काठमाडौं– सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) ले बजेट लगायत संसदमा बाँकी रहेका अध्यादेशहरु पारित गर्नुपर्नेमा जोड दिएको छ।
नेकपा (माओवादी केन्द्र)को सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधवार बसेको संसदीय दलको बैठकले सत्तापक्ष र प्रतिपक्षको सहमतीमा संसदलाई निर्वाध रुपमा चल्न दिँदै बजेट लगायत संसदमा पारित गर्नुपर्ने अध्यादेशहरु पास गराउन पहल गर्ने निर्णय गरेको हो। तोकिएको समयावधिभित्र अध्यादेशहरु पारित गर्नुपर्नेमा माओवादीको जोड रहेको प्रमुख सचेतक देव गुरुङले बताए।
यस अधिवेशनमा अधिकतम रुपमा विधेयकहरु पास गर्न पहल गर्ने निर्णय माओवादी केन्द्रको छ। नेकपा(एमाले)ले सदन अवरुद्ध गर्ने भन्ने विषयमा आफूहरुको गम्भिर ध्यानाकर्षण भएको जनाउँदै प्रमुख सचेतक गुरुङले एमालेलाई सहमतीमा अगाडि बढ्न आग्रह गरिने पनि बताए।
गठबन्धनभित्रै सहमती नजुटेको भन्दै उनले यथास्थितिमा एमसीसी पारित हुन नसक्ने बताए। एमसीसी राष्ट्रिय सहमती गर्नुपर्ने मुद्दा भएकाले एमसीसी सम्बन्धी प्रस्ताव संसदमा अगाडि नबढ्ने उनले विश्वास व्यक्त गरे।