काठमाडौं- प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले संसद बैठकलाई सहज ढंगले सञ्चालन गराउनका लागि सबैलाई आग्रह गरेका छन्।
प्रधानमन्त्री देउवाले बुधबार दिउँसो सत्तारुढ गठबन्धनको बैठक बोलाइ अत्यावश्यक विधेयकहरु, अध्यादेशहरु पारित गरेर जानुपर्ने भएकाले संसद बैठक सहज ढंगले सञ्चालन हुने वातावरण बनाइ दिन सत्तारुढ दलका नेताहरुलाई आग्रह गरेका हुन् ।
अत्यावश्यक विधेयक र अध्यादेशहरु पारित गरेर जानुपर्ने भएकाले संसद बैठकलाई सहज ढंगले अघि बढाउने वातावरण बनाइ दिन प्रधानमन्त्रीले आग्रह गरेको माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिए।
उनले भने, 'सदन सञ्चालनसम्बन्धी विषय हो । सदनलाई सूचारु रुपले सञ्चालन गर्नुपर्छ। अध्यादेशहरु छन्, अर्जेन्ट अध्यादेशहरु छन् । अत्यावश्यक विधेयकहरु छन्। त्यसकारणले गर्दा खेरि अब सत्तापक्ष, विपक्ष सबै मिलेर सदन चलाउनुपर्ने आवश्यक्ता हो। अन्तर्वस्तुमा विमति हुन सक्छ । तर विधिमा, प्रक्रियामा, सिष्टममा सहमति गरेर जाऊँ भनेरै सबैसँग आग्रह गरेर सदन सञ्चालनलाई सहज बनाउनलाई भूमिकामा खेल्नु प¥यो भनेर प्रधानमन्त्रीज्यूले त्यहीँ आग्रह गर्नु भएको छ ।’
सत्तारुढ गठबन्धन दलका नेताहरुले भनेसदन चलाउने कुरामा सत्तापक्ष र प्रतिपक्ष मिलेर अघि बढनुपर्नेमा जोड दिएका थिए ।
बैठकमा प्रधानमन्त्री देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, सोही पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईलगायतका उपस्थिति रहेको थियो ।
बैठकमा अर्थमन्त्री जनार्दन शर्मा र गृहमन्त्री बालकृष्ण खाँणले संसद बैठकमा सरकारले तत्काल पारित गर्नुपर्ने अध्यादेश, विधेयकहरुबारे जानकारी गराएका थिए।