्। यी दुबै पत्रले नेपालको सार्वभौमिकता,स्वाधीनता,सुरक्षा, हित,संविधान र कानून विपरीत सम्झौतामा रहेका प्रावधानलाई संशोधन गर्दैन।'
नेपाल सरकारले भदौ १८ गते विभिन्न प्रश्नहरुको जवाफ माग गर्दै एमसीसीको मुख्यालयलाई पत्र पठाएको थियो । सोही पत्रको जवाफ एमसीसीको मु्ख्यालयले बुधबार दिएको हो।