काठमाडौं- सत्तारुढ गठबन्धनमा आबद्ध नेकपा (एकीकृत समाजवादी)की सांसद रामकुमारी झाँक्रीले एमालेलाई संसद् हत्याराको संज्ञा दिएकी छन्।
सांसद झाँक्रीले संसदका हत्यारा (एमाले)हरुले संसद् बचाउन लागेका आफूहरूलाई विभिन्न आरोप लगाउने गरेको उल्लेख गर्दै त्यसबारे टिप्पणी गर्न आफूले नचाहेको प्रतिक्रिया दिइन्।
'संसद्का हत्याराहरूले संसद् बचाउन लागेकाहरूलाई विभिन्न आरोप लगाउने गरेका छन्। यस विषयमा म धेरै टिप्पणी गर्न चाहन्नँ,' संसद्बाट बाहिरिेने क्रममा नेतृ झाँक्रीले भनिन्।
उता सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरुद्ध गरेर संसदीय मर्यादा विपरीत काम गरेको दाबी गरे।
'आचरणबाहेक सभामुखले लिएको निर्णयमाथि आलोचना गर्न नमिल्ने विषयलाई लिएर संसद अवरुद्ध गरेर एमालेले संसदीय मर्यादा विपरीत काम गरेको छ,' नेता पुनको तर्क छ।
संसद अवरुद्ध भएपछि सञ्चारकर्मीका जिज्ञासाको जवाफ दिने क्रममा सभामुखका निर्णयहरुलाई पालना गरेर जानु संसदीय सर्वोच्चता भएको उल्लेख गरे। संसद् अवरुद्ध पार्ने संसदीय परम्परा विश्वमा कहीँ नभएको दाबीसमेत गरे।
नेता पुनले सभामुखको गरिमा बचाउन, संसदमा आएका बिजनेस सुरु गराउन संसद चल्न दिन पनि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)सँग आग्रह गरे।
‘प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरुद्ध गरेको छ। यो चाँहि संसदीय मर्यादा विपरीत छ। एकातिर आचारणसम्बन्धी विषयबाहेक सभामुखले गरेका निर्णयहरुमा सभामुखको आलोचना गर्न मिल्दैन। यो संसदीय सर्वोच्चता हो। यसो गर्दै गयो भने संसद नै चल्दैन। एउटा मर्यादा हामीले नै निधारण गरेका हौं। विगतमा यस्तै अभ्यास गरेका छौं। जसले संसदको नेतालाई आचरण सम्बन्धिबाहेक अरुमा आलोचना गर्ने, वा भएका निर्णयहरुको खण्डन गरेर, आलोचना गरेर, संसद अवरुद्ध गर्ने कुनै संसदीय परम्परा नै छैन। र यो पहिलो घटना हो। त्यसैले उहाँहरुले बेठिक परम्परा सुरु गर्नु भएको छ,’ उनले भने।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचिव योगेश भट्टराईले सभामुख अग्निप्रसाद सापकोटले निष्पक्ष भूमिका निर्वाह नगरेका कारण आफ्नो दलले विरोध गर्नु परेको दाबी गरे। एमालेले ह्विप जारी गरेर निष्कासन गरेका आफ्ना दलका सांसदहरुलाई कारबाहीको सूचना जारी नगरेर सभामुख सापकोटाले आफ्नो दललाई फुटाउन सघाउ पुर्याएको आरोप उनको थियो।