काठमाडौं– सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ गठबन्धनलाई तोड्ने षड्यन्त्र भइरहेको बताएका छन्।
अध्यक्ष दाहालले एमसीसी प्रयोग गरेर सत्तारुढ गठबन्धनलाई फुटाउने षड्यन्त्र देशभित्र र देश बाहिरका प्रतिक्रियावादीहरुले गरिरहेको बताएका हुन्।
सुरेश वाग्ले र भिमसेन पोखरेलको २२ औं स्मृति दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यथास्थितिमा एमसीसी सम्झौता पारित गर्न नसकिने अडान पनि दोहोर्याए। अध्यक्ष दाहालले सत्तारुढ गठबन्धनलाई बचाएर राष्ट्रलाई क्षति नहुने गरी एमसीसी सम्झौता अघि बढाउन आफूले चाहेको पनि स्पष्ट पारे। तर अर्को वर्ग पूरै तागतका साथ यो गठबन्धनलाई कसरी तोड्ने भनेर लागि परेको उनको दावी छ।
अध्यक्ष दाहालले लोकतन्त्रको रक्षा गर्न, संविधानको रक्षा गर्न, गणतन्त्रको रक्षा गर्न र राष्ट्रको रक्षा गर्नका लागि सत्तारुढ गठबन्धन बनाउनुपरेको पनि उल्लेख गरे। उहाँले नेकपा (एमाले) पतन हुने दिशामा अघि बढिरहेको टिप्पणी पनि गरे।