काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सभापति शेरबहादुर देउवाको गृहजिल्लामा देखिएको क्रियाशील सदस्यता विवाद समाधान नभई वडा अधिवेशन गर्न नहुने बताएका छन्।
निधिले बुधबार सभापति देउवालाई पत्र लेखेर विवाद समधान भएपछि मात्रै अधिवेशनको प्रक्रिया अघि बढाउन आग्रह गरेका हुन्। देउवाको गृह जिल्ला डडेल्धुरामा क्रियाशील विवाद नमिली अधिवेशनको मिति तोकिएको भन्दै लफडा भइरहेको छ।
निधिले डडेल्धुरामा क्रियाशील सदस्यको नामावलीबारे गम्भीर विवाद उत्पन्न भएको बताएका छन्। ‘सम्पूर्ण प्रक्रिया पुर्याएर तलबाट आएको नामावलीमा केही नाम हटाएर माथिबाट सोझै अर्को नामावली थप गरेको र जिल्ला कार्यसमितिको सहयोग र समवन्यबिना नै निर्वाचन अधिकृतले भदौ २५ लाई अधिवेशनको मिति तोकिदिएको भनी जिल्ला सभापति कर्णबहादुर मल्लद्वारा जिल्ला कार्यसमितिको निर्णय सहितको विज्ञप्ती पनि आएको छ,’ निधिले पत्रमा भनेका छन्,
‘यस्तो गम्भीर विवादको समधान नगरी अधिवेशन र निर्वाचन गराउनु सर्वथा अनुचित देखिने हुँदा तत्काल क्रियाशील सदस्यता सम्बन्धि विवाद समधान गरेर मात्र अधिवेशन र निर्वाचनको कार्य सम्पन्न गर्न गराउन सम्बन्धित सरोकारवालाहरुलाई मार्गर्दशन वा निर्देशनका लागि विनम्र अनुरोध गर्दछु।’