काठमाडौं– नेपाली कांग्रेसमा आवद्ध नेपाल मुस्लिम संघले पार्टीको आगामी महाधिवेशनमा आफ्नो समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिन सुरु गरेको छ।
संघका सभापति अब्दुल सत्तार नेतृत्वको टोलीले आगामी महाधिवेशनमा आफ्नो समुदायको प्रतिनिधि सुनिश्चित गर्न पार्टी नेतृत्वलाई दबाब दिँदै केन्द्रीय कार्यालयमा धर्ना दिन सुरु गरेको हो।
प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट आफूहरुलाई प्रतिनिधित्व सुनिश्चित हुने गरी निर्वाचन निर्देशिका सच्याउन पार्टी नेतृत्वलाई दबाब दिन आफूहरुले धर्नालगायतका आन्दोलनको कार्यक्रम सुरु गर्नु परेको संघका सभापति सत्तारले बताए। उनले आफूहरुको सो माग सम्बोधन नभएसम्म धर्ना कार्यक्रमलाई निरन्तरता दिने चेतावनी दिए।
संघले पार्टीको सबै निकायमा सबै समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गराउने पार्टीको विधान अनुसार महाविधेशन प्रतिनिधि चयन हुने गरी निर्वाचन निर्देशिक सच्याउन माग गर्दै पार्टी सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र पनि बुझाएको छ। नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी मंसिर ९–१३ सम्म काठमाडौं हुने कार्यक्रम तय गरिएको छ।